धनुषामा प्रहरीले श्रीमतीको हत्या गरी फरार भएको आरोपमा श्रीमानलाई श्रीमतीको किरिया गरेकै ठाउँबाट पक्राउ गरेको छ।
आइतबार विहारी नगरपालिका-५ ललियाका ५० वर्षीय श्रीमान रामा मण्डललाई श्रीमतीको किरिया गरेकै ठाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदिप क्षेत्रीले जानकारी दिए।
उनका अनुसार घरायसी विषयमा विवाद हुँदा रामाले कोदालोको बिँडले टाउकोमा प्रहार गरी ४५ वर्षीया श्रीमती जिवछी देवी मण्डलको हत्या गरेका हुन्।
गत असोज ४ गते दिउँसो बाँसघारीमा जिवछीको शव फेला परेको थियो।
बिहानै करिब ७ बजे जिवछी खेतबारीमा मल छर्न गएकी थिइन्। उनका श्रीमान पनि कोदालो र हँसिया लिई भकारी बनाउन बाँसको टाटी काट्न खेत पुगेको डिएसपी क्षेत्रीले बताए।
सोही क्रममा छिमेकीसँग लिएको ऋण कसरी चुक्ता गर्ने विषयमा झगडा सुरू भएको प्रहरीले जनाएको छ।
‘गालीगलौज हुन थालेपछि जिवछीले श्रीमानको बुवाको नाम जोडी गालीगलौज गर्न थालेपछि रामा आवेशमा आएको डिएसपी क्षेत्रीले बताए।
‘त्यसपछि श्रीमानले कोदालोको बिँडले टाउकोमा हिर्काएछन्,’ उनले भने, 'महिलाको टाउको फुटी डिलबाट भुइँमा लडिन्। छटपटिन थालेपछि पुनः टाउकोमा हिर्काई उनले हत्या गरेको रहेछ।’
डिएसपी क्षेत्रीका अनुसार हत्यापश्चात शंका नलागोस् भनी रामाले जिवछीले लगाएको चुरा आफैंले फुटाएर घटनास्थलमा यत्रतत्र छरेका थिए।
हत्या गरेको कोदालो पनि अर्काको खेतमा फाली रामा भागेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको डिएसपी क्षेत्रीको भनाइ छ।
कान्छो छोरोले कमाएको पैसाले ऋण नतिर्दा घरमा विवाद सुरू भएको प्रहरीले जनाएको छ।
डिएसपी क्षेत्रीका अनुसार जिवछीका दुईजना छोरा विनय र संजय मण्डल वैदेशिक रोजगारको सिलसिलामा कतारमा बस्छन्।
जेठा छोरा विनयले एक वर्षअघि तीन वर्ष विदेशमा बसी कमाएको २० लाख रुपैयाँ, दाइजोमा पाएको मोटरसाइकल र श्रीमतीको गरगहना समेत बेचेर जिवछीले ऋण तिरेकी थिइन्।
तर कान्छो छोरा संजयले विदेशबाट कमाएको पैसा आमाको नाममा पठाए पनि बाँकी रहेको ऋण तिर्न सहयोग नगरेको कुरालाई लिई घर परिवारमा बेलाबखत झै-झगडा हुने गरेको थियो।