प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गर्दै कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक टोल घर भई हाल काठमाडौंको शंखमुल बस्दै आएका २२ वर्षीय प्रकाश खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार खड्कामाथि प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गरी विभिन्न व्यक्तिलाई धम्की दिने तथा त्रास सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको आरोप छ।
खड्काले दैलेख दुल्लु नगरपालिका-१३ का वडा सचिव कमल भण्डारीलाई धम्क्याएको अडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।