मासिक एक सय रुपैयाँ लिएर अंग्रेजी माध्यममा पढाउँदै आएको समता स्कुलले आफ्नो शाखा म्यानमारको व्यापारिक सहर यांगुनमा पनि विस्तार गरेको छ।
म्यानमारका लागि नेपाली राजदूत भीम उदास, समता स्कुलका संरक्षक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतले शनिबार यांगुनको डालामा समता विद्यालयको उद्घाटन गरे।
एक लाख पचास हजारको हाराहारीमा नेपालीभाषी रहेको म्यानमारमा समता स्कुलका सबै शिक्षक नेपाली भाषी बर्मेली छन्। स्कुलमा अध्ययनरत ८० जना विद्यार्थीमा भने कोही पनि नेपाली भाषी छैनन्।
‘यांगुनको सबभन्दा पछाडि परेको बस्ती डालामा स्कुल खोलेका हौं। यहाँ नेपालीभाषी विद्यार्थी नभए पनि भविष्यमा अन्यत्र पनि स्कुल विस्तार गर्दा नेपाली भाषी भएको ठाउँमा पनि पुगिएला’, स्कुलका संस्थापक अध्यक्ष उत्तम सञ्जेलले भने।
एक अमेरिकी डलर बराबर करिब एक हजार पाँच सय बर्मेली च्याट मासिक शुल्क लिएर अंग्रेजी भाषामा अध्यापन गराउने उद्देश्य समता स्कुलले लिएको छ।
म्यानमारमा अंग्रेजी भाषामा पढाइ हुने स्कुलको शुल्क महँगो भएकाले आर्थिक अवस्था कमजोर परिवारका बालबालिकाको त्यसमा पहुँच छैन।
समताले यस अगाडि नै नेपालका ७७ वटै जिल्लासहित भारत, श्रीलंका र बंगलादेशमा पनि समता फाउन्डेसनले स्कुल स्थापना गरिसकेको छ।
‘यो वर्ष थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, इन्डोनेसिया र फिलिपिन्समा पनि एक अमेरिकी डलर प्रतिमहिना शुल्क लिएर अंग्रेजी भाषाको स्कुल खोल्ने तयारी भइरहेको छ’, सन्जेलले भने, ‘दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका देशमा अंग्रेजी भाषामा पढाइ हुने स्कुलहरू महँगो भएकाले तिनमा गरिब परिवारका बालबालिकाको पहुँच छैन। अंग्रेजी भाषामा राम्रो अध्यापन गरेर सक्षम जनशक्ति बनाउने समताको लक्ष्य छ।’
सञ्जेलले जापानमा पनि समता स्कुल स्थापना गरिने बताए। जापानको स्कुलमा भने मासिक एक अमेरिकी डलर शुल्क नभइ त्यहाँबाट उठाइएको शुल्कले अन्यत्रका विद्यालयलाई सहयोग गर्ने उनको योजना छ।
‘तर पनि जापानको अरु स्कुलभन्दा त त्यहाँको समता स्कुल न्यून शुल्क कै हुनेछ’, सञ्जेलले भने।
सञ्जेललाई बर्मामा स्कुल स्थापनाका लागि थाइल्यान्डका नेपाली भाषी व्यवसायी कुमार कार्कीले आर्थिक सहयोग उपलब्ध गराएका छन्।
‘एक सय रुपैयाँ वा एक डलर महिनाको शुल्कले त शिक्षा दिन पुग्दैन। समताको काम र लक्ष्य देखेर खुसी भएका दाताले दिएको दानले नै स्कुल चलिरहेको छ,’ सञ्जेलले थपे, ‘म्यानमारमा स्कुल स्थापनको पहिलो वर्षको सबै खर्च कुमार कार्कीले व्यहोरी दिनुभएको छ।’
बर्माका जन्मेका नेपाली भाषी कार्कीले थाइल्यान्डमा व्यवसाय गर्छन्। कार्कीले भने, ‘पहिलो वर्ष मैले सहयोग गरेको छु, अब यहाँ रहेका नेपाली भाषीहरू र बर्मेलीहरूको आर्थिक सहयोगमा स्कुल अगाडि बढ्छ।’
स्कुलका संरक्षक मदनकृष्ण श्रेष्ठले गत वर्ष दसैंका बेला थाइल्यान्ड जाँदा त्यहाँ भेटेका नेपाली भाषीका कारण आफूलाई बर्मामा समता स्कुल स्थापना गर्न मन लागेको बताए।
‘थाइल्यान्डमा काम गर्ने थुप्रै बर्मेली नेपालीहरू भेट भयो। उनीहरूलाई अंग्रेजी शिक्षाको आवश्यक देखें र सञ्जेललाई मनको कुरा खोलें,’ कलाकार श्रेष्ठले भने, ‘उत्तमले मनमा लिए, आज स्कुलको उद्घाटन गर्न पाउँदा धेरै खुसी लागेको छ।’
पैसा नभएकै कारण कोही पनि गुणस्तरीय शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले २०५८ सालमा स्थापना भएको समताका विभिन्न स्कुलमा ४५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
मह जोडीको सम्मान:
समता विद्यालयको उद्घाटनमा आएका कलाकारद्वय मदनकृण श्रेष्ठ र हरिवंश आचार्यलाई यांगुनस्थित नेपाली दूतावासमा नेपाली भाषी बर्मेलीहरू र म्यानमारको गैरआवासीय नेपालीहरूले सम्मान गरेका छन्।
सम्मान कार्यक्रममा म्यानमारका लागि नेपाली राजदूत भीम उदासले हास्य व्यंग्यमार्फतबाट संसारभरका नेपालीहरूलाई जोडेको भन्दै महको प्रशंसा गरे।
बर्मेली नेपाली भाषीहरूको साझा संस्था अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघका अध्यक्ष सागर घिमिरेले मह जोडीको अडियो र भिडिओ क्यासेटले बर्मेलीहरूलाई नेपालसँग जोडेको बताए।
