ललितपुर महानगरले आज (मंगलबार) बाट १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरू गर्ने भएको छ।
माघ २ गतेसम्म सञ्चालन हुने उक्त खोप कार्यक्रमले महानगरभित्रका निजी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब ४४ हजार विद्यार्थीलाई समेट्ने महानगरले जनाएको छ।
महानगरका प्रमुख चिरीबाबु महर्जनले विद्यार्थीलाई खोप लगाउने यो कार्यक्रमलाई सफल बनाउन अभिभावक र विद्यालयको भूमिका महत्वपूर्ण हुने बताए। ‘विद्यार्थीलाई खोप लगाउने कार्यक्रमलाई साझा जिम्मेवारीको रुपमा लिएर अघि बढ्न अनुरोध गर्छु, ’ उनले भने।
उनले खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना र कार्यान्वयन गर्न गराउन समेत उनले आग्रह गरे।
महानगरका अनुसार पुस २७ गते महानगरका वडा नं १ देखि ४ सम्मका विद्यालयमा, २८ गते वडा नं ५ देखि ८ सम्मका विद्यालयमा खोप कार्यक्रम सञ्चालन गरिनेछ।
त्यसैगरी २९ गते वडा नं ९ देखि १४ र १५ वडाका केही विद्यालयमा यो कार्यक्रम सञ्चालन हुनेछ। ३० गते वडा नं १५ का बाँकी विद्यालय र वडा नं १६ देखि २१ सम्मका विद्यालयमा। यस्तै माघ दुई गते वडा नं २२ देखि २९ सम्मका विद्यालयमा कोरोना विरुद्धको फाइजर खोप लगाउने व्यवस्था मिलाएको महानगरले जानकारी दिएको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले यो खोप कार्यक्रमले महानगरभित्रका ४४ हजार विद्यार्थीलाई समेट्ने जानकारी दिए। ‘यो खोप कार्यक्रमलाई सफल बनाउन शिक्षक, विद्यालय प्रमुखलगायत विद्यालय परिवारको भूमिका महत्वपूर्ण हुन्छ, साझा जिम्मेवारी सम्झेर यो कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछु,’उनले भने।
उनले आफ्ना छोराछोरीलाई खोप कार्यक्रममा सहभागी गराउन अभिभावकको भूमिका थप महत्वपूर्ण हुने प्रष्ट पारे।
महानगरले दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालयलाई खोप केन्द्र तोकेको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत अर्यालका अनुसार दुई सयभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयका विद्यार्थीले नजिकको विद्यालयमा पुगेर खोप लगाउनुपर्नेछ। ‘प्राविधिक जनशक्ति व्यवस्थापन र सहजताका लागि यस्तो गरेका हौं,’ उनले भने।
खोप कार्यक्रम बिहान १०ः३० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ। खोप कार्यक्रम शनिवार सञ्चालन हुनेछैन। खोप लगाउन जाँदा विद्यार्थीले विद्यालयको परिचय पत्र वा उमेर खुल्ने अन्य परिचय पत्र लिएर जानुपर्नेछ।
पुस २६ गते बसेको महानगरीय खोप समन्वय समितिले बैठकको २७ गतेबाट खोप संचालन गर्ने निर्णण गरेको थियो। उक्त बैठकमा प्याब्सन, एनप्याब्सन लगायत विभिन्न विद्यालयका प्रतिनिधिलगायतको उपस्थिति थियो। यसअघि जिल्ला खोप समन्वय समितिको बैठक बसेको थियो।
