काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरीमा पाँच वर्षपछि पानी भरिएको छ।
आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा शनिबार पानी भरेको हो। खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाको सहयोगमा रानीपोखरीमा पानी भरिएको निर्देशनालयले जनाएको छ।
वि.सं. २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी अहिले पुनर्निर्माण सम्पन्न हुने चरणमा छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरेको बताइएको छ।
यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक देखिएको छ।
खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले दुई दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले बताए।
थापाका अनुसार रानीपोखरीमा तीन करोड लिटर पानी भरिएको हो। रानीपोखरीको लम्बाइ १८० मिटर र चौडाइ १४० मिटर छ। जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराइमा पानी भरिएको छ।
रानीपोखरीमा पानी भर्नका लागि आयोजनाले बागमतीको पानी सुन्दरीजलबाट चाबहिल महांकाल रिङरोड हुँदै पानीपोखरीमा रहेको रिजर्भ वायर टंयाकी भरेको थियो। जसका लागि मेलम्चीको पानी ल्याउन बनाइएको थोक वितरण प्रणालीको पाइपलाइन उपयोग गरिएको थापाले बताए।
पानीपोखरीबाट रानीपोखरीसम्म पानी पुर्याउन मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्राइमरी मेन वितरण पाइपलाइन उपयोग गरिएको थियो।
मेलम्चीको पाइपलाइइन प्रयोग गरेर रानीपोखरीमा सहजतापूर्वक पानी भर्न सकिएको थापाले बताए। थापाले रानीपोखरी सबैको गौरब भएकाले रानीपोखरीमा पानी भर्न निर्देशनालयले सधैं सहयोग गर्ने बताए।
‘भोलिका दिनमा रानीपोखरीमा पानी कम भयो भने सहयोगका लागि लागि अनुरोध आए खानपानी मन्त्रालयले रानीपोखरी भर्न सहयोग गर्नेछ,’ थापाले भने।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको रानीपोखरी निर्माणको काम लगभग सम्पन्न भएको छ। प्राधिकरणका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछन्।