डेढ वर्षअघि चितवनको भरतपुरमा बोराभित्र दुई वटा शव भेटिएका थिए— एक महिला र एक पुरूषको।
२०८० मंसिर ६ गते भेटिएका ती दुई शवमध्ये पुरूषको शव सोही साल माघमै परिवारका सदस्यले बुझे। महिलाको शव भने परिवारले अझै बुझेका छैनन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको शव अहिले पनि भरतपुर अस्पतालको शवगृहमै छ।
प्रहरीले बिहान पौने १ बजेतिर भरतपुरको मिलनचोकस्थित कल्भर्टमुनि केरूंगा घोलमा फेला पारेका दुई शवको मुखमा टेप लगाइएको थियो। घाँटीमा सलजस्तो रातो कपडाले कसिएको थियो। दुवै शवका दुवै हात, खुट्टा क्रस गरी डोरीले बाँधिएको थियो। अनि सोही डोरीले घाँटीमा समेत बाँधेर शव डल्लो बनाइएको थियो। अनि ती शव जुटको बोराभित्र कोचिएको थियो।
चौबिसै घण्टा व्यस्त रहने पूर्व–पश्चिम राजमार्गकै कल्भर्टमुनि भेटिएका शवको पहिचान गर्न प्रहरीले लामो समय मेहनत गर्नुपरेको थियो।
करिब डेढ महिनापछि बल्ल प्रहरीले शव र हत्यारा पहिचान गर्यो।
मृतक पुरूष थिए भारतको मोतिहारीस्थित फूलबारीया, सुगौलीका १९ वर्षीय ऋषभकुमार कुशवाहा। महिला थिइन् भारतको बिहार राज्य पूर्वी चम्पारण सुगौली सुगांवडीह घर भएकी ३० वर्षीया अस्मिता भनिने सन्जुदेवी भगत। उनीहरू प्रेम सम्बन्धमा थिए।
उनीहरूको हत्या अस्मिताका श्रीमान ३२ वर्षीय अखिलेश भगतले गरेका थिए। भारतको केन्द्रीय कारागृह मोतिहारीमा रहेका अखिलेशले यो कुरा स्वीकार गरेका थिए।
ऋषभको शव पहिचान भएपछि परिवारले बुझेर देवघाटमा दाहसंस्कार गरेको थियो।
'अस्मिताको शव भने डेढ वर्षसम्म पनि बुझ्न कोही आएको छैन,' जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रवीन्द्र खनालले भने।
घटना अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरू अस्मिताको शव परिवारले बुझ्नै नचाहेको बताउँछन्। प्रहरीले यस विषयमा भारतीय दूतावासमार्फत पनि पत्राचार गरेको थियो।
अनुसन्धानमा काम गरेका एक प्रहरी अधिकृतका अनुसार नेपाल–भारत सिमानासम्म एम्बुलेन्समा शव पठाइदिन्छौं भन्दा पनि परिवारले बेवास्ता गरेको छ।
'परिवारका सदस्यले यो घटनाका कारण प्रतिष्ठा गुमेको महसुस गरेका थिए। शव लैजाँदा गाउँतिर थप हल्ला फैलिने र इज्जत गुम्ने डरले पनि लैजान नचाहेको होला,' ती अधिकृतले भने।
कसरी भएको थियो घटना?
यो घटना हुनुअघि अस्मिताका श्रीमान अखिलेश, ऋषभ (मृतक) र अर्का एक जनाले मिलेर भारतमा रितेश साह नामका युवकको हत्या गरेका थिए। यो कुरा चितवनको घटना अनुसन्धान गर्दै जाँदा पत्ता लागेको थियो।
प्रहरीको अनुसन्धान अनुसार भारतमा अखिलेश र ऋषभले हत्या गरेका रितेश पनि अस्मिताका प्रेमी नै थिए।
अखिलेश र अस्मिताको सन् २०१३ मा बिहे भएको थियो। उनीहरुका १० वर्षका छोरा र ८ वर्षकी छोरी छन्।
आठ वर्षपहिले अखिलेश भारतको मोतिहारीस्थित फूलबारीया, सुगौलीमा रहेको मामाघर गएका थिए। त्यो बेला त्यहीँ घर भएका ऋषभ र २२ वर्षीय रितेश साहसँग दोस्ती भएको थियो। उनीहरूको दोस्ती बढ्दै जाँदा व्यावसायिक साझेदारसम्म बने। उनीहरूले काठमाडौंस्थित कालिमाटी तरकारी बजारमा साझेदारीमै तरकारी तथा फलफूलको व्यवसाय गर्न थाले।
दोस्ती र साझेदारी सँगै उनीहरूको पारिवारिक सम्बन्ध पनि नजिक हुँदै गयो। साथी ठानेका ऋषभ र रितेशको आफ्नी पत्नी अस्मितासँग प्रेम सम्बन्ध भएको अखिलेशले मेसै पाएनन्।
अर्कोतिर अस्मिताकै कारण ऋषभ र रितेशबीच आपसमा मनमुटाव सुरू भयो। एक दिन ऋषभले अखिलेशलाई रितेशले अस्मितालाई दुःख दिइरहेको खबर सुनाइदिए। रिसले आगो भएका अखिलेशले ऋषभ र अर्का एक साथीसँग मिलेर रितेशको हत्याको योजना बनाए। उनीहरूले रितेशको अपहरण गरी हत्या गरे।
अखिलेशले गम्छाले घाँटीमा कसेर रितेशको हत्या गरेको बयान प्रहरीलाई दिएका थिए। त्यसपछि शव बोरामा हालेर गोपालपुर भन्ने ठाउँमा खाल्डो खनेर पुरिदिएको बयान उनले प्रहरीलाई दिएको त्यतिखेर भारतीय अखबार दैनिक भाष्करले लेखेको थियो।
अस्मिता, पक्राउ परेका अस्मिताका पति अखिलेश भगत, अस्मिताका प्रेमी भनिएकाहरू ऋषभकुमार कुशवाहा र रितेश साह (बायाँबाट क्रमश:)
अखिलेशको बयान अनुसार यो घटनाको एक हप्ताभित्रै अस्मिता घर छाडेर हिँडेकी थिइन्। उनलाई खोज्दै अखिलेश चितवन आइपुगे। त्यहीँ आएपछि उनले अस्मिता र ऋषभबीचको सम्बन्ध थाहा पाए। उनीहरू भरतपुर–९ स्थित पूर्वपश्चिम राजमार्ग नजिकैको एक घरमा बसेका थिए। यहाँ ऋषभका काका नाता पर्नेको कोठा नजिकै उनीहरूले डेरा लिएका थिए।
एउटा हत्या गरेर आएका अखिलेश यो देखेर आक्रोशित भए र उनीहरूको पनि हत्या गर्ने योजना बनाए।
उनले मंसिर २ गते ऋषभ र अस्मिताको उनीहरू बसिरहेको कोठामै हत्या गरे। हत्यापछि, मंसिर ३ गते बिहान पौने १ बजेतिर एउटा शव र सवा १ बजेतिर अर्को शव पालैपालो साइकलमा लगेर लुकाएका थिए।
प्रहरीले मंसिर ६ गते बिहान पौने १ बजेतिर ती शव कल्भर्टमुनि फेला पारेको थियो।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले घटनास्थलको सुक्ष्म अध्ययन, प्राविधिक विश्लेषण, संकलित सूचना समेतको विश्लेषण गरी अनुसन्धान निष्कर्षमा पुर्याएको थियो।
निकै ठूलो प्रयास पछि अन्तरदेशीय अपराधको यो घटनामा मृतक र हत्यामा संलग्न व्यक्तिको पहिचान भएको थियो।
प्रहरीले मृतकको पहिचान गर्न सामाजिक सञ्जालको भरपुर प्रयोग गरेको थियो। लामो समयसम्म पहिचान नभएपछि प्रहरीले मृतकहरूको स्केच पनि सार्वजनिक गरेको थियो। उनीहरू भारतीय हुन सक्ने आशंकामा नेपाल प्रहरीले मृतक र साथमा भेटिएका सामग्रीका तस्बिर भारतका विभिन्न स्थानका प्रहरी कार्यालयहरूलाई पठाएको थियो।
अखिलेश भने चितवनको घटना लगत्तै फरार थिए। भारतीय प्रहरीसँग समन्वय गरी खोजतलास गर्दा उनीउपर भारतको प्रहरी थाना सुगौलीमा अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी 'एफआइआर' दर्ता भएको पाएको थियो।
रितेश हराएपछि रितेशका बुबाले सुगौली थानामा एफआइआर दर्ता गरेका थिए। त्यसमा रितेशलाई उनकी प्रेमिका अस्मिता र ऋषभ मिलेर अपहरण गरेको भनिएको थियो। त्यसपछि त्यहाँको प्रहरीले यो घटनाको विषयमा अनुसन्धान सुरू गरेको थियो।
भारतको प्रहरीले अनुसन्धान गरिरहेका बेला चितवनमा अस्मिता र ऋषभको शव फेला परेका थियो। यहाँ नेपाल प्रहरीको सूचनाको आधारमा भारतको प्रहरीले अखिलेशलाई पुस १६ गते पक्राउ गरेको थियो। अखिलेशले भनेको ठाउँमा गएर खन्दा रितेशको शव भने भेटिएको थिएन। प्रहरीले त्यहाँबाट रौं, नङ र औंलाहरू बरामद गरेको थियो।