सामान्यत: अल्ट्रासाउन्ड कुनै परीक्षणको लागि गरिन्छ। एक्सरे, एमआरआई, सिटीस्क्यान जस्तै अल्ट्रासाउन्ड पनि परीक्षणको प्रविधि हो। अल्ट्रासाउन्डले रोग पत्ता लगाउन ठूलो सहयोग गर्छ। यसलाई रोग पत्ता लगाउने महत्वपूर्ण प्रविधिको रूपमा हेरिन्छ। यसको सबभन्दा बढी प्रयोग पेटको लागि गरिन्छ। पेटमा भएको समस्या पत्ता लगाउने यो नै सबैभन्दा भरपर्दो प्रविधि हो।
पेटमा भएको पत्थरी पत्ता लगाउन यसको सबैभन्दा बढी प्रयोग गरिन्छ। कलेजोमा समस्या छ, किड्नीमा कुनै समस्या छ भने पनि अल्ट्रासाउन्ड नै गरिन्छ। पेटको कुनै अंगहरूमा समस्या छ भने त्यो पत्ता लगाउन अल्ट्रासाउन्ड गरिन्छ।
अल्ट्रासाउन्डका विशेषता
पेटको समस्या भएको बेलामा त यो अनिवार्य जस्तै भइसकेको छ। यसको अरूभन्दा राम्रो पक्ष भनेको यसले अरूले भन्दा सजिलैसँग रोग पत्ता लगाउँछ। पानीको फोका हो कि रगत जमेको छ भन्ने अरू माध्यमबाट पत्ता लगाउन कठिन हुन्छ तर अल्ट्रासाउन्डबाट सजिलै पत्ता लाग्छ।
अल्ट्रासाउन्ड कसरी गरिन्छ?
अल्ट्रासाउन्ड थरीथरीका हुन्छन्। बढी मात्रामा पेटको नै अल्ट्रासाउन्ड गर्ने गरिन्छ। यसको लागि कम्तीमा ६ घन्टा खाली पेट राख्नुपर्छ। पिसाब पनि रोक्नुपर्ने हुन्छ। यो पुरूषका लागि भन्दा पनि महिलाका लागि बढी जरूरी छ। पिसाब रोक्यो भने पाठेघरको अवस्थाबारे थाहा पाउन सकिन्छ।
प्रोब भन्ने प्रविधि हुन्छ। शरीरको जुन अंगको अल्ट्रासाउन्ड गर्ने हो त्यो सँगै छालामा थोरै जेल हालेर राखिन्छ। त्यो भयो भने प्रोबले त्यहाँ भएको सबै ‘इन्फर्मेसन’लाई भिडिओमा देखाउँछ।
गर्भवतीले आवश्यकताका आधारमा अल्ट्रासाउन्ड गर्न सक्छन्।
पेटमा रहेको बच्चाको अवस्था पत्ता लगाउनका लागि अल्ट्रासाउन्ड भरपर्दो र महत्वपूर्ण प्रविधि हो। त्यसैले आवश्यकताको आधारमा अल्ट्रासाउन्ड गर्न सकिन्छ। निश्चित तालिकामा गर्भवतीको लागि अल्ट्रासाउन्ड अनिवार्य छ।
अल्ट्रासाउन्डकै कारणले आमा र बच्चालाई कुनै खराबी हुँदैन। चिकित्सकहरूको बुझाइमा फरक आएको हुनसक्छ।
अल्ट्रासाउन्डमा किन खर्च गर्ने भनेर पनि नगराएको हुनसक्छ। कतिपय अवस्थामा चिकित्सकले नै बाहिरैबाट बच्चाको अवस्था थाहा पाउने भएर अल्ट्रासाउन्ड नगर्न भनेका हुन्छन्। गर्भवतीका लागि एक्सरे हानिकारक हुन्छ तर अल्ट्रासाउन्डले असर गर्दैन।
अल्का अस्पतालमा कार्यरत रेडियोलोजिष्ट डाक्टर उमेश श्रेष्ठसँग गरिएको भिडिओ कुराकानी