काठमाडौंमा आजदेखि किशोर-किशोरीलाई फाइजर खोप लगाइँदै छ।
जिल्लास्तरीय खोप समन्वय तथा अनुगमन समितिको निर्णय अनुसार काठमाडौंमा आजबाट १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई कोरोनाविरुद्धको फाइजर खोप दिन लागिएको हो।
भक्तपुरका किशोर-किशोरीलाई आइतबारदेखि नै फाइजर खोप दिन थालिए पनि ललितपुर र काठमाडौंमा मंगलबारदेखि खोप दिन सुरू गरिने भएको हो।
शिक्षा मन्त्रालयले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरे पनि खोप केन्द्रहरु भने विद्यालयमै निर्धारण गरिएको छ। जिल्लाभित्रका पालिकाले विद्यालयसँग समन्वय गरेर खोप केन्द्र तोकेका हुन्। आफ्नै विद्यालयमा गएर खोप लगाउन पनि सरकारले आग्रह गरेको छ।
काठमाडौँका करिब दुई लाख ७० हजार किशोर-किशोरीलाई फाइजर खोप लगाउने सरकारको लक्ष्य छ। सरकारले तोकिएका खोप केन्द्रमा गइ भीडभाड नगरि स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लगाउन पनि आग्रह गरेको छ।
यसअघि सरकारले देशका ५७ जिल्लाका किशोर-किशोरीलाई मोडर्नाको पहिलो खोप दिइसकेको छ।
काठमाडौं महानगरपालिका भित्रका ३२ वटै वडा भित्रका विद्यालयमा आजदेखि माघ १० गतेसम्म खोप लगाउन सकिने महानगरपालिकाले जानकारी दिएको छ।
२०६१ मंसिर देखि २०६६ मंसिर भित्र जन्मिएका विद्यार्थीले परिचय खुल्ने कागजपत्र बोकेर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आ-आफ्ना स्कुलमा गएर खोप लगाउन सक्ने काठमाडौं महानगरपालिकाका विभागीय प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए।
