विश्वकै ज्येष्ठ म्याराथन धावक भनेर चिनिएका फौजा सिंहको मृत्यु भएको छ।
भारतको पञ्जाब राज्यको जालन्धर जिल्लास्थित आफ्नै जन्मथलो नियर ब्यास नजिकै सडकमा हिँडिरहेका सिंहको 'हिट एन्ड रन' दुर्घटनामा परी सोमबार मृत्यु भएको हो।
अमेरिकी मिडिया सिएनएनका अनुसार ११४ वर्षको उमेरमा उनको मृत्यु भएको हो।
उनलाई ठक्कर दिएर फरार भएको गाडी अझै पत्ता लागेको छैन।
'सीसीटीभी फुटेजमार्फत सवारी पहिचानको प्रयास भइरहेको छ, हाम्रो टोली त्यसमा काम गरिरहेको छ,' जालन्धरका प्रहरी प्रमुख हरविन्दर सिंह भिर्कले सीएनएनसँग भनेका छन्।
गाडीले ठक्कर दिएपछि उनलाई गम्भीर अवस्थामा जालन्धरकै श्रीमान अस्पताल लगिएको थियो। उनको टाउको र छातीमा गम्भीर चोट लागेका कारण डाक्टरहरूले बचाउन नसकेको सिएनएनको समाचारमा उल्लेख छ।
फौजा सिंह सन् १९११ मा भारतको ग्रामीण क्षेत्रमा जन्मिएक थिए। पछि उनी लन्डना बस्न थालेका थिए। ८९ वर्षको उमेरमा पत्नी र छोराको निधनपछि उनले दौडन थालेका थिए। दृढ इच्छाशक्ति र साहसले उनलाई 'टरबन्ड टोर्नाडो' (पगडी लगाएका आँधी) को उपनाम दिइएको थियो।
उनले आफ्नो जीवनमा नौवटा म्याराथन (२६.२ माइल) दौड पूरा गरेका थिए। सन् २००३ को टोरन्टो वाटरफ्रन्ट म्याराथनमा ५ घण्टा ४० मिनेटमा दौड पुरा गर्दै व्यक्तिगत कीर्तिमान बनाएका थिए।
त्यसपछि २०११ मा उनी फेरि टोरन्टो फर्किए, जहाँ उनले १०० वर्ष उमेर पार गरेपछि म्याराथन पूरा गर्ने पहिलो व्यक्ति बने। त्यतिबेला उनले ८ घन्टा ११ मिनेट ६ सेकेन्डमा दौड पूरा गरेका थिए।
उनले पछिल्लोपटक सन् २०१३ मा हङकड्डमा भएको १० किलोमिटरको दौडमा भाग लिएका थिए।
उनका असाधारण उपलब्धिहरूका बाबजुद, जन्म प्रमाणपत्र नहुँदा गिनिज वर्ल्ड रेकर्ड्सले औपचारिक मान्यता नदिएको सिएनएनले जनाएको छ। उनले बेलायती महारानी एलिजाबेथबाट १०० औं जन्मदिनमा बधाई सन्देश पाएका थिए।