अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी पासपोर्टमा आफ्नै फोटो छाप्ने निर्णय सार्वजनिक गरेको ठ्याक्कै हप्तादिन पहिले 'माया' सभ्यताको खण्डहर हेर्न 'कोष्टामाया' मा थिएँ।
घना जंगलले ढाकिएको मैदानी भागमा बुच्काबुच्की जस्ता देखिने थुम्काहरूमाथि उत्खननन् गरिएका पिरामिड ढुंगैढुंगाको थुम्को देखिन्थ्यो। कतिले स्याहारसम्भार पाएका, कति त्यतिकै छाडिएका।
पिरामिड अघि उभिँदा मलाई लाग्यो — दुई हजार वर्ष पहिले, बिना प्रविधि कसरी बनाए होलान् यस्तो भिमकाय ढुंगाको पहाड? यत्रो सभ्यता कसरी खण्डहर बन्यो? किन छाडे यो पूर्वाधार? कहाँ गए होलान् तिनीहरू?
मेरो उपस्थिति, अस्तित्व हराएर जाँदैछ भन्ने उनीहरूलाई ख्याल भयो होला, जति बेला यत्रो पूर्वाधार छोडिँदै थियो? यति विशाल क्षेत्रमा फैलिएको बस्ती बिरानो बनाएर छोड्ने काम एक हप्तामै या वर्ष दिनमै भयो होला, कि वर्षौंमा?
मेक्सिकोको युक्याटन प्रायद्वीपमा विकसित 'माया' सभ्यता क्लाइमेक्समा पुग्दा बनेका हुन् खण्डहर यी पिरामिडहरू। मायाहरूले आफ्नै लिपि र क्यालेन्डर बनाएका थिए। प्रविधि त मेरै अघि उभिएको छ, खण्डहर भए पनि। केले पुर्यायो त्यो सभ्यतालाई यति माथि? केले खसाल्यो धूलोमा।
मान्छेमा डर हुन्छ — मेरो विरासत बिलाएर जान्छ कि!
मरेर गए पनि मेरो 'लिगेसी' निरन्तर रहिरहोस् भन्ने चाह हरेकमा हुन्छ। सायद राष्ट्रपति ट्रम्पमा त्यस्तो चाह अझ धेरै छ!
राजधानी वासिङटन डिसीमा २५० फिट अग्लो गेट 'ट्रायम्फल आर्क' बानाउँदै छन्। आफ्नै फोटो र हस्ताक्षर सहितको 'स्मारक पासपोर्ट' जारी गर्दैछन्। जीवित राष्ट्रपतिको फोटो पहिलोपल्ट पासपोर्टमा छापिँदै छ। अमेरिकी स्वतन्त्रताको २५० वर्ष, उनका लागि आफ्नो 'किर्ती जोगाउने' अवसर बन्यो। त्योभन्दा पनि ठूलो शेखपछि पनि बाँचिरहने उनको अभिलासाले काम गर्यो।
आजभन्दा हजार वर्ष पहिले त्यसै छाडेर हिँडेका भौतिक संरचनाहरूको रासमाथि उभिँदा यस्तो लाग्यो, अबको हजार वर्षपछि ट्रम्पले उभ्याउन लगाएका गेट, आफ्नो फोटो र हस्ताक्षर छाप्न खोजेका पासपोर्ट, संसारैभरि उभिएका 'ट्रम्प' अंकित अग्ला टावरहरू रहलान्? मान्छेले बनाएको भूमिगत रेलवे, बादलमाथि थुरिने भवन, यस्तै बस्ला?

पृथ्वी त रहला; तर पृथ्वीको गति नै ढिलो बनाइदिने गरी मान्छेले बनाएका कृत्रिम ताल (चीनको याङ्त्से नदीमा बाँधेको विशाल बाँधका कारण पृथ्वीको गति ढिलो भयो र प्रत्येक दिन ६० नानोसेकेन्ड बढ्यो!) मा यसरी नै पानी जमिरहला?
हजारौं वर्ष पहिले बाँदर, चिम्पान्जी र हाम्रा पुर्खा एउटै थिए।
वैज्ञानिकहरू भन्छन् — कालान्तरमा क्रम–विकास (इभोलुसन) ले हामी दुई खुट्टा टेकेर उभिने बन्यौं। अरू प्राणी चार खुट्टे नै रहे। अगाडिका दुई खुट्टा हाम्रा हातमा विकसित भए, जसले काम गर्ने गति अरू जनावरको भन्दा कयौं गुणा छिटो र प्रभावकारी भयो।
त्यसमा थप प्रविधिको विकास गर्यो मान्छेले। अनि उन्नति र विकासको क्रम भंग नै भयो। पछिल्लो एक सय वर्षको अन्तरालमै मान्छेको जीवन पद्धति कहाँ पुग्यो!
विकासको फड्को यस्तै रहिरहला सधैं? यस्तै रफ्तारमा प्रविधिको विकास हुने हो भने एक सय वर्षपछि कहाँ पुगिएला? हजार वर्षपछि? मान्छे आफैले गरेको प्रविधिको विकास आफै पुरिने खाल्डो त बन्दै छैन?
मायाहरूको पुरातात्विक स्थल भ्रमणको गाइड लरेन्सले माइक्रो भ्यान चढ्ने बित्तिकै मोबाइलामा वेदर एप हेर्यो, भन्यो — आज दिन घमाइलो हुनेछ।
लरेन्स र उसको कम्पनी 'नेटिभ च्वाइस' भेट्टाउन हामीले पनि गुगल गरेका थियौं, क्रुजबाट ओर्लिने बित्तिकै। पुरानो सभ्यताको भग्नावशेष नयाँ मोडलको फोनमै स्क्रोल गरेर हेरेका थियौं फोटाहरू।
फ्लोरिडाको 'टेम्पा वे' चढेको ४० घन्टापछि ओर्लिएका हौं कोष्टामाया पोर्ट, मेक्सिको। अमेरिकी टेलिफोनको नेटवर्क मेक्सिकोमा पनि काम गर्छ। फोनले नेटवर्क टिपेपछि हेरेको, उसको अफिस त पोर्ट वरिपरिको सानो बजारभन्दा पछाडि रहेछ।
कपुरका बुटा जस्ता देखिने होचा रूखको पोथ्रामुनि सियालमा लरेन्सले हामीलाई स्वागत गर्यो। नजिकै रोकिराखेको मिनी भ्यान चढाएपछि हो दिन घमाइलो हुने बताएको।
'म अंग्रेजी जान्दिनँ नि,' अंग्रेजीमै ठट्टा गर्यो उसले।
'तिमी अंग्रेजीमा बोल, हामी मेक्सिकनमा माने बुझौंला।'
यसपल्ट ऊ हाँस्यो, हाम्रो ठट्टा बुझेर।
भन्यो, 'हाम्रो भाषा त स्पेनी हो नि!'
देश मेक्सिको, भाषा स्पेनी?
पाँच सय वर्षअघि युरोपबाट झरेका स्पेनीहरूले मेक्सिको लगायत मध्य अमेरिकी सबै भूगोलमा उपनिवेश जमाएको थियो। त्यसैको धब्बा हो अहिले पनि अमेरिका र क्यानडा बाहेक अमेरिकी दुवै महादेशका बाँकी सबै देश स्पेनी बोल्छ, ब्राजिल बाहेक, जो पोर्चुगिज भाषा बोल्छ।

'अलि अलि बाँकी होला हाम्रो आफ्नै सभ्यता झल्किने व्यवहार, प्योर केही पनि बाँकी छैन। हामीले खाने कुखुरा, सुँगुर युरोपबाट आयो। हामी पनि भात मन पराउँछौं, चामल एसियाबाट आयो। आँप मिठो फल हो, एसियाबाटै आयो। फास्ट–फुड अमेरिकाबाट झर्यो,' लरेन्सले यति भन्दा हामी समुद्र तटीय मैदानको म्यांग्रोभ घारीभित्र गुडिरहेका थियौं। बस्ती पातलो थियो।
संसारको अरू ठाउँबाट कति कुरा सापटी लियो मेक्सिकोले। मेक्सिको र अमेरिकी देशहरूबाट बाँकी विश्वले पनि उस्तै गरी सापटी पायो — लालिगुराँसको रङ, गोलभेँडाको अमिलो स्वाद, मकैको घोगा, सूर्तीको पातो र राजादेखि रैतीसम्मको भोजन आलु।
'बीस वर्ष पहिलेसम्म यो टाउनमा जम्मा आठ परिवार मात्रै बस्थ्यो। बिजुली थिएन। बाटो थिएन,' उसले कोष्टामायाको अहिलेको इतिहास उत्खनन गर्न थाल्यो, 'क्रुज कम्पनीहरूले जहाज रोक्न थालेपछि विकास भएको हो यो सबै।'
उसले विकास भन्यो।
खासमा बस्ती चाहिँ भित्री देहातको गर्मीमा पिल्सिएको गाउँजस्तो मात्रै देखिन्थ्यो।
सायद, हजार वर्षपछि फेरि उठ्न लागेको छ कोष्टामाया।
करिब एक घन्टाको ड्राइभपछि सानो बजारमा पुग्यौं। पंखा जस्तो पात हुने 'मेक्सिकन फ्यान पाम' का पातहरूले छाएको बजारमा बाक्लो चहलपहल थियो।
लरेन्स भन्थ्यो — टाउनमा अहिले तीन हजार जति बासिन्दा छौं। क्रुज रोकिएको दिन नौ हजार पुग्छ दिनभरिलाई। साझँ फेरि तीन हजार।
कस्तो उरलधुरल त मान्छेको चाप एक दिनमै! क्रुजबाट ओेर्लेका मान्छे फर्केपछि साँझ हात धोएर टक्टकिन्छ टाउन।
बजारको अलि पर, सुख्खा चौरमाथि विशाल ढिस्को देखियो।
'मायाहरूले बनाएको पिरामिड,' लरेन्सले भन्यो, 'यो एकापट्टिको पाटो मात्रै हो। अर्को पाटो हेर्न दस मिनेट लाग्छ, घुमेर जानुपर्छ।'
चारैतिरबाट साँघुरिँदै उचालिएको ढुंगैढुंगाको पहाडजस्तो विशाल आकृति थियो। पूर्वी मोहडामा पिरामिडको टुप्पोसम्मै जान मिल्ने सिँढी। तर ५–६ खुड्किलोभन्दा माथि जाने अनुमति हामी घुमन्तेलाई थिएन।
मानव इतिहासका अध्येताहरू भन्छन् — मायाहरू फलामको उपयोग गर्न जान्दैनथे। पांग्रा प्रयोग गर्थैनन्। तर पनि यति विशाल पूर्वाधारहरू बनाए। आफ्नै पात्रो विकास गरे, घामको गति र अवस्थिति हेरेर, ३६५ दिनको। यो पात्रो मान्छेको दैनिक गतिविधिका लागि प्रयोग हुन्थ्यो। धार्मिक कामका लागि २६० दिनको अर्को पात्रो पनि बनाए। आफ्नै लिपि विकास गरे। संसारभरि स्वतन्त्र रूपमा विकास भएका पाँच वटा लिपिमध्ये एक हो मायाहरूको लिपि।


गाइड लरेन्स भन्दै थियो — मायाहरूले बनाएको पिरामिड इजिप्टेली पिरामिड भन्दा फरक छ। इजिप्टमा पिरामिडको चुच्चिँदै उचालिएको बाहिरी सतह उबडखावड हुँदैन। चिल्लो देखिने गरी मिलेको 'स्मुद' हुन्छ। पिरामिडभित्र खाली भागहरूमा, प्रायः राजाहरूको समाधि हुन्छ।
यताको पिरामिडभित्र (धेरै जसोमा) खाली भाग हुँदैन। पिरामिडको उचालिँदै गरेको बाहिरी भाग गह्रा जस्तो 'स्टेप' बन्दै माथि साँघुरिएर जान्छ। र, टुप्पोमा आकाश या पितृ देउतालाई पूजा गर्न समथर भाग छोडिन्छ। प्रायः पिरामिडमा ९१ वटा खुड्किला हुन्छन्। चारैतिरको जोड्दा ३६४ खुड्किलो र माथिको जोड्दा ३६५, जुन एक वर्षको क्यालेन्डर दिन बराबर हुन आउँछ।
पिरामिडहरू धर्तीलाई पवित्र आकाश–स्वर्गसँग जोड्न बनाइएका अग्ला पहाडहरू हुन्!
पहाड जस्तो अग्लो पिरामिडमा विशेष पर्व, युद्ध या उत्सवका बेला आकाशका देवता र पितृ खुसी पार्न मानव बलि दिने चलन थियो रे!
सिमलको छायामुनि बस्दा उसले यति सबै सुनायो। बलि दिने कुरा चाहिँ केटाकेटीको कान छलेर भनेको थियो।
मायाहरूको मान्छे काटमारको कुरा केही सामग्रीहरूको अध्ययन गर्दा मैले पनि भेटेको थिएँ। मायाहरू युद्धबन्दी र शत्रु देशका नागरिकलाई अति नै अमानवीय हिंस्रक व्यवहार गर्थे भन्ने फेला पारेको थिएँ। कतिसम्म भने, दाँत उखेलिदिने, जिब्रो काट्ने, नङ झिक्ने, कति बेला त पिरामिडको सिँढीको सबभन्दा तल मान्छे सुताएर खुड्किलोको टुप्पोबाट मान्छेमाथि पर्ने गरी ढुंगा गुल्ट्याउने पनि गर्थे!
भग्नावशेष वरिपरि मानिहरूको भिड थियो। हेर्न आउने, फर्किनेको।
'तिमीहरूकोतिर पनि सिमल हुन्छ नि है?' उसले सोध्यो।
'तर यो सिमलको प्रजाति रातो फुल्दैन,' उसैले थप जानकारी पनि दियो।
यो सिमलको रूख कति पुरानो हो, लरेन्सले भन्न सक्दैन। उमेर थाहा पाउन चेक गर्ने प्रविधि हामीसँग छैन। यो रूख अगाडिको पिरामिडमाथि मायाहरूका राजा महाराजाले गरेको पूजा आराधना, वनफूल बालेर गरेको धूपधुवाँरको सुगन्ध यसले पनि देखेको, सुँघेको होला। तल पटांगिनीमा उभिएर महाराजको फर्मना सुन्न आएका सयौंलाई हामीलाई जस्तै शितल दियो होला।
पिरामिड अलि पर दुईतिर पर्खाल लगाएजस्तो आकृति देखियो। लरेन्सले भने अनुसार दरबारमा काम गर्ने वा सर्वसाधारण स्न बनेका घरहरूको अवशेष हो यो।
साना साना कोठाको जग जस्तो देखिन्थ्यो त्यो। चौकुना छेकिएको पर्खालबाट आँगन झर्न बनाइएको खुड्किलो पनि थियो। त्यो जगमा यदि घर थियो भने त्यो निकै सानो आकारको घर हुनुपर्छ। सायद मान्छे पनि सानै थिए होलान् त्यसमा अट्न!

बाटो हिँड्दा वरिपरि ढिस्को जस्तो भेटिन्थ्यो।
लरेन्स भनिहाल्थ्यो, 'यो भित्र पनि पुरानो पिरामिड, घर या कुनै अवशेष छ। उत्खनन हुन बाँकी।'
युक्याटन पेनिन्सुलामा मात्रै ४ हजारभन्दा बढी पिरामिडहरू छन् भन्ने पुरातत्वविदहरूको अनुमान छ। सन् १९७२ मा पत्ता लागेको हो हामी घुम्दै गरेको 'चक्चोविन पिरामिड'।
लरेन्स भन्छ, '१५ प्रतिशत जति मात्रै उत्खनन भएका होलान् युक्याटनभरिका भग्नावशेषहरू। बाँकी रूखको जरामुनि नै छ।'
वैज्ञानिक प्राध्यापक, पुलिट्जर पुरस्कार विजेता लेखक ज्यारेड डायमन्डले आफ्नो किताब 'कोल्याप्स' मा पूरा एउटा च्याप्टर नै माया सभ्यता किन नासियो भनेर लेखेका छन् —
सभ्यता विकसति भएर चरमोत्कर्षमा पुग्दा जनसंख्याको चाप बढ्यो। कुनै कारण जलवायुको प्रणाली फेरियो, पानी कम पर्न थाल्यो। खडेरीले उत्पादन घट्यो। खानेकुरा अभाव भएपछि एउटा राज्य र अर्को राज्यबीच, एउटा समुदाय र अर्को समुदायबीच कलह, झैझगडा बढ्यो। र, करिब आजभन्दा एक हजार वर्ष पहिले, झन्डै ९९ प्रतिशत मायाहरूले आफू बसेको, आफूले बनाएको सहर छाडे।
त्यसो भए कहाँ गए ती हजारौं मायाहरू?
प्राध्यापक डायमन्ड लेख्छन् — खडेरीले खानेकुरा अभाव हुन थालेपछि आपसी झैझगडामै सखाप भए धेरै। बिस्तारै अन्यत्र सरेर बाँची बसेकाहरू पनि पन्ध्रौं, सोह्रौं शताब्दितिर युरोपियनहरूले ल्याएको फ्लूले कत्लेआम भए। र, अहिलेको स्वरूपमा त्यो सभ्यताको जाति, विरासत बाँकी बस्यो।
हिजो हजारौं मान्छेको चहलपहलले भरिएको सहर आज रूखको टाङमुनि छ।
आजको मनुमेन्ट, गेट, विशाल सालिक, भूमिगत रेलमार्ग भोलि कुनै रूखमुनि हुन सक्ला कि नाइँ!
यति विशाल धर्ती अगाडि मान्छेको आकार र उमेर कति नै हो र! बिहानको घाममा देखिने लामो आकार त छाया हो। आयु मध्याह्नको छाया जति न हो। तैपनि हामीमा किन कीर्ति राख्ने भोक यति धेरै? सबभन्दा ठूलो हुने लोभ यति लामो? प्रख्यात या कुख्यात बन्ने मोह यति बाक्लो?
राष्ट्रपति ट्रम्पलाई कीर्ति राख्ने मोह भए जस्तै मायाहरूलाई पनि थियो होला नाम राख्ने धोको? ढुंगाले ढुंगा काटेर बनाएको पहाडजस्तो पिरामिड सधैंभरि रहिरहोस् भन्ने चाह?
उनीहरूले छाडेर हिँडेको हजार वर्षपछि खण्डहर पिरामिडको डिलमा उभिँदा मनमा लागिरह्यो — सय वर्ष पनि नबाँच्ने सानो मान्छेको आयु अग्ला फुइँहरूका लागि चाहिँ कत्ति पनि होइनन्!
(नारायण श्रेष्ठका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुस्)