हनुमानढोका दरबार क्षेत्रको कृष्ण मन्दिरमा एक साताअघि एउटा मल्लकालीन शिलालेख तोडफोड गरेर टुक्राटुक्रा पारिएको अवस्थामा फेला पर्यो। चौबीसै घन्टा सुरक्षा पहरामा रहने विश्व सम्पदा क्षेत्रको यस्तो ऐतिहासिक महत्वको अभिलेख तोडफोड गरिएकोमा सम्पदा संरक्षण अभियन्ताहरूले विरोध गरे।
महानगरीय प्रहरी वृत्त जनसेवाले कृष्ण मन्दिरको त्यो शिलालेख फुटाएको आरोपमा एक जना महिलालाई शुक्रबार पक्राउ गरेको छ। सिसिटिभी फुटेजका आधारमा पक्राउ परेकी ती महिला मनमाया श्रेष्ठ हुन्। उनको मानसिक अवस्था ठिक नभएको जनसेवाका प्रहरी नायब उपरीक्षक दिलबहादुर मल्लले बताएका छन्।
यसबारे प्रहरीले अनुसन्धान गरेर थप विवरण सार्वजनिक गर्ला नै, तर विश्व सम्पदा क्षेत्रका महत्वपूर्ण शिलालेख र संरचनाहरूको संरक्षणमा देखिएको सुरक्षा चुकलाई यो घटनाले उजागर गरेको छ।
तोडफोड गरेर टुक्राटुक्रा पारिएको यो शिलालेख कति महत्वपूर्ण छ भन्ने यसमा उल्लिखित विवरणले बुझाउँछ।
यो स्टोरीमा हामी उक्त शिलालेखमा के–कस्ता विवरण कुँदिएका छन् र अब यसलाई कसरी पुनर्स्थापना गरिँदैछ भन्नेबारे चर्चा गर्नेछौं।
यो आजभन्दा ३७३ वर्ष पुरानो शिलालेख हो। काठमाडौंका राजा प्रताप मल्लले विक्रम सम्बत् १७०५ मा आफ्नो दरबारअगाडि कृष्ण मन्दिर बनाउन लगाएर यो शिलालेख स्थापना गराएका थिए।
हनुमानढोका दरबार क्षेत्रको यो कृष्ण मन्दिर आठकुने शैलीमा बनेको छ जसलाई स्थानीयहरू ‘च्यासिंदेग’ भन्छन्। नेपाल भाषामा च्यास भनेको आठ हो।
हनुमानढोका दरबार परिसरमा रहेको कृष्ण मन्दिर। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
यो मन्दिर हनुमानढोका दरबारको मूलढोकाबाट सिधा अगाडि सडकपारि अलि उचाइमा छ। राजा प्रताप मल्लले पाटनको देखासिकी यो मन्दिर बनाउन लगाएका हुन्। पाटनका राजा सिद्धिनरसिंह मल्लले आफ्नो दरबारअगाडि विक्रम सम्बत् १६९३ मा कृष्ण मन्दिर बनाएका थिए।
यो मन्दिर निर्माण र शिलालेखका सम्बन्धमा इतिहासकार गौतमवज्र बज्राचार्यले आफ्नो किताब ‘हनुमानढोका राजदरबार’ मा विस्तृत वर्णन गरेका छन्।
किताबमा उल्लेख भएअनुसार प्रताप मल्लको प्रारम्भिक राज्यकालमा पाटनमा सिद्धिनरसिंह मल्लको शासन थियो। सिद्धिनरसिंह नाताले प्रताप मल्लका काका पर्थे। तर उनीहरूबीच मिल्ती थिएन।
‘सिद्धिनरसिंह एक धर्मात्मा राजा थिए। उनका धार्मिक गतिविधिबाट दुनियाँ प्रभावित थिए। मानिसहरू उनलाई श्रद्धाको दृष्टिले हेर्थे। यो कुराले उनका भारदारहरू भित्रभित्रै जलेका थिए,’ गौतमवज्र लेख्छन्, ‘विक्रम सम्बत् १६९३ मा राजा सिद्धिनरसिंहले पाटनमा धूमधामसँग कोटिहोम गरी आफ्नो दरबारअगाडि कृष्ण मन्दिर स्थापना गरेका थिए। पाटनका राजा कोटिहोमको काममा लागिरहेको अवसर पारी राजा प्रताप मल्लले पाटनमा हमला गरेका थिए।’
प्रताप मल्लले त्यति बेला पाटनमा हमला गर्दा केही हातहतियार कब्जा त गरे तर त्योभन्दा बढ्ता उपलब्धि हात पार्न सकेनन्। एक किसिमले भन्दा पाटनमाथिको हमला काठमाडौंका निम्ति पराजय नै थियो। यसबाट राजनीतिक रूपमा प्रताप मल्ललाई कुनै लाभ भएन।
राजनीतिक लाभ मात्र नभएको होइन, बिनाकारण पाटनमाथि हमला गर्नुलाई काठमाडौं राज्यभित्र सकारात्मक रूपमा नलिइएको इतिहासकार गौतमवज्र आफ्नो किताबमा उल्लेख गर्छन्।
उनका अनुसार, अर्काले गरेको धार्मिक काम बिगार्न खोजेको भन्दै प्रताप मल्लको बदनामी भएको थियो।
‘यसैको प्रतिक्रियास्वरूप राजा सिद्धिनरसिंहले जस्तै आफ्नो दरबारको प्रांगणमा राजा प्रताप मल्लले कृष्ण मन्दिर बनाएको देखिन्छ,’ गौतमवज्र लेख्छन्।
यो त भयो काठमाडौंको कृष्ण मन्दिर निर्माणसँग जोडिएको कथा।
अब हामी चर्चा गरौं, कृष्ण मन्दिरमा प्रताप मल्लले राखेको उक्त शिलालेखमा कुँदिएको विषयवस्तुबारे।
चित्रकार हरिप्रसाद शर्माले बनाएको राजा प्रताप मल्लको पोट्रेट।
गौतमवज्रको ‘हनुमानढोका राजदबार’ किताबअनुसार शिलालेखमा प्रताप मल्लले आफ्ना दुई दिवंगत रानीहरू रूपमती र राजमतीको सम्झना गरेका छन्।
राजा प्रताप मल्लका धेरै रानी थिए। तीमध्ये रूपमती बिहारकी राजकुमारी हुन् भने राजमती कर्नाटक देशकी राजकुमारी हुन्। बिहार र कर्नाटकका राजकुमारीसँगको विवाह सम्बन्धलाई लिएर प्रताप मल्ललाई ठूलो गर्व थियो। उनले अनेक अभिलेखमा आफ्ना दुई रानीहरूसँगको सम्बन्धबारे उल्लेख गरेका छन्। यी दुवै रानीको विक्रम सम्बत् १७०५ भन्दा अगाडि नै मृत्यु भइसकेको थियो। त्यति बेला राजा प्रताप मल्ल २६ वर्षका मात्र थिए।
‘जवानीमै दुई रानीको असामयिक मृत्युले राजा प्रताप मल्ललाई मनमा ठूलो चोट लागेको थियो,’ गौतमवज्र लेख्छन्, ‘कृष्ण मन्दिरमा रहेको उनको अभिलेखमा उनै दुई रानीको सम्झनामा त्यो मन्दिर निर्माण गराएको कुरा लेखिएको छ।’
उक्त अभिलेखअनुसार मन्दिरभित्र उनले स्थापना गरेका तीन मूर्तिमध्ये बीचको कृष्णको मूर्ति आफ्नै स्वरूपमा र दायाँबायाँ रहेका रूक्मिणी र सत्यभामाको मूर्ति भने तिनै दुई रानीको स्वरूपमा बनाउन लगाएका थिए।
आफूले निकै गर्व गरेको यी दुई रानीसँग जन्मजन्मान्तर कहिल्यै विछोड नहोस् भन्ने इच्छाले प्रताप मल्लले तीनै जनाको मूर्ति बनाउन लगाएको गौतमवज्रको भनाइ छ।
उनका अनुसार लौहलेप गरिएको यो शिलालेखले मल्लकालीन प्रस्तरकलाको पनि परिचय दिन्छ। यसमा प्रताप मल्लले आफ्ना दुई रानी रूपमती र राजमतीको वंशावली पनि सगर्व लेखाएका छन्। आफूले जितेका विभिन्न देश र युद्धको वर्णन गरिएकाले ऐतिहासिक दृष्टिले पनि यो अभिलेख महत्वपूर्ण रहेको गौतमवज्र बताउँछन्।
काठमाडौंको कृष्ण मन्दिरभित्र रहेको कृष्ण, रूक्मिणी र सत्यभामाको मूर्ति। तस्बिर: नारायण महर्जन/सेतोपाटी
वरिपरि मयूर, फूलका लहरा लगायत कलाकृतिले भरिएको शिलालेखमा ३६ पंक्तिको अभिलेख कुँदिएको छ। अभिलेखको माथिल्लो भाग संस्कृतमा र तल्लो भाग नेवारी भाषामा छ। आफ्ना दुई रानीलाई रूक्मिणी र सत्यभामाका रूपमा मूर्ति स्थापना गरेको कुरा उनले दुइटै भाषामा लेखाएका छन् भने कृष्णका रूपमा आफूलाई प्रस्तुत गरेको विवरण संस्कृत भाषामा मात्र छ।
‘हाम्रो यता आफ्नो प्रतिकृतिका रूपमा देउताको मूर्ति बनाउने चलन दुर्लभ छ। राजा प्रताप मल्लले स्थापना गरेको कृष्णको यो मूर्तिबाहेक अर्को यस्तो उदाहरण दुइटै मात्र देखापरेका छन्,’ गौतमवज्र लेख्छन्।
उनका अनुसार लिच्छवि कालका शक्तिशाली राजा विष्णुगुप्तले पशुपतिको बागमतीपारि रामचन्द्र भनी भगवान विष्णुको विशाल मूर्ति बनाउन लगाएका थिए। यो मूर्ति राजा विष्णुगुप्तकै स्वरूपसँग मिल्दोजुल्दो थियो।
त्यस्तै, भक्तपुरका राजा यक्ष मल्लले विक्रम सम्बत् १५२४ मा आफ्ना दिवंगत छोरा राजमल्ल देवको सम्झनामा उनकै सालिकका रूपमा ऋषिकेशको मूर्ति बनाउन लगाएका थिए। त्रिपुरसुन्दरीको अभिलेखमा यो कुरा वर्णन गरिएको छ।
यसबाहेक विष्णुको मूर्ति बनाउँदा त्यसको अगाडि भक्त गरूडका रूपमा आफ्नै सालिक बनाउने परम्परा खुब चलेको गौतमवज्र उल्लेख गर्छन्।
राजा प्रताप मल्लले शिखर शैलीमा निर्माण गराएको काठमाडौंको कृष्ण मन्दिर पाँच तह पेटी बनाएर त्यसमाथि मन्दिर उठाइएको छ। मन्दिरको द्वार दरबारको मूलढोकातिर फर्केको छ। पाँच तह पेटीको बीचमा मन्दिरको ढोकासम्म पुग्ने सिँढी छ। मन्दिरभित्र पस्ने मूलद्वारको दायाँपट्टि प्रताप मल्लको शिलालेख भित्तामा अड्याइएको थियो जुन एक साताअघिको तोडफोडमा टुक्राटुक्रा भयो।
पाँच तह पेटीको बीचमा कृष्ण मन्दिरको ढोकासम्म पुग्ने सिँढी। तस्बिर: नारायण महर्जन/सेतोपाटी
अहिले शिलालेखका टुक्रा हनुमानढोका दरबार हेरचाह अड्डा कार्यालयको संरक्षणमा छ। यसलाई जोडेर पुरानै ठाउँमा पुनर्स्थापना गरिने कार्यालय प्रमुख सन्दीप खनालले बताए।
‘चोइटिएका सबै भाग हामीले संकलन गरिसकेका छौं,’ उनले शुक्रबार सेतोपाटीसँग भने, ‘कुनै पनि भाग हराएको छैन। अभिलेख कुँदिएको खण्डमा हानि–नोक्सानी नभएकाले जोड्न सकिन्छ।’
फुटिसकेको शिलालेख कसरी जोड्न सकिन्छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘ढुंगाको धुलोलाई रसायनमा घोलेर जोड्ने विधि हुन्छ। हामी त्यही विधि प्रयोग गरेर शिलालेख जोड्दैछौं।’
यसबारे विज्ञहरूसँग सरसल्लाह भइरहेको र शिलालेख जोडिसकेपछि पुरानै ठाउँमा राखिने उनले बताए।
राजा प्रताप मल्लले आफ्ना दुई रानीहरू रूपमती र राजमतीको सम्झनामा राखेको यो शिलालेख तपाईंहरूले अहिलेसम्म पढ्नुभएको छैन भने अब पुनर्स्थापनापछि पढ्न जानू है!
यसमा उल्लिखित पौने चार सय वर्ष पुरानो मल्लकालीन इतिहासले तपाईंलाई रोमाञ्चित बनाउनेछ।
हनुमानढोका दरबार क्षेत्रमा रहेको काल भैरव र पछाडि कृष्ण मन्दिर। तस्बिर: नारायण महर्जन/सेतोपाटी