पित्तथैलीमा पत्थरी हुने धेरै कारण छन्। २५ प्रतिशत वंशाणुगत कारणले हुन्छ। पित्त बग्ने बाटो बन्द भयो, अलि बिस्तारै बग्यो भने पत्थरी हुन्छ। हर्मोन र गर्भवस्थाका कारणले पनि पत्थरी हुन्छ। मोटो मान्छेले एक्कासी तौल घटायो भने पनि यस्तो समस्या हुन्छ। कतिपय अवस्थामा जथाभाबी औषधी प्रयोग गर्दा पनि हुन्छ भने रगतमा खराबी भयो भनेसमेत पत्थरी हुन्छ।
पित्तथैलीमा पत्थरी परेको धेरैलाई थाहा हुँदैन। कुनैबेला पेट फुल्लिने र असजिलो हुने हुन्छ। धेरैले मलाई ग्याष्ट्रिक भयो होला भन्ने सोचेका हुन्छन्। तर कुनैबेला स्टोनको कारणले यस्तो हुन्छ। बिस्तारै यसले दुःख दिँदै गयो भने, दाहिनेतिर दुख्ने, माथिल्लो पेट दुख्ने, ढाड दुख्ने अनि कतिपय अवस्थामा धेरै पेट दुखेर अस्पतालै जानुपर्ने हुन्छ। कहिलेकाहीँ जन्डिससमेत हुन्छ।
पित्तथैलीमा पत्थरी हुनसाथ सबैलाई अपरेशन गर्नुपर्छ भन्ने हुँदैन। बेलाबेलामा स्वास्थ्य परीक्षण गरेर स्टोनको आकार थाहा पाउन सकिन्छ। स्टोनको आकारको आधारमा चिकित्सकले शल्यक्रिया कहिले गर्ने थाहा हुन्छ। त्यसको आधारमा उपचार गर्न सकिन्छ। अन्य समस्या भएका र धेरै टाढा रहेका बिरामी छन् भने अपरशेन नदुखे पनि गरिन्छ।
अहिले, दुरविनको सहयोगले अपरेशन गर्न सकिन्छ। त्यसैले ९० प्रतिशत बिरामी २४ घन्टामा घर जान सक्नेगरी शल्यक्रिया हुन्छ। दुरविनले गर्ने भने पनि १ प्रतिशत पेट चिरेर गर्नुपर्ने सम्भावना हुन्छ। बिरामीको अवस्थाअनुसार शल्यक्रिया अलि जटिल हुनसक्छ।
पित्तथैली निकाले पनि पित्त बनिरहेको हुन्छ। तर कतिपयलाई पित्त निकालेर फालेपछि शरीरमा पित्त नै हुँदैन की भन्ने रहन्छ।
शल्यक्रियापछि खानमा केही नियन्त्रण गर्नुपर्ने हुन्छ तर सामान्य खाना खान हुन्छ। एक हप्तामा बिरामी पहिलाको अवस्थामै फर्किन सक्छ। हामीले शल्यक्रिया भएको भोलिदेखि नै हिँड्न भनेका हुन्छौं। किनकी जति हिँड्यो त्यति चाँडै बिरामीको अवस्था सामान्य हुन्छ।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत ग्याष्ट्रो सर्जन डाक्टर सुमिता प्रधानसँग सेतोपाटीले गरेको कुराकानीको पूरा भिडिओ