नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन्।
पार्टीको कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले अब पार्टीको नेतृत्वमा युवा आउनुपर्ने बताएका हुन्।
'नेकपालाई पुनर्गठन नगरी हुँदैन। रूपान्तरण नगरी हँदैन। हामी नेतृत्व गर्छौं युवाहरू भनेर उठ्नुपर्यो, हामी प्रशिक्षण गर्छौं,' उनले भने।
त्यो भए मात्रै कार्यकर्ताहरूको पनि विकास हुने र पार्टी पनि निर्माण हुने उनले बताए।
'हामी खाली अर्ती–उपदेश सुन्ने कार्यकर्ता मात्रै बन्नु हुँदैन। हामी आफै क्रान्ति गर्ने, आफै पहरा फोर्ने हो। त्यो प्रकारको आँट, हिम्मत, सिर्जनशीलता लिएर हामी अगाडि बढ्नुपर्छ, तब मात्रै पार्टी निर्माण गर्न सकिन्छ,' उनले भने।
मुलुक संकटमा रहेको र यो संकटबाट मुक्ति दिलाउन पनि युवाहरू अगाडि आउनुपर्ने उनले बताए।
नेकपामा मात्रै अरू प्रमुख राजनीतिक दलहरूमा पनि गम्भीर आन्तरिक संकट देखिएको उनले बताए।
कांग्रेस दुई चिरामा विभाजित भएको र एमालेभित्र पनि पुनर्गठनको माग पनि बलियो बन्दै गइरहेको उनले बताए।
एमालेभित्र पुनर्गठनको माग उठाउने कार्यकर्तालाई भने अध्यक्ष केपी शर्मा ओलीले 'आवारा' भनेको विषयमा नेता खनालले टिप्पणी गरे।
'त्यो त्यहाँभित्रका धेरै नेताहरूलाई भनेको हो, कुनै एउटा–दुइटा आवारालाई भनेको होइन। त्यहाँभित्र बहुमत संख्या अहिले एमालेमा रूपान्तरण गर्नुपर्छ, पुनर्गठन गर्नुपर्छ भन्ने ठाउँमा पुगिसकेको छ, यो युगीन कुरा हो। हो, त्यही कुरा हामी नेकपामा पनि छ,' उनले भने।
पुराना नेताहरूले पनि नयाँ पुस्तालाई निरन्तर अर्ती–उपदेश दिनेभन्दा उनीहरूलाई नेतृत्वमा अघि बढ्न अवसर दिनुपर्ने पनि उनको भनाइ थियो।
–न्युज एजेन्सी नेपाल