कोरोना संक्रमितलाई अति आवश्यक पर्ने अक्सिजन ग्यासको परिपूर्ति गर्ने उद्धेश्यले सल्यानमा पनि ‘मेरो एक हजार अभियान’ सुरु भएको छ ।
अभियान सुरु भएको तीन दिन भित्रै सवा दूई लाख बढी रकम देश विदेशबाट सहयोग संकलन भएको छ।
सल्यानमा कार्यरत एक निजी बैंकका कर्मचारी गोविन्द (आभास) शर्मा, आसिश केसी र हपिस भण्डारी मिलेर अभियान सुरु गरेका हुन्।
मंगलबार दिउँसो सल्यानमा कोरोना संक्रमित बिरामी अक्सिजनको अभावमा छटपटाउन थाले। सामाजिक सञ्जालमा अक्सिजनको लागि हारगुहार गरियो। नेताहरुको पहलमा सुर्खेतबाट दश वटा सिलिण्डर सल्यान लगियो। त्यसले तत्काल बिरामीको ज्यान जोगाउन सहज भयो।
तर, नेताहरुकै बीचमा ग्यास सिलिण्डरको विषयलाई लिएर आरोप प्रत्यारोप चल्यो ।
जहाँ अभाव त्यहाँ समस्या र झगडा हुनु अन्यथा हैन। त्यो कुरा युवाले राम्रोसँग बुझेका थिए । तीन जनाले सल्लाह गरे। शर्माले राति नै सामाजिक सञ्जाल मार्फत अक्सिजनको अभावमा छटपटाई रहेका बिरामीको लागि अक्सिजन सिलिण्डर किन्न सहयोग गर्न भन्दै ‘मेरो एक हजार अभियान’ बारे अपिल गरे।
‘एउटा अक्सिजन सिलिण्डर भर्न झन्डै एक हजार जति लाग्ने भएको हुँदा हामीले मेरो एक हजार अभियान सुरु गरेका हौं,’ शर्माले भने, ‘ हामीलाई शुक्रबार बेलुकासम्म देश बिदेशबाट झन्डै सवा दूई लाख जति सहयोग प्राप्त भइसकेको छ ।’
विपदको समयमा बिरामीको जीवन रक्षाको लागि युवाहरुले मिलेर थालेको अभियानको सबैले प्रशंशा गरेका छन्।
केसीका अनुसार शुक्रबार दिउँसोसम्म चेकगर्दा उनको एकान्टमा हालसम्म ८० हजार बढी जम्मा भइसकेको छ। बैंकर गोविन्द (आभास) शर्माको खातामा ४० हजार र हपिस भण्डारीको खातामा ५८ हजार रकम जम्मा भइसकेको छ।
यो रकम सल्यानका सर्वसाधारणदेखि सल्यान घर भइ हाल बिभिन्न देशमा रोजगारीका लागि पुगेका युवा/युवतीले कोरोनासँग भिड्न मद्दत पुगोस भनेर राखिदिएको केसीले बताए।
उक्त रकममध्ये केहीले उनीहरू दश वटा नयाँ अक्सिजन सिलिण्डर खरिद गर्ने तयारी गरिरहेका छन्।
‘शुक्रबार नै हामीले कतै सिलिण्डर नपाएपछि गृहमन्त्रीको सचिवालयमा काम गर्ने एकजना सल्यानका ब्यक्तिलाई सोर्स लगाएका छौं,’ केसीले भने ‘ उहाँले म जसरी पनि सहजीकरण गर्छु भन्नुभएको हो, तर, अहिलेसम्म उहाँले हामीलाई खवर गर्नु भएको छैन।’
यी तीन युवाले अप्ठेरोमा समाजका लागि निर्वाह गरेको भूमिका देखेर टेकराज शाही पनि अभियानमा जोडिए। जसले पछिल्लो समय बिदेशमा रहेका सल्यानीलगाएतसँग समन्वय गरिरहेका छन्।
युवाको यो समूहले सल्यानमा खाली सिलिण्डरको पनि ब्यापक खोजी गर्यो। तर, हालसम्म जिल्लामा एउटा पनि ठूलो उद्योग धन्दा नभएकाले कतै पनि अक्सिजनका खाली सिलिण्डर पाउन सकेनन् ।
सल्यानका केही ब्यापारीले रित्ता सिलिण्डरमा अक्सिजन ग्यास भर्न सघाउने बचन दिएको भए पनि आफूहरूले खालि सिलिण्डर समेत पाउन नसकेको केसीले बताए।
निकट भविस्यमै अक्सिजन सिलिण्डर खरिद गरि जिल्ला अस्पताल खलंगामा निर्मित कोभिड अस्पताल प्रशासनलाई ती सिलिण्डर हस्तान्तरण गरिने केसीले बताए।
‘हाम्रो उद्धेश्य बिरामीले अक्सिजनको अभावमा अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने हो,’ उनले भने, ‘हामी जस्ता युवा यो संकट बेला अगाडि नसरे को सर्छ?’
अप्ठेरो आउँदा सबै मिलेर बिपदको सामना गर्नुपर्ने उनले बताए ।