ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गरेकी छन्। ललितपुर महानगरपालिका वडा नं २१ स्थित नख्खु खोलामा मुहान निर्माण सुरू गरिएको हो।
ललितपुरको उत्तर-पश्चिममा अवस्थित खेकना राजकुलो सिँचाइ प्रणाली करिब ३०० वर्ष अघिदेखि सञ्चालनमा आएको स्थानीयको भनाइ छ। सो राजकुलोको सञ्चालन विगतमा गाउँका मुख्य व्यक्तिबाट हुँदै आएकोमा हाल खोकना राजकुलो व्यवस्थापन समिति गठन गरेर सञ्चालन गरिँदै आएको छ। स्थानीय कृषकको मागलाई मध्यनगर गर्दै आवश्यकता र पहिचानका आधारमा चालु आर्थिक वर्षमा मन्त्रालयले मुहान संरक्षणका लागि एक करोड ३२ लाख र नहर निर्माणका लागि ४० लाख बजेट विनियोजन गरेको थियो।
कुलोको मुहान शिलान्यासका अवसरमा मन्त्री भुसालले ऊर्वर भूमिलाई खण्डीकरण गरेर घडेरीका रूपमा बिक्री गर्नेभन्दा पनि उर्वर जमिनबाट कृषि उत्पादन गरी त्यहीबाट आर्थिक उपार्जन गर्न खोकनावासीलाई आग्रह गरिन्। सामूहिक खेती गरेर उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, ‘हामी सबै मिलेर सामूहिक खेती गरौं, म पनि खेतीमा सामेल भएर काम गर्न चाहन्छु।’
तेलका लागि प्रसिद्ध खोकना सांस्कृतिक एवं कृषिका दृष्टिकोणले एतिहासिक रहेको उल्लेख गर्दै मन्त्री भुसालले शिलान्यास गरिएको राजकुलोको काम गुणस्तरीय तवरले निर्धारित समयमा सकाउन निर्देशन दिइन्। उनले भनिन्, ‘उपभोक्ताले कामको निरन्तर नियमन गरेर कुलोबाट जतिसक्दो धेरै फाइदा लिनेगरी निर्माण गर्नुपर्छ, त्यसका आवश्यक प्रबन्ध म गर्नेछु, स्थानीयस्तरमा तपाईंहरू सक्रिय हुनुहोस्।’
संविधानमा उल्लेख गरिएको समाजवादको यात्राका लागि जनताको जीवनस्तर माथि उठ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले आफूहरूले भनेको समाजवाद हाम्रै सीप र परीश्रमबाट आउने भएकाले त्यसका लागि निरन्तर सिर्जनशील काम गर्नुपर्ने बताइन्।
कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले ऐतिहासिक खोकना राजकुलोको संरक्षण र सम्वर्द्धनमा मन्त्रालयले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै स्थानीय उपभोक्ताले सही सदुपयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘राज्यले उपलब्ध गराएको सहयोगको अधिकतम फाइदा लिएर उत्पादकत्व वृद्धि गर्नुहोला।’
आज शिलान्यास गरिएको राजकुलोबाट छम्पी, ठेचो, बुङ्मती, भैंसेपाटी र खोकनाका करिब १० हजार रोपनी खेतीयोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ। यस प्रणालीबाट करिब दुई हजार घरधुरी एवं सात हजार जनङ्ख्या लाभान्वित हुने नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण आयोजनाले जनाएको छ। खोला किनारको अतिक्रमणका कारण बहाव क्षेत्रफल घट्दै गएका कारण खोला किनार असुरक्षित हुँदै गएकाप्रति स्थानीयले चिन्ता व्यक्त गर्दै आएका थिए। उनीहरूले ऐतिहासिक सिँचाइ प्रणालीलाई संरक्षण गर्नका लागि सरकारसँग माग गर्दै आएका थिए।