क्याम्पस पढ्ने विद्यार्थीहरूलाई पढाइसँगै रोजगारलाई जोड्न बुटवल उपमहानगरपालिकाले पढाइसँगै रोजगार कार्यक्रम सञ्चालन गरेको छ।
युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने पढाइसँगै रोजगारतर्फ लाग्न उत्प्रेरित गर्न यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको हो। पहिलो पटक सञ्चालन गरिएको यस कार्यक्रममा यसपालि दुई सय विद्यार्थीहरूलाई एक महिना रोजगारीको अवसर प्रदान गरिएको उपमहानगरपालिकाका रोजगार शाखा प्रमुख अरविन्द कुमार पाण्डेले जानकारी दिए।
कार्यक्रममा १ सय जना विद्यार्थी राजस्व संकलन र १०० जना विद्यार्थी ट्राफिक व्यवस्थापनको काममा खटिने भएका हुन्।
राजस्व संकलनमा खटिने विद्यार्थीहरूलाई दुई दिन पहिले अभिमुखीकरण गरी कार्यक्षेत्रमा खटाइएको छ भने ट्राफिक व्यवस्थापनको काममा खटिने विद्यार्थीहरूलाई शनिबारदेखि अभिमुखीकरण सुरु गरिएको छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सडकमा ट्राफिक व्यवस्थापनको लागि खटिने विद्यार्थीहरूलाई ट्राफिक प्रहरीले आइतबार सम्म सडक र ट्राफिक नियम बारे जानकारी प्रदान गरेपछि सोमबारदेखि बुटवलका सडकका विभिन्न चोकहरूमा खटाइने बताए।
अभिमुखीकरणमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय बुटवलका वरिष्ठ प्रहरी सहायक निरीक्षक ज्ञानु पाण्डेले ट्राफिक व्यवस्थापनको बारेमा जानकारी गराउने छन्।
बुटवल तथा बाहिरबाट समेत आएर बुटवलका विभिन्न क्याम्पसहरूमा अध्ययनका लागि भर्ना भएका विद्यार्थी हरूलाई लक्षित गरेर, क्याम्पसहरूकै सिफारिसका आधारमा पढाइसँगै रोजगार कार्यक्रममा आबद्ध गराइएको नगरप्रमुख पाण्डेले बताए।
विद्यार्थीले पढाई सकेपछि रोजगारमा लाग्न सहज होस् र सम्बन्धित क्षेत्रको बारेमा सामान्य भए पनि जानकारी लिन सकुन् भन्ने उद्देश्यले उपमहानगरपालिकाको यस प्रकारको कार्यक्रम सञ्चालन गरेको हो, यस वर्ष राजस्व संकलन र ट्राफिक व्यवस्थापनको काममा खटाउने गरी कार्यक्रम सञ्चालन गरिएको छ भने आगामी वर्ष घर बाटै फोहोर मैला वर्गीकरणका लागि समेत विद्यार्थीहरूलाई खटाउने गरी कार्यक्रम ल्याउँदै छौं,' उनले भने।
नगरप्रमुख पाण्डेले यो कार्यक्रम अन द जब ट्रेनिङको रूपमा सञ्चालन गरिएको भए पनि विद्यार्थीलाई पारिश्रमिक उपलब्ध गराइने बताए। राजस्व संकलन र ट्राफिक व्यवस्थापनका लागि खटिने विद्यार्थीहरूलाई दैनिक जनही ४२८ रुपैयाँ उपलब्ध गराइने छ भने उनीहरूले दैनिक चार घण्टा तोकिएको क्षेत्रमा काम गर्नुपर्ने छ।
राजस्व संकलनका लागि बुटवलका १८ वटा वडामा ५/५ जनाको दरले खटिने छन् भने भौगोलिक तथा जनसंख्याको हिसाबले समेत ठूलो रहेकोले वडा नं. ११ मा १० जना विद्यार्थी खटिने छन्। उनीहरूले वडा वडामा पुगेर व्यवसाय दर्ता, नवीकरण तथा राजस्व संकलनमा सहजीकरण गर्ने छन्।
यस प्रकारको कार्यक्रममार्फत विद्यार्थीहरूले स्थानीय सरकारको राजस्व प्रणाली, कर प्रशासन तथा सेवा प्रवाह एवं बुटवलको सडक र ट्राफिक व्यवस्थापनको बारेमा व्यवहारिक रूपमै अनुभव हासिल गर्ने छन्।
जसबाट विद्यार्थीहरूलाई अध्ययनसँगै सार्वजनिक प्रशासनको अनुभव प्राप्त हुने, आत्मविश्वास बढ्ने र भविष्यमा रोजगारीको लागि सीप विकासमा सघाउन पुग्ने विश्वास गरिएको छ।
यसरी खटिने विद्यार्थीहरूलाई एक महिनापछि उपमहानगरपालिकाले अन द जब ट्रेनिङको प्रमाणपत्र उपलब्ध गराउने छ। नगरप्रमुख पाण्डेले स्थानीय सरकार र शैक्षिक संस्थाबीचको सहकार्यले विद्यार्थीको क्षमता अभिवृद्धि तथा भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले विद्यार्थीलाई अध्ययनसँगै अनुभव र आम्दानीको अवसर प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम बुटवलको उदाहरणीय पहलका रूपमा रहेको बताए।
सिप र अनुभवले पढाइ पूरा गरेपछि रोजगारीमा लाग्दा सहज हुने भएकोले कार्यक्रममा आबद्ध भएको विद्यार्थीहरूको भनाइ छ।
नमिता गैरे लुम्बिनी बौद्ध विश्वविद्यालयमा बिए एलएलबी आठौं सेमेस्टरकी विद्यार्थी हुन्। उनी पनि बुटवलले सञ्चालन गरेको पढाइसँगै रोजगार कार्यक्रममा आबद्ध भएकी छन्। क्याम्पसमा सैद्धान्तिक ज्ञान मात्र मिल्ने भएकोले प्रयोगात्मक ज्ञानका लागि यो कार्यक्रममा आबद्ध भएको उनले बताइन्।
‘हाम्रो दिनचर्या बिहान कलेज जाने र दिउसो फर्किएपछि त्यतिकै घरमा बस्ने मात्र छ। यस्तो कार्यक्रममा जोडिएपछि थोरै भए पनि पकेट खर्च मिल्ने र समाजसँग जोडिएर समाजका समस्याहरू बुझ्न सकिन्छ,’ उनले भनिन्।
समाजका मानिसहरूसँग जोडिनु भनेकै सिकाइको एउटा प्रक्रिया भएको र अर्को कुरा आफू कानुनको विद्यार्थी भएकोले सवारी ज्यानका मुद्धाहरु कसरी निरूपण गरिन्छ भनेर बुझ्न पनि ट्राफिक व्यवस्थापन कार्यक्रममा जोडिएको उनले बताइन्।
बुटवल बहुमुखी क्याम्पसमा बिएस्सी प्रथम वर्षमा अध्ययनरत सम्राट खनाल पनि पढाइसँगै रोजगार कार्यक्रममा आबद्ध भएका छन्। यो कार्यक्रम मार्फत सडक, सवारी र ट्राफिक नियमको बारेमा जानकारी लिएर थोरै भए पनि सडक दुर्घटना कम गर्न सघाउ पुर्याउनु आफ्नो उद्देश्य रहेको उनले बताए।