नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले बलात्कार गरेको आरोपमा पनौती नगरपालिका-१ घर भई ललितपुर पाटन बस्ने २१ वर्षीय सुजन श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
उनी सौगात महर्जन नामको नक्कली फेसबुक अकाउन्ट चलाउँथे। विगत दुई महिनादेखि एक नाबालिकासँग फेसबुकमा साथी बनेर चिनजान गरेको प्रहरीले जनाएको छ।
त्यसरी श्रेष्ठले बालिकालाई बारम्बार भिडिओ कल गरी संवेदनशील अंगहरू देखाउन लगाई कल रेकर्ड गर्ने गरेको आरोप छ।
त्यस्तै उनले स्कुलमा साथी तथा घर परिवारलाई देखाइदिने र सामाजिक सञ्जालमा समेत भाइरल गर्ने भन्दै धम्की दिएको प्रहरीले बताएको छ।
ब्ल्याकमेल गरी आरोपित श्रेष्ठले बालिकालाई गत मंगलबार राति ८ बजे महाराजगञ्जस्थित एक निर्माणाधीन घर पछाडि भेट्न बोलाई बलात्कार गरी फरार भएका थिए। त्यसपछि प्रहरीमा जाहेरी परेको थियो।
यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको छ।
परिसरले यस्तो नक्कली फेसबुक अकाउन्ट खोलेर गरिने अपराधजन्य कार्यहरूबारे सचेत रहन अनुरोध गरेको छ।
आ-आफ्ना बालबालिकाहरूलाई पनि समयमै सचेत गराई अपराध हुनबाट रोक्न प्रहरीले अनुरोध गरेको हो।