पानीको निकास थुन्नेलाई जरिवाना तिराएर काठमाडौं महानगरपालिकाले नक्साल ढुंगेधारा (गाःहिति) पुनर्निमाण गर्ने भएको छ।
निकास थुनेका तीन घरधनीलाई दुई लाख रूपैयाँ जरिवाना तिराएर त्यही रकमले हिति पुनर्निर्माण गर्ने महानगरले जनाएको छ।
महानगरले हिति पुनर्निमाणका लागि समस्या पहिचान गर्ने काम गत असोजदेखि सुरू गरेको थियो। त्यस बेला मेयर बालेन शाहले हिति आसपासका क्षेत्र गएर त्यहाँको अवस्थाबारे स्थानीयसँग छलफल गरेका थिए।
महानगरको अध्ययनले हिति पुनर्निमाण क्रममा पानीको मुहान र निकास खोज्ने, भौतिक संरचना पुनर्निमाण गर्ने जस्ता तीन समस्या फेला पारेको थियो। अध्ययनबाट तीन घरले पानीको निकास थुनेको पत्ता लागेको थियो।
'स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा तीनवटा घरले थुनेको भेटिएपछि हरेकलाई दुई लाख रूपैयाँका दरले जरिवाना तिराएका छौं। त्यही जरिवानाबाट प्राप्त रकमले अहिले हामीले निकास खोलिसकेका छौं,' महानगर प्रमुखका सचिवालय सदस्य विनय शाक्यले भने, 'अबको काम मुहान खोज्ने र भौतिक पूर्वाधार पुनरूत्थान गर्ने हो।'
यो हितिको निकास रोकिएको कुरा पुरातत्त्व विभागले २०३९ सालमा 'काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरूको विवरण' मा उल्लेख गरेको थियो। यस हितिको भौतिक अवस्था उल्लेख गर्दै लेखिएको छ, 'गाःहितिमा बेलाबेला निकास बन्द भई पानी जम्छ। ढुंगेधाराको पानीको मुहान सुकेको छ।'
यसलाई समय-समयमा सरसफाइ गर्नुका साथै पानीको स्रोत पत्ता लगाई आवश्यक व्यवस्था गर्नुपर्ने पुरातत्वले जनाएको छ। यो विवरणले ४० वर्षदेखि यस हितिको पानीको निकास बन्द भएको देखाउँछ। वडा नम्बर १ का सचिव सर्वज्ञराज पौडेलले स्थलगत अवस्था सुनाउँदै भने, 'ढुंगेधारा भएर पनि विगतमा यो पानी जमेर पोखरी जस्तो र फोहोर जम्मा हुने ठाउँ भएको थियो।'
पुरातत्त्व विभागको अभिलेखमा हिति स्थापना, पानीको स्रोत तथा मुहान, यससँग सम्बन्धित सांस्कृतिक र सामाजिक पक्ष उल्लेख छैन।
उक्त विवरणमा यसलाई लिच्छविकालीन वास्तुकलाको एक अनुपम नमूना भनेर उल्लेख गरिएको छ। साथै, उमामहेश्वर एवं प्राचीन शिवलिंग स्थापना भएको धार्मिक पुण्य स्थलका रूपमा रहेको बताइएको छ।
विवरणमा भनिएको छ, 'ढुंगेधाराका मुख, चतुर्मुखी शिवलिंग, चतुर्व्युह चैत्य, चार नारायण मूर्ति, उमामहेश्वर एवं गदाधर नारायणका मूर्ति प्राचीन पुरातात्त्विक महत्त्वको भएकाले धार्मिक सह-अस्तित्वका दृष्टिले महत्त्वपूर्ण छ।'
हितिको प्रयोग 'दैनिक पूजाआजा र जल चढाउन' हुने गरेको विवरणमा उल्लेख छ।
हिति पुनरूत्थानमा सहयोग गर्दै आएका स्थानीय मनोज ताम्राकारका अनुसार पानीको निकास बन्द भएपछि २०५८ सालतिर निकास खोज्ने प्रयास भएको थियो। मंगाल खोज्ने क्रममा एक जनाको मृत्यु भएपछि कुनै प्रयास नगरिएको उनले बताए।