बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक अलपत्र पारेर छोडेका निर्माण व्यवसायीले थप पौने दुई करोड भुक्तानी लगेका छन्।
बिल भौचरसहित कामको भुक्तानी पाउँ भन्दै आफ्ना प्रतिनिधिमार्फत निवेदन दिएका निर्माण व्यवसायीलाई डिभिजन सडक कार्यालयले भुक्तानी दिएको हो।
यसअघि मोभिलाईजेसन पेश्की र उनले पेश गरेको बिलका आधारमा कार्यालयले करिब ९ करोड भुक्तानी दिईसकेको छ।
काम नगरेर सडक लथालिंग बनाएर छोडेका द कञ्चनजंगा विरूवा जेभीका प्रतिनिधि प्रविण मिश्रले सोमबार १ करोड ८८ लाख भुक्तानी लिएको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ।
पटकपटक ताकेता गर्दा पनि बेवास्ता गर्दै आएका निर्माण व्यवसायीले सडक विभागले भिओ स्वीकृत गरेको समाचार सार्वजनिक भएकै भोलिपल्ट बिल भौचर पेश गरेर भुक्तानी लगेका हुन्।
‘निर्माण व्यवसायीका प्रतिनिधिले अब काम निरन्तर अगाडि बढाउँछौं भनेर प्रतिबद्धतासहित भुक्तानीका लागि निवेदन पेश गर्नुभएको थियो, त्यहीँ प्रतिवद्धतालाई आधार मानेर भुक्तानी दिएका हौं,’ डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले सेतोपाटीसँग भने।
सोमबार लिएको रकम बुटवल मिलनचोक सडक छेउछाउमा निर्माण गरिएको नाली र खानेपानी पाईप विस्तार वापतको रहेको द कञ्चनजंगा बिरूवा जेभीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीले कार्यालयमै उपस्थित गराएर निर्माण कार्य तत्काल सुरू गर्ने कागजसमेत गरेका निर्माण व्यवसायीले अटेरी गर्दै आएपछि कारवाही गर्न चौतर्फी दवाव परेको थियो।
उक्त कम्पनीले २०७४ साल चैत ३० गते कुल ४७ करोड २७ लाख ८ हजार २ सय ८७ रुपैयाँ लागतमा सडक निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो।
कम्पनीले २०७४ साल र २०७७ सालमा गरि दुईपटक मोभिलाईजेसन भन्दै ८ करोड २६ लाख रुपैयाँ लगिसकेको छ। सोमबार लगेको रकमसहित निर्माण कम्पनीले सडक निर्माण वापत १० करोड १४ लाख रूपैयाँ लगिसकेको छ।
पाँच वर्षअघि ठेक्का सम्झौता गरिएको सडकको तेस्रो पटक थप गरिएको सम्झौता मिति आगामी असार मसान्तसम्म मात्रै रहेको छ।
मरासिनीका अनुसार ठेकेदार कम्पनीसँगै केही स्थानीयवासीको अवरोध र सुरूमा गरिएको गलत डिजाईनका कारण सडकको अहिलेको अवस्था निम्तिएको हो। उनका अनुसार २०७३ सालमा सडकको डिजाईन गर्दा नाली नसमेटिएको र अहिले बल्ल नाली थप गरिएको थियो।
बुटवलतर्फको सडकसँगै सोही कम्पनीकै सञ्चालक सुवित श्रेष्ठकै नाममा रहेको विरूवा कन्ट्रक्सन प्रालिले १७ करोड रूपैयाँमा ठेक्का सम्झौता गरिएको भैरहवातर्फ बेलहियादेखि बाईपास सम्मको ७ सय ५० मिटर सडकको निर्माण पनि अलपत्र छ।