नेपाली सेनामा कार्यरत चालकले चलाएको टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सैनिक प्रहरीसँग समन्वय गरी टिपर चालक ३७ वर्षीय दुर्गा श्रेष्ठलाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
आइतबार राति सवा १० बजे काठमाडौं महानगरपालिका-१० बिजुलीबजार सडकखण्डमा एक टिपरले पैदलयात्रीलाई ठक्कर दिएर भागेको थियो।
ठक्करबाट कालीकोट पंचाल झरना गाउँपालिका-२ घर भई भक्तपुर व्यासी बस्ने २२ वर्षीय बिपिन कार्कीको मृत्यु भएको थियो।
सो खबर पाएपछि परिसरबाट विशेष टोली खटिएको थियो। त्यसक्रममा पेप्सीकोलाको खहरेबाट बा२ख ५१४५ नम्बरको टिपर लुकाएर राखेको अवस्थामा फेला परेको थियो।
चालक सिन्धुपाल्चोक सेलाङ-५ घर भई भक्तपुरको सल्लाघारी बस्ने ३७ वर्षीय दुर्गा श्रेष्ठलाई सैनिक प्रहरीसँग समन्वय गरी पक्राउ गरिएको हो।
उनी सैनिक भएको कुरा खुलेपछि प्रहरीले सैनिक प्रहरीसँग समन्वय गरेको प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए।
‘अनुसन्धान गर्दै जाँदा चालक सेनाको मान्छे भएको खुलेपछि हामीले सैनिक प्रहरीलाई अनुरोध गरेपछि उहाँहरूले हामीलाई बुझाएको हो,’ उनले भने, ‘उनी अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन्।’
उनले पक्राउ परेका श्रेष्ठ सेनाको तल्लो पदका व्यक्ति भएको बताए पनि थप विवरण खुलाएनन्।
प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।