अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा ऊसँग व्यापार गर्ने देशमाथि पनि आर्थिक कारबाही गर्ने चेतावनी दिएपछि तेहरानसँग व्यापारिक सम्बन्ध रहेका मुलुकहरू दबाबमा पर्न सक्ने भएका छन्।
ट्रम्पले इरानमाथि अभूतपूर्व आर्थिक दबाब र अन्तर्राष्ट्रिय नाकाबन्दी लगाएर एक्ल्याउने चेतावनी दिएका छन्।
उनले इरानलाई सहयोग गरेको पाइए ती देशले नराम्रो आर्थिक परिणाम भोग्नुपर्ने भनेर धम्की दिएका छन्।
यस्तो अवस्थामा इरानसँग व्यापार गर्ने प्रमुख देशहरूका लागि अमेरिकी प्रतिबन्धको जोखिम बढ्न सक्ने देखिएको छ।
यद्यपि ट्रम्पले इरानसँग युद्ध सुरू भएपछि यस्ता धम्कीहरू लगातार दिँदै आएका छन्। धम्कीका बाबजुद केही सीमित देशहरुले इरानसँग व्यापार गरिरहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
ट्रम्पको पछिल्लो धम्कीपछि अहिले इरानसँग कुन-कुन देशले व्यापार गरिरहेका छन्। तीमध्ये धेरै परिमाणमा व्यापार गर्ने देशहरू कुन-कुन हुन् भन्ने चासो हुन सक्छ।
चीन
इरानको सबैभन्दा ठूलो तेल खरिदकर्ता चीन हो। ट्रम्पले इरानसँग व्यापार गर्ने देशमाथि थप दबाब दिने आफ्नो चेतावनी कार्यान्वयन गरे चीन सबैभन्दा महत्वपूर्ण निशानामा पर्न सक्ने देखिन्छ।
पछिल्लो एक दशकमा चीनले मुख्यतः इरानी तेल प्रशोधन गर्ने छुट्टै र सीमित जोखिम भएका रिफाइनरीहरूको सञ्जाल विकास गरेको छ।
यी रिफाइनरीहरूको अमेरिकी बजारसँग प्रत्यक्ष सम्बन्ध कम भएकाले अमेरिकी प्रतिबन्धको प्रभाव केही हदसम्म सीमित हुने गरेको छ।
रिफाइनरीका स्रोत र व्यापारमा संलग्न व्यापारीहरूका अनुसार चीन पुग्ने इरानी तेललाई लामो समयदेखि मलेसियाली र पछिल्लो समय इन्डोनेसियाली तेलका रूपमा देखाउने गरिएको छ।
यस्तो तेल चिनियाँ मुद्रामा कारोबार हुने र पहिचान गर्न कठिन हुने मध्यस्थकर्ताहरूको लामो शृंखलामार्फत खरिद–बिक्री हुने गरेको उनीहरू बताउँछन्।
अमेरिकी ट्रेजरी विभागले अप्रिलमा इरानबाट अर्बौं डलर बराबरको तेल खरिद गरेको भन्दै चीनको एउटा स्वतन्त्र रिफाइनरीमाथि प्रतिबन्ध लगाएको थियो।
साथै इरानी तेलको कारोबार सहज बनाउने चिनियाँ बैंकहरूमाथि पनि दोस्रो तहको प्रतिबन्ध लगाउन सकिने चेतावनी अमेरिकाले दिएको थियो।
तर चीनले इरानसँगको व्यापार रोक्ने संकेत गरेको छैन।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रतिबन्ध र दबाबले समस्या समाधान नगर्ने बताउँदै आएका छन्।
सम्बन्धित सबै पक्षले राजनीतिक र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्ने र यसका लागि जिम्मेवार कदम चाल्नुपर्ने उनको भनाइ छ।
इरानबाट समुद्री मार्ग हुँदै निर्यात हुने तेलको ८० प्रतिशतभन्दा बढी चीन जाने गरेको रोयटर्सले उल्लेख गरेको छ।
चिनियाँ स्वतन्त्र रिफाइनरीहरूले अमेरिकी प्रतिबन्धमा परेको इरानी तेल सस्तो मूल्यमा खरिद गर्दै आएका छन्। केप्लरका अनुसार चीनले सन् २०२५ मा औसत दैनिक १३ लाख ८० हजार ब्यारेल इरानी तेल खरिद गरेको थियो।
यूएई
संयुक्त अरब इमिरेट्स लामो समयदेखि इरानको महत्वपूर्ण आर्थिक साझेदार रहँदै आएको छ।
विशेषगरी दुबईका बैंकहरूमा इरानसँग सम्बन्धित ठूलो रकम रहँदै आएको थियो, यद्यपि त्यसको ठूलो हिस्सा अहिले अमेरिकी प्रतिबन्धका कारण रोकिएको छ।
विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का पछिल्ला तथ्यांकअनुसार युद्ध सुरु हुनुअघि यूएई इरानका सबैभन्दा ठूला व्यापारिक साझेदारमध्ये एक थियो।
सन् २०२४ मा इरानको कुल आयातमध्ये करिब ३० प्रतिशत, अर्थात् २१ अर्ब डलर बराबरको आयात यूएईबाट भएको थियो। त्यही वर्ष इरानको कुल निर्यातमध्ये १३ प्रतिशत यूएईतर्फ गएको थियो।
यूएईको अर्थ मन्त्रालयका अनुसार सन् २०२४ मा दुई देशबीचको गैर–तेल व्यापार ६ अर्ब ६० करोड डलर पुगेको थियो। यसको ठूलो हिस्सा पुनःनिर्यातमा आधारित थियो।
तर पछिल्लो समय सम्बन्धमा तनाव बढेको छ।
यसै साता यूएईले तेहरानबाट बढ्दो सैन्य तनाव र क्षेप्यास्त्रको जोखिमलाई कारण देखाउँदै इरानसँगका सबै वित्तीय तथा आर्थिक कारोबार अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ।
टर्की
टर्की र इरानबीच पनि लामो समयदेखि महत्वपूर्ण आर्थिक सम्बन्ध छ। टर्कीले इरानबाट प्राकृतिक ग्यास आयात गर्छ भने इरानमा विभिन्न औद्योगिक तथा उत्पादित वस्तु निर्यात गर्छ।
टर्कीले इरानसँगको व्यापार घटाउने कुनै स्पष्ट संकेत दिएको छैन। दुई देशबीचको वार्षिक व्यापार करिब ५ देखि ६ अर्ब डलरको रहेको छ। यसमध्ये टर्कीले इरानमा करिब ३ अर्ब डलर बराबरका वस्तु निर्यात गर्छ।
टर्की आफ्नो प्राकृतिक ग्यास आवश्यकताको झन्डै सम्पूर्ण हिस्सा आयात गर्छ र इरान त्यसको महत्वपूर्ण आपूर्तिकर्ता हो। टर्कीको कुल ग्यास आयातमा इरानको हिस्सा करिब १३ प्रतिशत रहेको छ।
इराक
इराक र इरानबीचको व्यापार सन् २०२५ मा १० अर्ब डलरभन्दा बढी पुगेको इराकी सरकारी तथ्यांकले देखाउँछ। इरानबाट इराकमा खाद्यान्न, उपभोग्य वस्तु तथा अन्य सामानको निर्यातले यो व्यापारलाई मुख्य रूपमा धानेको छ।
तर इरान युद्ध सुरु भएपछि सन् २०२६ मा दुई देशबीचको व्यापार घटेको छ। इराकी व्यापार मन्त्रालयका अधिकारी मोहम्मद करिमका अनुसार क्षेत्रीय सुरक्षा जोखिम बढ्नु, प्रमुख सीमा नाकामा बेलाबेला अवरोध हुनु र ढुवानी लागत बढ्नुले व्यापार प्रभावित भएको हो।
उनका अनुसार आपूर्ति शृंखलामा आएको अवरोधले सीमापार व्यापारको मात्रा र विश्वसनीयता दुवै घटाएको भए पनि इरान र इराक अझै महत्वपूर्ण व्यापारिक साझेदार हुन्।
दुई देशबीचको सम्बन्धमा ऊर्जा क्षेत्र झनै महत्वपूर्ण छ। इराकले इरानबाट प्राकृतिक ग्यास खरिद गर्न वार्षिक करिब ४ देखि ५ अर्ब डलर खर्च गर्छ। उक्त ग्यास इराकमा विद्युत् उत्पादनका लागि प्रयोग हुन्छ।
इराकका दुई ऊर्जा अधिकारीका अनुसार इराकमाथि अमेरिकाले थप प्रतिबन्ध लगाए इरानी ऊर्जाको भुक्तानी व्यवस्थापन गर्न बग्दादलाई ठूलो समस्या पर्न सक्छ। अमेरिकी प्रतिबन्धबाट जोगिन इराकले यसअघि नै इरानी ऊर्जाको भुक्तानीका लागि प्रतिबन्धित खाताहरू प्रयोग गर्दै आएको छ।
ओमान
ओमानले सन् १९७९ को इरानी इस्लामिक क्रान्तिअघि देखिनै इरानसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै आएको छ। मस्कटले इरान र अन्य देश, विशेषगरी अमेरिका, बीचको विवादमा मध्यस्थको भूमिका पनि खेल्दै आएको छ।
पछिल्ला वर्षमा दुई देशबीचको व्यापार बढेको छ। ओमानको राष्ट्रिय तथ्यांक तथा सूचना केन्द्रका अनुसार सन् २०२५ मा दुई देशबीच वस्तुको व्यापार १ अर्ब ५० करोड डलर पुगेको थियो। चालु वर्षको पहिलो चार महिनामा मात्रै यस्तो व्यापार ३४ करोड ५० लाख डलर पुगेको छ।
पाकिस्तान
इरानसँग व्यापार र सहयोग गर्ने देशमाथि अमेरिकाले कारबाही गरे पाकिस्तान पनि दबाबमा पर्न सक्ने विश्लेषकहरूको भनाइ छ। पाकिस्तान र इरानले द्विपक्षीय व्यापारलाई १० अर्ब डलरसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन्।
इरानमाथि विगतमा लगाइएका अमेरिकी प्रतिबन्धका कारण दुई देशबीचको औपचारिक व्यापार लगभग रोकिएको थियो। तर पछिल्लो समय अनौपचारिक व्यापारमार्फत दुवैतर्फको आयात–निर्यात करिब ४ अर्ब डलरसम्म पुगेको अनौपचारिक तथ्यांक छ।
जुनमा इस्लामाबादमा भएको अन्तरिम सम्झौतापछि पाकिस्तान र इरानले व्यापारिक सहकार्य विस्तार गर्ने प्रयास तीव्र पारेका थिए। दुई देशबीच वर्षौंदेखि तेल, गहुँ, चामल, पशु तथा औषधिको व्यापार अनौपचारिक माध्यमबाट हुँदै आएको छ।
भारत
अमेरिकाले इरानमाथि प्रतिबन्ध कडा बनाएपछि भारत र इरानबीचको व्यापारमा ठूलो गिरावट आएको थियो।
वासिङ्टनले तेहरानमाथि दबाब बढाएपछि सन् २०१९–२० को आर्थिक वर्षमा दुई देशबीचको व्यापार दुईतिहाइभन्दा बढीले घटेर करिब ४ अर्ब ८० करोड डलरमा झरेको थियो। अघिल्लो आर्थिक वर्षमा यस्तो व्यापार १७ अर्ब डलर थियो।
त्यसपछि पनि व्यापार घट्दै गएको छ। भारतको वाणिज्य मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२५/२६ मा भारत र इरानबीचको द्विपक्षीय व्यापार १ अर्ब ६३ करोड डलरमा सीमित भएको छ।
यस व्यापारमा भारतको निर्यातको हिस्सा ठूलो छ। भारतले मुख्यतः खाद्यान्न, चिया, कफी र मसला इरानमा पठाउँछ। आर्थिक वर्ष २०२५/२६ मा भारतको इरानतर्फको निर्यात करिब १ अर्ब ३० करोड डलर थियो।
भारतीय अधिकारीहरूले यस्ता निर्यात मानवीय आधारमा जारी रहेको र यस्ता कारोबारलाई अमेरिकी प्रतिबन्धको दायराभन्दा बाहिर राखिनुपर्ने बताउँदै आएका छन्।
अर्मेनिया
छिमेकी अर्मेनियाको कुल व्यापारमा इरानको हिस्सा पनि महत्वपूर्ण छ। आधिकारिक अर्मेनियाली तथ्यांकअनुसार सन् २०२५ मा इरानसँगको व्यापार ७६ करोड ८० लाख डलर थियो, जुन अर्मेनियाको कुल व्यापार कारोबारको ३.६ प्रतिशत हो।
सन् २०२६ को पहिलो ६ महिनामा दुई देशबीचको व्यापार ३७ करोड १४ लाख डलर पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.४ प्रतिशत बढी हो।
यस अवधिमा अर्मेनियाको इरानतर्फको निर्यात ४ करोड २८ लाख डलर थियो, जुन ६ प्रतिशत घटेको छ। इरानबाट अर्मेनियाले गरेको आयात भने ३३ करोड ६९ लाख डलर पुगेको छ, जुन १२ प्रतिशतको वृद्धि हो।
अर्मेनियाको वैदेशिक व्यापारको करिब २० प्रतिशत इरान हुँदै जाने गरेको छ। दुई देशबीच ऊर्जा क्षेत्रमा पनि विशेष सहकार्य छ। उनीहरूबीच ‘ग्यास फर इलेक्ट्रिसिटी’ अर्थात् ग्यासको बदलामा विद्युत् आदान–प्रदान गर्ने सम्झौता छ। इरानले अर्मेनियालाई ग्यास उपलब्ध गराउँछ र त्यसबाट उत्पादन भएको विद्युत्को केही हिस्सा इरानतर्फ पठाइन्छ भने बाँकी अर्मेनियामै प्रयोग हुन्छ।
अजरबैजान
अजरबैजान र इरानबीचको व्यापार पनि पछिल्लो समय बढेको छ। अजरबैजानको राज्य भन्सार समितिका अनुसार सन् २०२६ को जनवरीदेखि जुनसम्म दुई देशबीचको व्यापार कारोबार ३१ करोड २६ लाख डलर पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको २९ करोड ९१ लाख डलरभन्दा ४.५ प्रतिशत बढी हो।
यस अवधिमा इरानबाट अजरबैजानले गरेको आयात १.५ प्रतिशतले बढेर २९ करोड ७० लाख डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २९ करोड २७ लाख डलर थियो।
अजरबैजानको इरानतर्फको निर्यात भने २.४ गुणाले बढेर १ करोड ५६ लाख डलर पुगेको छ। अघिल्लो वर्षको पहिलो ६ महिनामा यस्तो निर्यात ६४ लाख डलर थियो।
अजरबैजानको कुल आयातमा इरानको हिस्सा सन् २०२६ को पहिलो ६ महिनामा ३.५६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो हिस्सा २.५४ प्रतिशत थियो।