करिब तीन वर्षकी आर्यतारा शाक्यलाई काठमाडौंकी नयाँ 'जीवित देवी' कुमारीका रूपमा मंगलबार वसन्तपुरको कुमारी घर भित्र्याइएको छ। उनको जन्म २०७९ पुस २६ गते भएको हो।
काठमाडौंका १८ महाविहारमध्ये शाक्य कूलको निर्धारित लक्षणयुक्त कन्यालाई विधिपूर्वक कुमारी बनाइन्छ।
यो परम्परा लिच्छवि कालदेखि चलिआएको भए पनि कुमारी घर निर्माण र रथयात्राको थालनी करिब २७० वर्षअघि अन्तिम मल्लराजा जयप्रकाश मल्लको पालामा भएको हो।
यति लामो समयदेखि चल्दै आएको परम्परा भए पनि कुमारीलाई लिएर समाजमा केही भ्रम छन्। उनीहरूले खेल्न पाउँदैनन्, हाँस्न पाउँदैनन्, रून पाउँदैनन् भन्ने धेरैलाई लाग्छ। सबभन्दा महत्त्वपूर्ण कुरा त, कुमारी भएपछि विवाह पनि गर्न पाइँदैन भन्ने धेरैलाई लाग्छ।
यो स्टोरीमा हामी त्यस्ता ६ वटा भ्रम र त्यसको वास्तविकताबारे चर्चा गर्दै छौं।
यसका लागि हामीले पूर्वकुमारीहरूको सूची तयार पारिरहेका प्रतापमान शाक्यसँग कुरा गरेका छौं। उनी २०६५ देखि २०७४ सालसम्म कुमारी रहेकी मतिना शाक्यका बुबा हुन्। 'जीवित देवी' को चोला उतारेपछि पूर्वकुमारीहरू कसरी आफ्नो जीवन बिताइरहेका छन् भन्नेबारे जानकारी संकलन गरिरहेको उनी बताउँछन्।
पहिलो भ्रम — कुमारी भएपछि पढ्न पाइँदैन!
कुमारी भएपछि बालिकाको पढाइ अवरूद्ध हुन्छ भन्ने धेरैमा भ्रम छ।
यो सत्य होइन।
कुमारीका लागि कुमारी घरभित्रै पढाउने व्यवस्था गरिएको हुन्छ। दिनहुँ १२ देखि ४ बजेको समय पढाइका लागि छुट्याइन्छ। त्यस अवधिमा कौशी तोषखाना र गुठी संस्थानद्वारा नियुक्त सरकारी शिक्षक आएर कुमारीलाई पढाउने गर्छन्।
२०३५ सालसम्म 'प्राइभेट' कक्षा सञ्चालन गरिन्थ्यो। त्यसयता सरकारी पाठ्यक्रमअनुसारै पढाइँदै आएको छ। स्कुलमा जसरी औपचारिक शिक्षा दिइन्छ, यहाँ पनि त्यही लागू हुन्छ।
कुमारीलाई पढाउन दिनहुँ एक जना शिक्षक आउने गर्छन्। विषयअनुसार शिक्षक फरक पर्छ।
दिउँसोको नियमित कक्षापछि बेलुकी पनि दुई घन्टा पढाइका लागि छुट्याइएको हुन्छ।
साँझ ६ देखि ७ बजेको समय कुमारी आफ्नो होमवर्क र पढ्ने काम गर्छिन्। त्यसपछि आधा घन्टा रातिको खाना खाएपछि साढे ७ देखि साढे ८ बजेसम्म फेरि होमवर्क र पढाइलेखाइ हुन्छ।
कुमारी घरबाट विदा भएर आफ्नो घर फर्केपछि पनि धेरैले अध्ययनलाई निरन्तरता दिएका छन्।
उदाहरणका लागि —
पूर्वकुमारी (२०६५–२०७४) मतिना शाक्य यति बेला बिबिए पढ्दै छिन्।
त्योभन्दा अगाडि २०४८ देखि २०५८ सालसम्म कुमारी रहेकी अमिता शाक्य स्कुलमा पढाउँछिन्।
त्यस्तै, २०४१ देखि २०४८ सालसम्म कुमारी भएकी रश्मिला शाक्य इन्जिनियर छिन्।
कतिलाई यसरी पढ्न पाउने चलन भर्खर भर्खरै सुरू भएको होला भन्ने लाग्ला। तर होइन।
प्रतापमान शाक्यले संकलन गरेका जीवित पूर्वकुमारीमध्ये सबभन्दा बढी उमेरकी हर्षलक्ष्मी शाक्य हुन्। २०१२ देखि २०१८ सालसम्म कुमारी भएकी उनी अहिले ७५ वर्षभन्दा बढी उमेरकी भइन्। उनी अवकाशप्राप्त नर्स हुन्।
दोस्रो भ्रम — कुमारी भएपछि खेल्न पाइँदैन!
कुमारी भएपछि बालिकालाई खेल्ने अनुमति हुँदैन भन्ने पनि धेरैलाई भ्रम छ।
यो पनि सत्य होइन।
दिउँसोको नियमित कक्षा सकिएपछिको समय कुमारीको 'फ्री टाइम' हो। त्यस बेला कुमारी अरू सामान्य केटाकेटीजस्तै क्यारम बोर्ड, ब्याडमिन्टन लगायत खेल्ने गर्छिन्।
उनीसँग खेल्न कुमारी घरका संरक्षक (चिताइदार) परिवारका केटाकेटी वा बाहिरका अरू केटाकेटी आउँछन्।
कुमारी भएपछि अरू बालिकाझैं बाहिर गएर खेल्न चाहिँ पाइँदैन। उनको खेलकुद र मनोरञ्जनको व्यवस्था कुमारी घरभित्रै गरिएको हुन्छ।
नवघोषित कुमारी आर्यतारा शाक्यका बुबा अनन्त शाक्य पनि कुमारीलाई साथीहरूसँग खेल्न रोकतोक नहुने बताउँछन्।
'कुमारी घरभित्रै औपचारिक शिक्षादेखि खेलकुदको व्यवस्था र अरू सबै सुविधा दिएर राखिन्छ,' उनी भन्छन्, 'कुमारी घरमा पनि आर्यताराको उस्तै हेरविचार हुनेछ। घरमा जसरी मायाप्रेमका साथ छोरी हुर्काइन्छ, कुमारी घरमा पनि उति नै मायाप्रेम पाउने छिन्।'
तेस्रो भ्रम — कुमारीलाई मोबाइल र इन्टरनेट हेर्न दिइँदैन!
कुमारी परम्परा जति लामो समयदेखि चल्दै आएको छ, त्यसको तुलनामा मोबाइल र इन्टरनेट सेवा सुरू भएको केही समयअघि मात्र हो।
तैपनि अचेलका केटाकेटीको जीवनशैली मोबाइल र इन्टरनेटबिना अधुरै हुन्छ। मोबाइल नहेरी खाना नखाने बानी भएका केटाकेटी हामी थुप्रै देख्छौं।
यस्तोमा कुमारीलाई यो सुविधाबाट वञ्चित गरिएको छ भन्ने धेरैलाई भ्रम छ।
यो पनि सत्य होइन।
पूर्वकुमारीहरूबारे अध्ययन गरिरहेका प्रतापमान शाक्यका अनुसार कुमारीलाई मोबाइल, इन्टरनेट सबै सुविधा दिइएको हुन्छ।
'सामान्य बालबालिका जसरी बाहिर आउन नपाउने मात्र हो। त्यसबाहेक अरू सामान्य केटाकेटी जे–जस्ता सुविधामा हुर्किन्छन्, कुमारीलाई ती सबै सुविधा कुमारी घरभित्रै उपलब्ध गराइन्छ,' उनले भने।
चौथो भ्रम — कुमारीले आफ्ना आमाबुबालाई भेट्न पाउँदैनन्!
कुमारी घरमा भित्रिएपछि आमाबुबा र परिवारका सदस्यसँग भेट्नै पाइँदैन वा साताको एक–दुई दिन मात्र भेट्न पाइन्छ भन्ने पनि धेरैलाई लाग्छ।
यो एकदमै झूटो कुरा हो।
कुमारीका आमाबुबा र अन्य आफन्तजनले साताको एक दिन मात्र होइन, हरेक दिन आफूलाई मन लागेका बेला भेट्न पाउँछन्।
नवघोषित कुमारी आर्यतारा शाक्यका बुबा अनन्त शाक्य पनि छोरीसँग भेटघाट गर्न कुनै छेकबार नहुने बताउँछन्।
'आमाबुबाले आफूलाई मन लागेका बेला छोरी भेट्न पाउँछन्। हाम्रो घर इतुम्बहाल हो, कुमारी घरबाट खासै टाढा छैन। जहिले मन लाग्यो, भेट्न जान पाउँछौं,' उनी भन्छन्।
पाँचौं भ्रम — कुमारी भएपछि हाँस्न पाइँदैन, रून पाइँदैन!
यो पनि कुमारीका सम्बन्धमा फैलिएको ठूलो भ्रम हो।
अरू सामान्य बालबालिका जस्तै कुमारीले पनि मन लागेका बेला हाँस्न र मन लागेका बेला रून पाउँछिन्।
यसबारे प्रतापमान शाक्य भन्छन्, 'कुमारीलाई हाँस्न कुनै बन्देज हुँदैन। उनीहरूले लुगा, गरगहना, श्रृंगार गरेर शक्तिको एउटा माला लगाउनुपर्छ। त्यो माला लगाएपछि एउटै मुद्रामा बस्नुपर्छ। त्यही भएर बाहिर सहर परिक्रमाका लागि निस्कँदा वा आसनमा बस्दा त्यति हाँसेको देखिन्न। तर हाँस्ने स्वतन्त्रता छ।'
उनका अनुसार कतिपय मानिसले कुमारीको पूजा गर्दा टाढाबाट सिक्का फाल्ने गर्छन्। रथयात्रामा पनि सिक्का फाल्ने गरिन्छ।
'त्यस्तो बेला सिक्काले लागेर कुमारीलाई दुख्छ र उनीहरू रून्छन्,' प्रतापमान भन्छन्, 'अरू बेला भने उनीहरू खासै रूँदैनन्।'
कुमारी असामान्य ढंगले धेरै समय रोइरहिन् भने त्यसलाई अनिष्टको संकेतका रूपमा पनि लिइन्छ।
प्रतापमानका अनुसार एकपटक पाटनकी पूर्वकुमारी चणिरा बज्राचार्य तीन दिनसम्म रोएको रोएकै गरिन्। त्यति बेला राजदरबार हत्याकाण्ड भएको थियो।
चणिराले विभिन्न पडकास्ट तथा कार्यक्रमहरूमा आफू कुमारी हुँदाको क्षणलाई 'जीवनको सबभन्दा सुन्दर क्षण' भनेर वर्णन गर्दै आएकी छन्।
'मैले भगवानको जीवन बाँच्न पाएँ र साधारण मानिसको पनि। त्यो पहिचान नै एकदम फरक खालको हुन्छ,' उनले एक पडकास्टमा भनेकी छन्, 'म अझै पनि कुमारी भएर जात्रामा गएको क्षण मिस गर्छु। मानिसहरू कहाँ–कहाँबाट पूजा गर्न आउँथे, त्यो सम्झना आउँछ। कुमारी भएकाले बेग्लै सम्मान पाइन्थ्यो। मानिसहरूले विशेष महसुस गराउनुहुन्थ्यो, त्यो अझै याद आउँछ।'
छैठौं भ्रम — कुमारी भएपछि विवाह गर्न पाइँदैन!
कुमारी भइसकेपछि जीवनभर विवाह गर्नुहुन्न भन्ने अन्धविश्वास पत्याएर बसेकाहरू पनि प्रशस्तै छन्।
तर यथार्थमा प्राय: सबै पूर्वकुमारीले विवाह गरेर पारिवारिक जीवन बिताइरहेका छन्।
'विवाह गर्ने वा नगर्ने भन्ने आ–आफ्नो इच्छाको कुरा हो। यसमा कुनै रोकतोक छैन,' प्रतापमान भन्छन्।
विक्रम सम्बत् १९९९ देखि २००६ सालसम्म कुमारी रहेकी नानीशोभा शाक्य ९० वर्षभन्दा बढी उमेर बाँचेर केही समयअघि मात्र बितिन्। उनले विवाह गरेकी थिइन्। उनका चार छोरा र दुई छोरी छन्।
त्योभन्दा अगाडि १९७९ देखि १९८० सालसम्म कुमारी रहेकी हीरामैया शाक्यले पनि विवाह गरेकी थिइन्।
त्यस्तै, चिनीशोभा शाक्य (१९८०–१९८८) र चन्द्रदेवी शाक्य (१९८८–१९९०) का दुई छोरी थिए भने दिलकुमारी शाक्य (१९९०–१९९९) का तीन छोरा र एक छोरी थिए।
२००७ सालभन्दा अगाडिका यी कुमारी मात्र होइन, त्यसयताका अधिकांश कुमारीले विवाह गरेर पारिवारिक जीवन बिताएको पाइन्छ।
***
यी पनि पढ्नुहोस्: