म्याद गुज्रिसकेको खाद्यवस्तुमा 'रिलेबलिङ' गरी बेच्ने गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
सोमबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटारस्थित सगरमाथा फुड प्रोडक्टमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो। म्याद गुज्रिएको खाद्यवस्तुमा भेटिएपछि त्यहाँबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
पक्राउ पर्नेमा सप्तरी घर भई हाल काठमाडौं गौरीघाट बस्ने सगरमाथा फुड प्रोडक्ट नेपालका सञ्चालक ४४ वर्षीय पवनकुमार साह छन्।
प्रहरीले काँडाघारी क्षेत्रमा म्याद गुज्रेको खाद्य वस्तुमा नयाँ मिति राखेर बेचिरहेको भन्ने सूचना पाएपछि टोली खटिएको थियो।
त्यहाँबाट प्रहरीले चिजबल्स, मसला लगायतका ४५ लाख बराबरका सामग्री बरामद गरेको छ। त्यहाँ वाणिज्य विभागको टोली समेत खटिएको थियो।
थप अनुसन्धान तथा कारबाहीको लागि वाणिज्य विभाग, बबरमहलमा बुझाइएको छ।