सुकुम्बासी बस्तीबाट विस्थापित भई पढाइ अवरूद्ध भएका ४० जनाभन्दा बढी बालबालिकालाई काठमाडौं महानगरपालिकाले पढाउने व्यवस्था गरेको छ।
सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि त्यहाँका बालबालिका नियमित विद्यालय जानबाट वञ्चित भएका थिए। यस्ता बालबालिकाको संख्या धेरै भए पनि अहिलेलाई कीर्तिपुर होल्डिङ सेन्टरमा आश्रित कम्तिमा ४४ जनाका लागि काठमाडौं महानगरपालिकाले पढाइको व्यवस्था मिलाउने प्रक्रिया अघि बढाएको हो।
महानगरका अनुसार १४ जना बालबालिकालाई होस्टेल सुविधासहित विभिन्न विद्यालयमा भर्ना गरिएको छ भने होस्टेल बस्न नचाहने ३० जनाभन्दा बढीलाई बल्खुको जनविकास माध्यमिक विद्यालयमा पढ्ने व्यवस्था मिलाइएको छ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोलले शुक्रबार कीर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टरमा आश्रित बालबालिकालाई महानगर कार्यालयमै भेटेर कुराकानी गरेकी थिइन्।
कुराकानी क्रममा अधिकांश बालबालिका र तिनका अभिभावकले नियमित विद्यालय जान नपाएकामा चिन्ता व्यक्त गरेपछि उनीहरूको पढाइ नछुटोस् भनेर विद्यालयहरूसँग समन्वय गरिएको कार्यवाहक मेयर डंगोलले जानकारी दिइन्।
'परिवारसँगै बसेर पढ्न चाहनेलाई नजिकैको विद्यालय पठाइएको छ भने होस्टेल बस्न चाहनेहरूलाई काठमाडौं उपत्यकाकै विभिन्न विद्यालयसँग सहकार्य गरेर अध्ययनको अवसर दिइएको छ,' उनले सेतोपाटीसँग भनिन्।
उनका अनुसार उपत्यकाका ९ वटा विद्यालयसँग १० जना बालबालिकालाई पढाउने सहमति भइसकेको छ। बाँकीको प्रक्रिया पनि छिट्टै टुंगिनेछ।
'सोमबारदेखि सबै विद्यार्थी नियमित विद्यालय जान थाल्ने छन्,' डंगोलले भनिन्।
उनले होस्टेल बस्ने विद्यार्थीहरूका लागि आवास, भोजन र अध्ययन खर्च सम्बन्धित विद्यालयले नै बेहोर्ने गरी सहमति भएको र पुस्तक तथा अन्य सामग्रीको खर्च महानगरले बेहोर्ने जानकारी दिइन्।
त्यस्तै, बल्खुको जनविकास माध्यमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका लागि पोसाक र पुस्तक खर्च महानगरले नै व्यहोर्ने उनले बताइन्।
हाल कीर्तिपुर होल्डिङ सेन्टरमा ५६ जना बालबालिका छन्। तीमध्ये चार जनाले हालै एसइई सकेका छन् भने ५२ जना विद्यालय तहका छन्।
कार्यवाहक मेयर डंगोलसँगको कुराकानी क्रममा केही बालबालिकाले आफू पढ्दै आएको पुरानै स्कुल जाने इच्छा व्यक्त गरेका थिए। यसका लागि महानगरले आवश्यक सहयोग जुटाएको शिक्षा विभागका महाशाखा प्रमुख सुशील सुवेदीले बताए।
'कुनै पनि बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिने लक्ष्यका साथ उनीहरूको रूचि र सहजता अनुसार विद्यालय छनोट गरिएको छ,' उनले भने।
नियमित पढाइका साथै महानगरले बालबालिकाको मानसिक अवस्थालाई ध्यानमा राख्दै परामर्श तथा खेलकुद सामग्रीको व्यवस्था समेत गरेको कार्यवाहक मेयर डंगोलले बताएकी छन्।
'वर्तमान अवस्थाले उनीहरूको मनोविज्ञानमा असर नपरोस् भन्नेमा हामी सचेत छौं,' डंगोलले भनिन्।
सरकारले वैशाख १२ गते थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रका सुकुम्बासी बस्ती हटाएपछि त्यहाँका बासिन्दालाई कीर्तिपुर लगायत विभिन्न ठाउँका होल्डिङ सेन्टरमा सारिएको छ। केहीलाई बालाजु क्षेत्रका होटलमा राखिएको छ भने केहीलाई इचंगुको अपार्टमेन्टमा राखिएको छ। केही सुकुम्बासी परिवारलाई त बनेपा र नगरकोट पनि लगिएको छ।
यीमध्ये कीर्तिपुर होल्डिङ सेन्टरको बन्दोबस्त काठमाडौं महानगरपालिकाले नै गरेको हो। त्यहाँ रहेका बालबालिका, वृद्धवृद्धा र सुत्केरीहरूको अवस्थालाई ध्यानमा राख्दै थप सहायता कार्यक्रम सञ्चालन गरिएको महानगरले जनाएको छ।
महानगरले स्वास्थ्य समस्यामा परेका वृद्धवृद्धाको परीक्षण गर्नुका साथै चस्मा वितरण गर्ने लगायतका सहयोग पनि गरिरहेको छ।
'कीर्तिपुरको राधास्वामी सत्संगमा विस्थापति सुकुम्बासीहरू राखौं भनेर काठमाडौं महानगरपालिकाले नै भनेको हो। त्यसो हुँदा त्यहाँ बस्ने हरेक व्यक्तिको सुरक्षामा हामीले जोड दिँदै आएका छौं,' डंगोलले भनिन्, 'म व्यक्तिगत रूपमा पनि निरीक्षण गर्न गइरहन्छु। त्यसरी जाँदा त्यहाँका बालबालिका, वृद्धवृद्धा र सुत्केरीहरूको अवस्था देखेपछि उनीहरूलाई आश्रय दिएर मात्र पुग्दैन, थप सहयोग पनि गर्नुपर्छ भन्ने लाग्यो।'
उनले अगाडि भनिन्, 'जे घटना भयो, त्यसमा ती कलिला बालबालिकाको कुनै दोष छैन। यसबाट उनीहरूलाई मानसिक रूपमा असर नपरोस् र स्कुल छुटेर भविष्य अन्धकार नहोस् भनेर हामीले सहयोग कार्यक्रमहरू ल्याएका हौं।'
महानगरले सुरूकै दिनदेखि कीर्तिपुर होल्डिङ सेन्टरका बालबालिकालाई मनोपरामर्श सेवा दिँदै आएको छ। रूचि अनुसारका खेल सामग्री पनि उपलब्ध गराएको छ।
त्यही क्रममा बालबालिकाको पढाइलाई निरन्तरता दिन कार्यवाहक मेयर डंगोलले निजी स्कुलहरूको संगठन प्याब्सन, एन-प्याब्सनसँग कुराकानी अघि बढाएकी थिइन्।
'मैले उहाँहरूलाई कलिला बालबालिकाको भविष्य सपार्न मन ठूलो पार्नुहोस् भनेर आग्रह गरेँ,' उनले भनिन्, 'त्यसपछि उपत्यकाका विभिन्न विद्यालयले २० जनासम्म पढाउन सक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।'
स्कुल सञ्चालकहरूबाट यस्तो प्रतिबद्धता आएपछि अभिभावक र बालबालिकासँग कुराकानी गरेको र उनीहरूको इच्छा अनुसार भर्ना प्रक्रिया अघि बढाएको डंगोलले जानकारी दिइन्।
शुक्रबार कीर्तिपुर होल्डिङ सेन्टरका बालबालिकासँग प्रत्यक्ष कुराकानी गर्दा डंगोलले उनीहरूलाई भविष्यमा के बन्न मन छ भनेर सोधेकी थिइन्।
जबाफमा कसैले प्रहरी, कसैले क्रिकेटर भने। कसैले डाक्टर, शिक्षक र आर्मी पनि भने।
यस्तो जबाफ सुनेपछि उनीहरूले चिताएको पूरा गर्न थप ऊर्जा प्राप्त भएको कार्यवाहक मेयर डंगोलले बताएकी छन्।
'कम्तिमा काठमाडौं महानगरपालिकाले व्यवस्थापन जिम्मा लिएको कीर्तिपुर होल्डिङ सेन्टरका बालबालिकाको पढाइ छुट्ने छैन। त्यहाँका वृद्धवृद्धा, बिरामी र सुत्केरीहरूले दु:ख पाउने छैनन्,' उनले भनिन्।