२०७९ वैशाख २५ गते साँझ भरतपुरस्थित कृष्णपुर खेलकुद मैदान नजिकै ‘कान’ भनेर चिनिने अनिल परियारको हत्या भयो। गत जेठमा यो मुद्दामा चितवन जिल्ला अदालतले चार जनालाई जन्मकैदको सजाय सुनायो।
हत्यामा संलग्न केही व्यक्तिलाई खोज्न प्रहरीलाई वर्षभरि लागेको थियो। अभियुक्तलाई समात्न घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू भारतसम्म पुग्नुपरेको थियो। गत भदौ २५ गते बिहान भरतपुर कारागारबाट ७ सय ३९ जना कैदीबन्दीहरू बाहिर निस्किए। उनीहरूकै भीडमा थिए 'कान' को हत्यामा जन्मकैदको सजाय भोगिरहेका अजय भनिने अशोक भण्डारी, राहुल भनिने सुनिल राउत र तिलक गैरे पनि।
प्रहरीले उनीहरूको खोजी गरिरहेको छ। उनीहरू फेरि भारततिरै भागेको आशंका छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले धेरै कैदीहरू भागेर भारत प्रवेश गरिसकेको सूचना पाएको बताए।
खनालकाअनुसार प्रहरीले फरार रहेका कैदीहरूको खोजीलाई तीव्र बनाइरहेको छ।
भरतपुर कारागारमा रहेका ७ सय ३९ मध्ये १ सय ४३ जना कैदी अझै फरार छन्।
‘कैद सकिने बेला भएका, जाने ठाउँ नपाएका, केही इमानदारहरू आफै फर्किएर आए। लुकेकालाई हामीले हरेक दिनजसो समातेर कारागार बुझाइरहेका छौं,’ खनालले भने, ‘बाँकीको पनि खोजी भइरहेको छ। धेरै त भारततिर छिरिसकेको आशंका छ।’
डिएसपी खनालले धेरै दुःख गरेर नियन्त्रणमा लिइएका कैदीहरू पनि फरार रहेको बताए।
एक सिंगे गैंडाका कुख्यात सिकारी मानिएको सागर प्रजा भनेर चिनिने बिन्दर सिंह प्रजालाई नियन्त्रणमा लिन ११ वर्ष लागेको थियो।
चितवन राष्ट्रिय निकुञ्जले १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिबाना तोकेका उनी पक्राउ परेको करिब ४ वर्षमै कारागारबाट भागेका छन्। भरतपुर कारागारमा रहेका उनी सहितका १२ जना गैंडाका सिकारीहरू भागेका छन्। यसले वन्यजन्तुको संरक्षणमा समेत चुनौती थपेको छ।
‘अपराधीहरू बाहिर हुँदा सुरक्षा चुनौती थपिएको छ। उनीहरू फेरि अपराधमा संलग्न होलान् भन्ने भय समाजमा छ। त्यहीअनुसार हामीले सुरक्षा सतर्कता अपनाएका छौं। खोजी कार्यलाई अघि बढाइरहेका छौं,’ उनले भने, ‘फरार रहेका सबैको घरमा जानकारी गराइएको छ। त्यस वरपर निगरानी बढाइएको छ।’
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन प्रयास भइरहेको बताए। उनले भागेका कैदीलाई नियन्त्रणमा लिन प्रहरी र अध्यागमन विभागको सहयोग लिइएको जानकारी दिए।
‘हामीले भागेकाहरूलाई फर्कनका लागि समय दिएका थियौं। त्यो अवधिमा धेरै फर्किएका छन्। नफर्किएकालाई प्रहरीले खोजिरहेको छ। नेपाल बाहिर गएको आशंकामा हामीले अध्यागमनको पनि सहयोग मागेका छौं,’ निर्देशक न्यौपानेले सेतोपाटीसँग भने, ‘कारागारहरूले आफ्नै तरिकाले पनि कैदीबन्दी फर्काउन प्रयास गरिरहेका छन्।’
न्यौपानेले सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कैदीबन्दी पक्राउ कार्यदल बनेको जानकारी दिए। गृहमन्त्री स्तरीय निर्णयबाट बनेको यो कार्यदलले कैदी/बन्दीलाई नियन्त्रण लिन आवश्यक कामहरू गर्नेछ।
‘कारागार विभागले फरारको सूची अद्यावधिक गरिरहेको छ। यो सूचीअनुसार कार्यदलले खोजीलाई सशक्त बनाउँछ। सेवाग्राहीको बढी चहलपहल हुने कार्यालयहरूमा सूची नै टाँस्ने निर्णय भएको छ,’ न्यौपानेले भने, ‘जिल्लाहरूमा जिल्ला प्रशासन, मालपोत, नापी, स्थानीय तहका कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूमा फरार कैदीको सूची टाँसिनेछ। उपलब्ध भएसम्म फोटो पनि टाँस्ने हो।’
उनले फरार कैदीहरूको बारेको सूचना सर्वत्र प्रवाह गरेर समाउन प्रयास गर्ने बताए।
यसका अलावा कारागारहरूले भागेका कैदीको परिवारलाई नियमित सम्पर्क गर्ने गरेका छन्।
भरतपुर कारागारका प्रमुख रविन्द्र ढुंगानाले कैदीको परिवारलाई नियमित फोन सम्पर्क गर्नेदेखि कैदीबन्दीको नाम, ठेगाना, सम्पर्क नम्बर सार्वजनिक गरेर खोजीमा सघाउन सबैलाई आग्रह गरिएको जानकारी दिए।
भागेका कैदीहरूलाई फर्किएर आउन असोज २० गतेसम्मको समय दिएको थियो।
आफै फर्किनेलाई फरक व्यवहार नगर्ने जानकारी सहित गृह मन्त्रालयले कैदीहरूलाई कारागारमै फर्कन सार्वजनिक आह्वान गरेको थियो। समातेर ल्याउनुपर्ने आवस्थामा कैदीहरूलाई ऐनले तोकेअनुसार सजाय थप हुने विभागले जनाएको छ। निर्देशक न्यौपानेले कसुरको मात्रा हेरेर सजाय थप गरिने बताए।
कारागार व्यवस्थापन विभागकाअनुसार देशभरका कारागारबाट भागेकामध्ये ४ हजार ५ सय ४ जना कैदीहरु अहिले पनि (असोज ३० गतेसम्मको विवरण) फरार छन्। भदौ २४ गतेपछि ३५ वटा कारागारबाट १३ हजार ११४ जना कैदीबन्दीहरू भागेका थिए। भाग्ने क्रममा ९ जनाको मृत्यु भएको थियो। २५ जना घाइते भएका थिए।
फरारमध्ये भारतीय ५ सय ४२ जना छन्। चिनियाँ २४, बंगलादेशी १६, दक्षिण अफ्रिकी १०, म्यानमारका ६, उज्वेकिस्तान, बोलेभियाका, सुडान र पाकिस्तानका ४/४ जना छन्। यी बाहेक दर्जन बढी देशका कैदी/बन्दीहरु कारागारबाट भागेर फरार छन्।
केन्द्रीय कारागार जगन्नाथदेवलबाट ३ हजार ४ सय ५० जना कैदीहरु भागेका थिए। उनीहरुमध्ये १ हजार ७ सय २३ जना अझै फरार छन्। यहाँबाट मात्रै २ सय ४ जना भारतीय र १३ जना चिनियाँ भागेका छन्। १३ मध्ये १२ जना अवैध सुन चोरी पैठारी मुद्दामा सजाय काटिरहेकाहरू हुन्। एक जना जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका थिए। यस कारागारबाट अन्य विभिन्न देशका ७२ जना कैदी पनि फरार छन्।
नख्खु कारागारबाट ५ सय ७ जना कैदीबन्दी फरार रहेको विभागले जनाएको छ। उनीहरूमध्ये ६२ जना भारतीय र ८ जना चिनियाँ छन्। चिनियाँहरू ७ जनाले मुद्रा सटही मुद्दामा सजाय भोगिरहेका थिए। एक जना जबरजस्ती करणी मुद्दाका थिए। यहाँबाट भाग्ने बेलायती, अमेरिकी, बंगलादेशी र म्यानमारी पनि छन्। कास्की कारागारबाट पनि दुई जना चिनियाँ भागेका छन्। एक जना जबरजस्ती करणी र अर्का मानव बेचविखन मुद्दाका हुन्।
कारागार विभागले सार्वजनिक गरेको कैदीको सूचीमा सुनसरीको झुम्काबाट ४७, नवलपरासीबाट ३८, महोत्तरीबाट ३१, मकवानपुरबाट २७, बाँकेको नौबस्ताबाट १९, कैलालीबाट १८, कञ्चनपुरबाट १६, कपिलवस्तुबाट १४, चितवनबाट १२ (एक नाबालकसहित), रौतहट र कास्कीबाट ११/११, तुलसीपुरबाट ८, सप्तरीबाट ६, सिन्धुलीबाट ५, तनहुँबाट ३, म्याग्दी र दार्चुलाबाट १/१ जना भारतीय भागेका छन्।
कारागार व्यवस्थापन विभागका निर्देशक न्यौपानेले फरार रहेका विदेशी कैदीको विषयमा गृह मन्त्रालय मार्फत् सम्बन्धित देशहरूमा कुरा भइरहेको बताए। अध्यागमन विभागलाई फरार कैदीहरूलाई कालो सूचीमा राख्न अनुरोध गरिएको जानकारी उनले दिए।
‘कैदीहरू भागेपछि समाजमा त्रास बढेको छ। केही ठाउँमा त कैदीहरू अर्को घटनामा संलग्न भएको पनि भेटिएको छ। यस विषयमा हामी चिन्तित छौं। राज्यले पनि चासो देखाएको छ,’ उनले भने, ‘नेपालको घटनाको विषयमा अन्य देशहरूले पनि चासो देखाएका छन्। चिन्ता व्यक्त गरेका छन्। सबै मिलेर काम गर्नुपर्ने अवस्था छ।’
कैदीहरू बाहिर निस्किएपछि चोरीको घटना बढेको भन्दै विभिन्न ठाउँमा रातको समयमा स्थानीयबासीले नै गस्ती गर्ने गरेका छन्। जबरजस्ती करणी, कर्तव्य ज्यान लगायतका मुद्दामा करागारमा रहेका कैदी छुट्दा घरमा बस्न पनि डर भएको भन्दै कार्यालयमा गुनासो गर्न आउने बढेको इलाका प्रहरी कार्यालय गीतानगरकी प्रहरी निरीक्षक मिना राईले बताइन्।
ईलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी सुवास भट्ट कैदीहरू निस्किएसँगै आपराधिक घटनाहरू बढ्ने भएकाले प्रहरीले उच्च सतर्कता अपनाएको बताउँछन्।
‘चोरीका घटनाहरू बढेको गुनासो सुनिएको छ। हामीले भागेका कैदीको खोजीलाई तीव्रता दिएका छौं। धेरैलाई समातेका पनि छौं,’ उनले भने, ‘सजाय भोगिरहेकाहरूमा बदलाको भाव हुनसक्ने भएकाले कैदीहरूलाई जतिसक्दो छिटो नियन्त्रणमा लिनुपर्छ।’