कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका युवक पक्राउ परेका छन्।
जिल्लाको गढवा गाउँपालिका वडा नं. ३ खैरेनीका २७ वर्षीय अर्जुन बुढा मगर भनिने राजाबाबु बुढा मगर पक्राउ परेका हुन्।
कर्तव्य ज्यान र चोरी मुद्दामा उच्च अदालत पाटनले २०७६।१०।२४ गते मगरलाई २० वर्ष १ महिना १५ दिन कैद सजायको फैसला सुनाएको थियो। झन्डै १८ बर्षको उमेर छँदै बुढामाथि व्यक्ति हत्याको मुद्दा परेको थियो।
बुढा त्यसयता फरार थिए।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार यो बीचमा बुढा कतै चुनु, कतै अर्जुन र कतै राजाबाबुको नाममा गाउँ घरमै बस्दै आएका थिए।
दाङको लमहीमै बालकहरूलाई उनले चोरी गर्न लगाउने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ।
असार ३० गते भने बुढाले खैरेनी गाउँकै बालकमाथि कुटपिट गरेपछि प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको थियो।
सोधपुछ र अनुसन्धानका क्रममा उनीमाथि कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकिएको तथ्य खुलेको हो। मंगलबार अदालतबाट तथ्य बुझेपछि बुढालाई जिल्ला अदालत दाङमा पेश गरिएको थियो।
अदालतको आदेशलाई बुढालाई मंगलबार नै तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।