यस वर्ष सरदरभन्दा छिटो मनसुन भित्रिने सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन भारतको दक्षिण प्रान्त केरल आइसकेको छ।
मौसमविद् वरूण पौडेलले बुधबार केरलमा मनसुन भित्रिसकेको बताए। त्यहाँको मनसुन विभागले मे ३१ मा मनसुन केरल आइपुग्ने प्रक्षेपण गरेकामा एक दिन अगाडि नै भित्रिएको थियो।
मौसमविद् पौडेलले नेपालमा सात दिनभित्र मनसुनको प्रभाव देखिने बताए।
‘साधारणतया केरलमा मे २८ मा मनसुन प्रणाली भित्रिने गर्थ्यो। बिहीबार अर्थात् मे ३० बाट केरलमा मनसुन प्रवेश गरेको छ। त्यसैको आधारमा नेपालमा सरदरभन्दा छिट्टै मनसुन भित्रिन्छ भनेर यकिन त गर्न सकिँदैन। तथापि सात दिनभित्र त्यसको प्रभाव देखिन सक्छ,’ उनले भने।
अर्का मौसमविद् मीनकुमार अर्यालका अनुसार भारतको मेघालय, त्रिपुरा, केरललगायत प्रान्तमा मनसुन भित्रिएको र उत्तर पश्चिम क्षेत्रतर्फ प्रभाव विस्तार गर्न थालेकोले नेपालमा पनि समयमै आइपुग्ने सम्भावना छ।
‘जुन–जुन समयमा जहाँ-जहाँ भित्रिन्थ्यो, ती ठाउँमाहरूमा मनसुन प्रवेश गरिसकेकाले नेपालमा पनि समयमै आउँछ कि भनेर अनुमान गर्न सकिन्छ। केरलमा आइपुगेको मनसुन नेपाल आइहाल्छ भन्ने होइन। पश्चिमी न्यून चापीय प्रणाली विस्थापित हुनुपर्छ। पूर्व हुँदै देशभर त्यसले प्रभाव विस्तार गरेपछि मात्रै नेपाल भित्रियो भन्ने अवस्था हुन्छ,’ अर्यालले भने।
साधारणतया नेपालमा जुन १३ मा मनसुन भित्रिने गर्छ। अघिल्लो वर्ष जुन १४ अर्थात् जेठ ३१ मा भित्रिएर असोज २८ गते बाहिरिएको थियो।
नेपालमा हिउँद याममा पश्चिमी वायुको प्रभाव रहन्छ। मनसुन याममा आउने पूर्वी वायुले त्यसलाई विस्थापित गर्नुपर्छ।
पानी पार्ने मौसम प्रणाली बंगालको खाडी हुँदै नेपाल भित्रिने गर्छ। भू-मध्यरेखामा पर्ने पूर्वी अफ्रिकी मुलुक सोमालियाबाट नेपाल आइपुग्ने मौसम प्रणाली सुरू हुने मौसमविद् बताउँछन्।
सोमालियबाट नेपालसम्म आइपुग्न मनसुनलाई झन्डै दुई साता लाग्छ।
सोमालियाबाट मनसुन कसरी नेपाल आउँछ? भन्ने बुझ्न पृथ्वीमा चल्ने हावाबारे बुझ्नुपर्छ।
भूमध्यरेखालाई आधार मानेर पृथ्वी दुई ध्रुवमा बाँडिएको छ। उत्तरी र दक्षिणी गोलार्द्धमा जमिनको सतहदेखि निकैमाथि हावाको मुस्लो पश्चिमबाट पूर्वतिर निरन्तर घुमिरहेको हुन्छ। त्यो हावाको मुस्लोलाई जेट स्ट्रिम भनिन्छ।
दोस्रो विश्वयुद्धताका विमान चालकहरूले जेट स्ट्रिम हुन्छ भन्ने पत्ता पाएका थिए। एउटा ध्रुवमा तीन वटासम्म यस्ता जेट स्ट्रिम हुन्छन्। जेट स्ट्रिमले निरन्तर प्रतिसेकेन्ड ९० मिटरको हिसाबले पृथ्वीलाई चक्कर लगाइरहेका हुन्छन्। मौसमअनुसार यिनीहरूको गति र ठाउँ भने फरक–फरक भइरहन्छ।
दुवै ध्रुव नजिकै बहने जेट स्ट्रिमलाई पोलार जेट भनिन्छ। ध्रुवबाट तल एउटा अर्को जेट स्ट्रिम हुन्छ जसलाई सबट्रपिकल जेट स्ट्रिम भनिन्छ।
चिसोमा यिनीहरू भूमध्यरेखातिर सर्दैसर्दै आउँछन् भने गर्मीमा ध्रुवतिर फर्किन्छन्।
जल तथा मौसम विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार गर्मीमा त्यही दक्षिण गोलार्द्धको सवट्रपिकल जेट स्ट्रिमनजिकै तल्लो तहतिर नयाँ जेट स्ट्रिम बन्छ। जुन भूमध्यरेखाको आसपासमा रहेको अफ्रिकी मुलुक सोमालिया नजिक हुन्छ।
‘सोमालिया नजिकको समुद्रमा बन्ने भएकाले यसलाई सोमाली जेट स्ट्रिम भनिन्छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘सोमालियाबाट उत्तरपूर्वको बाटो समातेर हिन्द महासागर हुँदै करिब साता दिनमा भारतको केरला आइपुग्छ।’
केरलबाट पनि मनसुन सिधै नेपाल आउँदैन। केरलाबाट यो दुईतिर बाँडिन्छ।
एउटा पश्चिमी तट हुँदै अरेबियन सागरतिर माथि जान्छ, पश्चिम भारत र पाकिस्तानमा पानी पार्न। अर्को समुद्र हुँदै बंगालको खाडी आइपुग्छ। यसले म्यानमार, बंगलादेश, भुटान, पूर्वीभारत र नेपालमा पानी पार्छ।
बंगालको खाडी आएको मनसुन फेरि सजिलै नेपाल पस्न सक्दैन। त्यसका लागि उत्तरबाट आउने पश्चिमी वायूले बाटो खाली गरिदिनु पर्छ।
नेपालमा हिउँदका छ महिना पश्चिमी वायूको दबदबा हुन्छ। पश्चिमी वायू उत्तर नसरेसम्म मनसुनको केही चल्दैन।
‘ऊ कि त उतै केरला रोकिएर बस्छ नभए बंगालको खाडीबाट यहाँ आउन खोजे पनि सक्दैन,’ मानन्धरले भनिन्,‘अप्रिल र मेमा नेपालमा यी दुई वायुको झगडा नै पर्छ।’
केही वर्षअघिको सेतोपाटीसँगको कुराकानीमा उनले हावाको झगडा पर्ने चर्चा पनि गरेकी थिइन्।
‘दुवैका विशेषता फरक–फरक छन्। एउटा माथिबाट आउँछ सुख्खा हुन्छ, कम पानी पार्छ। अर्को तलबाट आउँछ धेरै जलवाष्प ल्याएको हुन्छ। यो झगडामा मनसुन जति बलियो र पश्चिमी वायु जति कमजोर भयो हामीलाई त्यति फाइदा हुन्छ। नत्र पूर्वमा आएको मनसुन पनि पश्चिमतिर सर्नै सक्दैन,’ उनले भनिन्।
पश्चिमी वायुसँगको लडाइँमा मनसुनलाई तिब्बती पठारले पनि साथ दिनुपर्छ।
गर्मी सुरू भएसँगै सबट्रपिकल जेट स्ट्रिम ध्रुवतिर सर्छ। यसरी त्यो चिसो तर सुख्खा वायुमाथि सरेर चर्को घाम लागेपछि तिब्बती पठारको हावा तात्छ र माथि जान्छ। कुनै ठाउँमा सतहको हावा तातेर माथि गई बादल बन्यो भने त्यसलाई न्यून चापीय प्रणाली भनिन्छ।
‘गर्मीमा त्यस्ता न्यूनचापीय रेखा तिब्बतमाथि दिन्दिनै बनिरहेको हुन्छन्। तिब्बतमा जति छिटो न्यून चापीय प्रणाली बन्यो नेपालमा त्यति नै छिटो मनसुन पस्छ,’ मौसमविद् मानन्धरले भनिन्,‘तिब्बतमा खाली भएको त्यही ठाउँमा पुग्न मनसुनी वायु बंगालको खाडीबाट उकालो लाग्छ तर हिमालले छेक्ने भएकाले त्यो पारि जान सक्दैन। यतै झर्छ।’
कुनै मनसुनमा धेरै पानी पर्छ कुनैमा थोरै। त्यसमा मनसुन र पश्चिमी वायुसँगै प्रशान्त महासागरमा हुने दुई मौसमी घटनाको पनि भूमिका हुन्छ।
गत वैशाख ३१ गते जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन याममा सरदरभन्दा बढी पानी पर्ने आकलन गरेको थियो। जल तथा मौसम विज्ञान विभाग, विश्व मौसम संगठन, दक्षिण एसियाली मौसमविद्हरूको संगठनले अध्ययन गरेर सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको हो।
आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशत देखि ५५ प्रतिशत रहेको विभागले बताएको थियो।
त्यस्तै सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भू–भाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेश प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिमी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको प्रक्षेपण गरेको छ।
अघिल्लो वर्षा मनसुन याममा सरदरभन्दा कम वर्षा भएको थियो।
अघिल्लो वर्ष जेठ १८ गतेदेखि असोज १३ गतेसम्मको अवधिमा १ हजार ३०३ मिलिमिटर वर्षा भएको थियो। विभागकाअनुसार त्यो अवधिमा १ हजार ४७२ मिलिमिटर औसत वर्षा हुनुपर्नेमा ८८.५ प्रतिशतमात्रै वर्षा भएको थियो।
यस वर्ष हिउँद याममा पनि न्यून वर्षा भएको थियो। सरदर ६०.१ मिलिमिटर वर्षा हुनुपर्नेमा यस वर्ष १२.५ मिलिमिटर वर्षा भएको थियो।
५६ वर्षको अवधि नियाल्दा अहिलेसम्म २०६३ सालमा छिटो मनसुन भित्रिएको पाइन्छ।
त्यो वर्ष जेठ १८ गते मनसुन भित्रिएर असोज १२ गते बाहिरिएको थियो। त्यस्तै मनसुन लामो अवधिचाहिँ २०७९ सालमा रहेको थियो। त्यसबेला जेठ २२ गते मनसुन भित्रिएर असोज ३० गतेमात्रै बाहिरिएको थियो।