पश्चिमी वायुका कारण वर्षा भइरहे पनि नेपालमा मनसुनी वायु भित्रन अझै केही समय लाग्ने देखिएको छ।
भारतीय मौसम विज्ञान विभागले केही सूचकका आधारमा नेपालतर्फ पनि मनसुनी वायु सरेको देखाए पनि जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन भित्रिएको घोषणा गर्न सूचक नपुगेको जनाएको छ।
मौसमविद डेभिड ढकालले मनसुन भित्रन अझै केही समय लाग्ने जानकारी दिँदै मनसुन भित्रिसकेको घोषणा गर्न आवश्यक मापदण्ड पूरा नभएको बताए।
नेपालमा सरदर जुन १३ (जेठ ३०) गते मनसुन भित्रिने गरेकामा दुई दिन विलम्ब भइसकेको छ।
जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको आगमन, त्यसको फैलावट, तीव्रता, वायुमा जलवाष्पको मात्रा, बादल र वर्षाको व्यापकता आदिका आधारमा मनसुन भित्रिएको वा नभित्रिएको घोषणा गर्छ। यसमध्ये केही सूचकले मात्र मनसुन भित्रिएको संकेत दिइरहेको विभागले बताएको छ।
प्रशान्त महासागरमा विकास भएको एलनिनो प्रणालीका कारण पनि मनसुनको आगमन प्रभावित भएको हुनसक्ने मौसमविद ढकालले बताए। यसबारे विभागले आधिकारिक धारणा सार्वजनिक गर्न भने बाँकी छ।
'हामीले नियमित अवलोकन गरिरहेका छौं। मनसुन भित्रिएको घोषणा गर्न आवश्यक सूचक पूरा भइसकेको छैन। किन नभित्रिएको हो, कहिले भित्रिन्छ? यसबारे हामीले सोमबार साँझसम्म केही जानकारी दिन खोजेका छौं। सम्भवतः बुलेटिन या नोटिस जारी गर्छौं,' उनले भने।
मौसमविद विनोद पोखरेलले धेरै ठाउँमा वर्षा कम भए पनि नेपालमा पानी पर्ने क्रम नरोकिएको बताए।
सोमबारदेखि शुक्रबारसम्म थोरै ठाउँमा मात्र वर्षा हुने सम्भावना रहेको उनले बताएका छन्। शनिबारदेखि पूर्वी नेपालबाट राम्रै वर्षाको सुरूआत हुने उनको आकलन छ। अर्को सोमबार र मंगलबारसम्म मनसुन भित्रने सम्भावना रहेको उनको भनाइ छ।
मौसमविदहरूको भनाइलाई आधार मान्दा नेपालमा यसपटक मनसुन भित्रिन कम्तिमा एक साता ढिला हुने देखिएको छ।
अघिल्लो वर्ष सरदरभन्दा १५ दिन अगावै मनसुन भित्रिएको थियो। यसपटक औसतभन्दा कम वर्षा र बढी गर्मी हुने विभागले प्रक्षेपण गरेको छ।