गत हप्ता अमेरिकन हार्ट एसोसिएसनको सम्मेलनमा प्रस्तुत गरिएको एक शोधको सारांशले संसारभरका करोडौं मानिसलाई झस्कायो।
तौल घटाउन र स्वस्थ रहन विश्वभरि नै धेरैले ‘इन्टरमिटेन्ट फास्टिङ’ (निश्चित समयमा मात्रै खाने) गर्छन्। तर सो सारांशका अनुसार ‘इन्टरमिटेन्ट फास्टिङ’ गर्ने मान्छेको मुटु र रक्तसञ्चार सम्बन्धी रोगबाट मृत्यु हुन सक्ने सम्भावना झण्डै दोब्बर हुन्छ।
निश्चित समयमा मात्रै खाने र अन्य समयमा नखाने यो प्रक्रिया धेरै किसिमले अभ्यास गर्न सकिन्छ। कसैले हप्तामा कुनै एक वा दुई दिन एकदमै थोरै खाने र अरू दिन सामान्य मात्रामा खाने गर्छन् भने कसैले दिनभरिमा कुनै निश्चित समयावधिमा मात्रै खान्छन्। यी सबैमध्ये १६:८ फास्टिङ—अथवा दिनमा १६ घण्टा केही नखाने र ८ घण्टा मात्रै खाने—संसारभरका धेरै मानिसले अभ्यास गर्छन्।
नेपालमै पनि वरिष्ठ मुटु रोग विशेषज्ञ भगवान कोइरालादेखि लिएर नेपाली कांग्रेसका नेता गगन थापाले यो अभ्यास गरेको समाचारहरू प्रकाशित भएका छन्। अरू धेरै नेपाली सेलिब्रेटी र हामी सबैले चिने-जानेका धेरैले पनि यो अभ्यास गरेका छन्।
यसका फाइदा र नोक्सान दुवैबारे दीर्घकालीन शोध यसअघि भएका छैनन्। तर तत्कालका लागि तौल घट्ने र जिउ नै फूर्तिलो महसुस भएको भनेर यो अभ्यास गर्ने धेरैले भन्छन्। त्यसै पनि दिनभरिमा जम्मा ८ घण्टाको अन्तरालमा मात्रै खाने हो भने मान्छेले अरूबेला भन्दा थोरै खान्छ र तौल घट्छ।
ब्रिटिस हार्ट फाउण्डेसनका अनुसार इण्डोक्राइन रिभ्युजमा यसअघि गरिएको शोधमा हरेक दिन लामो समयसम्म नखाँदा रक्तचाप, रगतमा ग्लुकोज र कोलेस्ट्रोलको स्तरमा कमी हुन्छ। यी सबै कुरा नियन्त्रणमा राख्दा मुटु र रक्तसञ्चार सम्बन्धी रोगहरूको जोखिम पनि कम हुन्छ।
तर अमेरिकन हार्ट एसोसिएसनको सम्मेलनमा प्रस्तुत गरिएको सो दीर्घकालीन शोधको सारांशले भने त्यसको ठीक उल्टो मुटु र रक्तसञ्चार सम्बन्धी रोगहरूको जोखिम ९१ प्रतिशतले बढी हुन्छ भनेको छ।
द न्यु योर्क टाइम्सका अनुसार चीनको सांघाई जियाओ टङ विश्वविद्यालयका शोधकर्ताले अमेरिकाका २० हजार बढी वयस्क सम्मिलित शोधको विश्लेषण गरेका हुन्। सो शोध पहिले नै अरूले गरेका थिए।
युएस नेसनल हेल्थ एण्ड न्युट्रिसन एक्जामिनेसन सर्भेका लागि गरिएको सो अध्ययनमा सम्मिलितको औसत आयु ४९ वर्ष थियो। त्यसमा आधा महिला थिए भने २७ प्रतिशत गोरादेखि बाहेकका थिए। अध्ययनका सहभागीहरूले २४ घण्टाको अवधिमा कुन समयमा के खाएका थिए भन्ने विवरण दिएका थिए। त्यस्तो विवरण लगभग दुई हप्ता समयको अन्तरालमा दुई पटक संकलन गरिएको थियो।
८ वर्षपछि त्यो सर्भेमा सहभागीहरूलाई खोजेर चिनियाँ शोधकर्ताले यो सनसनीपूर्ण निष्कर्ष निकालेका हुन्। त्यसमा सहभागीमध्ये लगभग ८ घण्टाको अन्तरालमा मात्रै खाएकाहरूको मुटु र रक्तसञ्चार सम्बन्धी रोगका कारण मृत्यु हुने जोखिम ९१ प्रतिशतले बढी भेटेको दाबी गरेका छन्।
यो निष्कर्ष कतिको विश्वासिलो छ?
सबैभन्दा मुख्य कुरा यो शोध अहिलेसम्म कतै प्रकाशित भएको छैन र अरू शोधकर्ताले यसको समीक्षा (peer review) पनि गरेका छैनन्। केवल सारांश मात्रै प्रकाशित भएको हो। यसको निष्कर्ष अवलोकनात्मक (observational) छ र यसले १६:८ फास्टिङकै कारण मृत्यु हुने जोखिम बढेको भनेर पुष्टि गर्दैन। केवल १६:८ फास्टिङ र मुटु अनि रक्तसञ्चार सम्बन्धी रोगका कारण मृत्यु हुने जोखिमको बीचको सम्बन्ध (correlation) देखाउँछ।
यसको सबैभन्दा ठूलो कमजोरी भनेको सहभागीहरूलाई उनीहरूले दुई दिनमा के खाए भनेर मात्र सोधिएको थियो। त्यो सर्भेमा दुई पटकमात्रै आफ्नो खाना र खाने समयको जानकारी दिएका सहभागीले लामो समयसम्म ८ घण्टाको अन्तरालमा मात्रै खाए कि खाएनन् भन्ने यकिन छैन। उसै पनि शोध गर्दा प्रत्यक्ष निगरानीमा खुवाएकोभन्दा के खाएँ भनेर सहभागीले आफैं भनेको कुरा कम विश्वसनीय मानिन्छ।
यो शोधपछि १६:८ फास्टिङ गर्ने कि नगर्ने?
द न्यु योर्क टाइम्सले मुटु रोग विशेषज्ञसँग कुरा गरेर यो शोधका कारण मात्रै १६:८ फास्टिङ गर्ने कि नगर्ने भनेर केही पनि निर्णय नलिन भनेको छ। उसै पनि चिकित्सकको सल्लाह लिएर मात्रै १६:८ फास्टिङ सुरू गर्नु भनिन्छ।
ब्रिटिस हार्ट फाउण्डेसनले पनि यो निष्कर्ष अवलोकनात्मक भएको, अहिले नै यो शोध पूर्ण रूपमा प्रकाशित नभएको वा अरू शोधकर्ताले यसको समीक्षा नगरेको औल्याउँदै १६:८ फास्टिङ र मुटु रोगको सम्बन्धबारे ठोस निष्कर्ष निकाल्न थप शोध हुनुपर्ने बताएको छ। जति बेला खाना खाए पनि कति मात्रामा र के खाइयो भन्ने महत्वपूर्ण हुने भन्दै सन्तुलित भोजन खान भनेको छ। स्वस्थ मुटुका लागि फलफूल र तरकारी, दाल-दलहन, ‘नट्स’, ‘होलग्रेन्स’, माछा लगायत धेरै खान र चिनी, नुन, चिल्लो पदार्थ थोरै खान भनेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)