नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेता पम्फा भुसालले पार्टीको जम्बो कमिटीप्रति असन्तुष्टी व्यक्त गरेकी छन्।
कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले पदाधिकारी स्तरको ४५ सदस्यीय र केन्द्रीय कमिटी स्तरको २४९९ सदस्यीय रहेको भन्दै यसप्रति असन्तुष्टि जनाएकी हुन्।
एकता र संयोजन प्रक्रियापछि बनेको भए पनि यस्ता जम्बो कमिटीहरूले पार्टीलाई बलियो नबनाउने पनि उनको भनाइ छ।
'कम्युनिस्ट पार्टीमा हुनुपर्ने खालको संगठनात्मक संरचना छैन। २४९९ केन्द्रीय समितिमा पनि किन परिनँ भन्ने प्रश्न विस्तार भइरहेको छ। यो भनेको कम्युनिस्ट पार्टी बन्ने बाटो चाहिँ होइन,' उनले भनिन्।
नेता भुसालले एकताका नाममा बनेको भद्दा संगठनमा जनवादको अभ्यास पनि नभएको बताइन्। तल्लो तहसम्म एकता नभएको विषयमा पनि उनले प्रश्न उठाएकी छन्।
'तलका समिति यति ठूला बनेर गएका छन् जहाँ दोहोरो संवाद करिब करिब हुन्न । कमरेडहरूका मनमा पनि धेरै कुरा छन्, राख्ने कुरा होलान् । दोहोरो संवाद हुने गरेर हाम्रा कमिटी बनेका छैनन् । यस्ता सङ्गठन कम्युनिस्ट पार्टीका हुन्नन्,' उनले भनिन्।
हिजोको कम्युनिस्ट पार्टी र आजको कम्युनिस्ट पार्टीको संस्कार बदलिएको उनले बताइन्।
'हिजो कम्युनिस्ट हुनु भनेको त्याग गर्नु हुन्थ्यो । कम्युनिस्ट हुनु भनेको आदर्श हुन्थ्यो । कम्युनिस्ट हुनु भनेको निष्ठा हुन्थ्यो । अनि केही कुरा आयो भने भो जिम्मा आयो भने भो अरूलाई दिनुस्, अर्को कमरेडलाई दिनुस्, पटकपटक चाहिँ त्यो प्रकारको हुन्थ्यो। अब अहिले पदप्रति अलि बढी आकांक्षा छ। त्यो माथिदेखि नै देखिन्छ,' उनले भनिन्
त्यसकारण पदाधिकारीस्तरको भन्ने कमिटी पनि ४५ जनाको रहेको उनले बताइन्। यसमा तल्ला तहका नेता कार्यकर्ता कसैको पनि दोष नरेहको उनले प्रष्ट पारिन्।
यी सबै कुराहरू आगामी महाधिवेशनबाट चिरिने उनले बताइन्।
'आगामी मङ्सिरमा गरिने महाधिवेशनको माध्यमबाट चुस्त–दुरुस्तको कम्युनिस्ट पार्टी निर्माण गर्ने एउटा कार्यभारलाई लिएर आएका छौं,' उनले भनिन्।
-न्युज एजेन्सी नेपाल