चितवन, भरतपुर–९ का ६५ वर्षीय टीकाराम कँडेल ठेला चलाउँछन्। सिमेन्ट, रड, ढुंगा, गिटीजस्ता निर्माण सामग्री ओसार्नु उनको काम हो।
उनी ठेला चलाएबापतको आम्दानी दैनिक रूपमा साहारा चितवन सहकारी संस्थामा जम्मा गर्थे। सहकारीका कर्मचारी उनले तोकेको ठाउँमै पुगेर पैसा संकलन गर्थे।
तीन वर्षअघि उनी जब बचत रकम निकाल्न सहकारी संस्था पुगे, कार्यालय सुनसान थियो। गेटमा सुरक्षा गार्ड थिए। गार्ड पनि संस्थाका सञ्चालक, कर्मचारीको विषयमा अनभिज्ञ थिए।
'दुई छाक खाना पनि राम्ररी नखाई जम्मा गरेको रकम माग्दै हिँडेको ३ वर्ष हुन लाग्यो। पाउने कुनै छनक देखिँदैन,' टीकारामले भने, 'पैसा खानेलाई समात्नसम्म सकेनन्।'
सहकारीमा उनको बचत रकम २५ हजार रूपैयाँ थियो।
'केही दिनअघि मात्रै ९० हजार रूपैयाँ निकालेको थिएँ। बाँकी पैसा पनि घरायसी कामका लागि चाहियो भनेर निकाल्न गएको थिएँ। कार्यालयमा कर्मचारी नै भेटिएनन्। त्यसपछि धेरै पटक धाएँ,' उनले भने, 'राम्रै ठाउँ हो भनेर जम्मा गरेको थिएँ। कहाँनेर पुगेर धोका भयो, मेसै पाइनँ।'
भरतपुर, शरदपुरकी कमलादेवी कँडेलले पनि श्रीमानले दुबईमा रोजगारी गरेर कमाएको पैसा साहारा सहकारी संस्थामा जम्मा गरेकी थिइन्। रकम फिर्ता नपाउँदा अहिले छोरीहरूलाई पढाउन पनि मुस्किल भएको उनले सुनाइन्।
'सहकारीका मान्छे राम्रो ब्याज दिन्छु भनेर तारन्तार फोन गर्थे। छोरीहरूले सहकारीको भर हुन्न भन्दाभन्दै मैले लगेर राखेँ। अहिले तिनै छोरी पढाउन धौधौ भइरहेको छ। उनीहरूलाई जबाफ दिन पनि सकेकी छैन,' कमलाले भनिन्, 'राम्रो ब्याजको लोभमा पारेर ठगहरूले बर्बाद बनाए।'
नारायणघाटका निलकण्ठ तिवारीले गोरखाको बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्राप्त मुआब्जाको रकम साहारा चितवन र नेपाल सहकारी संस्थामा जम्मा गरेका थिए।
दुई सहकारीमा उनको ५६ लाख रूपैयाँ बचत थियो।
'४२ महिना भयो आफ्नो पैसा फिर्ता माग्न हिँडेको। तनावै तनावले बिरामी हुन थालेँ तर पैसा पाउन सकिएन,' निलकण्ठले भने, 'सर्वसाधारणको पैसा मिलिभगत गरेर खाए। अहिले न नेताले सुन्छन् न सरकारले सुन्छ।'
साहारा चितवनमा चार करोड रूपैयाँसम्म जम्मा गर्नेहरू छन्। सनराइज सहकारीमा ३ करोड रूपैयाँसम्म जम्मा गर्ने छन्।
नारायणघाटको पुतलीबजारका चन्द्रकुमार श्रेष्ठले सनराइज सहकारीमा ३ वर्षभन्दा बढी समय कारोबार गरे।
उनको एक करोड रूपैयाँभन्दा बढी रकम उक्त सहकारीमा डुबेको छ।
चन्द्रका अनुसार सहकारी संस्था डुब्ने निश्चित भएपछि उनीहरू अध्यक्ष गीता बस्नेतलाई खोज्दै बर्दियामा रहेको उनको कृष्णसार रिसोर्टमै पुगेका थिए। उनले यो रिसोर्ट, अरू जमिन बेचेर भए पनि बचत रकम फिर्ता गर्छु, चिन्ता नगर्नू भनेकी थिइन्।
'उनले ठगी गरेको स्पष्ट देखिएको छ। तर उनीबाट पैसा फिर्ता गराउन राज्य वास्तै गर्दैन,' चन्द्रले भने, 'अध्यक्ष धरौटीमा छुटेपछि थुनिएका अरू सञ्चालक पनि उत्साहित भएका छन्। पैसा नतिरी उम्किन पाइने भयो भनेर खुसी भएको सुनेको छु।'
अहिलेको कानुनले नमिल्ने भए सरकारले अध्यादेश ल्याएर भने पनि सहकारी संस्थाको बचत रकम फिर्ता गर्नुपर्ने उनी बताउँछन्।
सनराइज सहकारीमा २३ लाख १८ हजार रूपैयाँ जम्मा गरेका भरतपुर–३ का किराना व्यवसायी तुलसीराम सापकोटा ठगीमा संलग्न रहेकाको सम्पत्ति लिलाम गरेर पीडित बचतकर्तालाई वितरण गर्नुपर्ने बताउँछन्।
'यस विषयमा स्थानीय तहले पनि पहलकदमी लिनुपर्ने हो। तर भरतपुर महानगरपालिकाले एउटा प्रतिवेदन बनाउने बाहेक केही काम गरेको छैन,' उनले भने, 'न्यायको आशमा महानगर, प्रहरी, सरकारी वकिल र अदालत धाउने मात्रै काम भएको छ हाम्रो।'
मजदुरी गरेर कामाउने टीकाराम कँडेलदेखि राम्रो ब्याजको आशमा पैसा जम्मा गर्ने लाखौं बचतकर्ताहरू देशका विभिन्न सहकारी संस्थाबाट ठगिएका छन्।
साहारा चितवन सहकारीबाट मात्रै ७ हजार जना बचतकर्ता ठगिएको संघर्ष समितिका संयोजक शालिकराम दुवाडी बताउँछन्।
चितवनकै सनराइज सहकारीको मुख्य कार्यालय लायन्स चोक, सेवा केन्द्रहरू पार्वतीपुर, चनौली र विकास चोकबाट ठगिनेहरू २२ हजार ४ सय जनाभन्दा बढी छन्।
'विगतका सबै सरकारका प्रधानमन्त्री, गृहमन्त्रीलाई भेटेर हाम्रा समस्या राखियो। तर कसैले पनि बचत रकम फिर्ता गर्न पहल गरेनन्। ठगहरू खुलेआम हिँडिरहँदा पनि समातेनन्। चितवनको प्रहरीले त एक जनालाई पनि समात्न सकेको छैन,' शालिकरामले भने, 'अहिले विद्रोहबाट आएको सरकारबाट धेरै आशा थियो। तर यो सरकार पनि सहकारी ठगीको विषयमा एक शब्द बोलेन।'
साहारा सहकारी संस्थाको ठगीमा संलग्न ३८ जनामध्ये अहिलेसम्म रवि लामिछाने र छविलाल जोशी मात्रै पक्राउ परेका छन्। उक्त सहकारीका अध्यक्ष जिबी राई फरार छन्।
सनराइज सहकारी संस्थाको बचत रकम ठगीमा संलग्न २१ जनामध्ये ४ जना पक्राउ परेका छन्। अध्यक्ष गीता बस्नेत धरौटी बुझाएर छुटेकी छन्।
'हामीलाई त सरकारमै रहेका मान्छेमाथि पो शंका लाग्न थाल्यो। ठगलाई समातेर बचत रकम फिर्ता गरिदेऊ भनेर वर्षौंदेखि हारगुहार गर्दा पनि वास्ता नगर्नुको पछाडि केही न केही कुरा त अवश्य हुनुपर्छ,' शालिकरामले भने।
साहारा चितवनमा बचतकर्ताहरूको ५२ करोड ३२ लाख ८५ हजार रूपैयाँ र सनराइज सहकारीमा ९० करोड रूपैयाँभन्दा बढी बचत थियो।
चितवनकै शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले एक हजार ८ सय जना बचतकर्ताको ६६ करोड चार लाख ७० हजार रूपैयाँ ठगी गरेको पुष्टि भएको थियो।
साहारा चितवन सहकारीमा २५ लाख रूपैयाँ बचत गरेका अर्घाखाँचीका विनोद आचार्य संकटग्रस्त घोषणा गरेर पीडितको रकम फिर्ता गर्नुपर्ने बताउँछन्।
संकटग्रस्त घोषणा गर्न आवश्यक पर्ने कागजात जुटाउन बचतकर्ताहरू तयार रहेको उनले बताए।
'हामीसँग सबै कागजात छ। थप चाहिए खोज्छौं। तर सरकारले हामीलाई ठग्ने सहकारी संस्थालाई संकटग्रस्त घोषणा गरिदिनुपर्यो,' उनी भन्छन्, 'विद्रोहबाट जन्मिएको सरकारले यति त गर्ला नि भन्ने आशा छ।'
संघर्ष समितिका संयोजक शालिकराम दुवाडी सहकारीका ऋणीले ऋण तिर्छु भन्दा पनि बुझिदिने निकाय नभएको गुनासो गरे।
साहारा चितवन सहकारीको बजारमा ४ करोड रूपैयाँ लगानी रहेको उनले बताए।
'जिबी राई लगायतका सञ्चालकहरूको सम्पत्ति रोक्का छ। त्यो लिलाम प्रक्रियामा लगेर बचत फिर्ता गर्दा पनि हुन्छ। लगानी रकम उठाएर फिर्ता गर्न पनि सकिन्छ,' उनले भने, 'सरकारले चाह्यो भने नहुने कुरै छैन। तर हाम्रो समस्या प्राथमिकतामै पारिएन।'
सहकारीबाट ठगिएकाहरूले आफ्नो समस्या समाधानमा बेवास्ता गरिए आगामी निर्वाचनमा बदला लिने चेतावनी पनि उनले दिए।
'चुनाव आउँदैछ। होसियार भएर भोट माग्न आउनुहोला। सहकारी पीडितको घरमा भोट माग्दा अझै होसियार हुनुहोला,' शालिकरामले भने, 'नेपाली कागजमा हाम्रो समस्या सम्बोधन गर्छु भनेर हस्ताक्षर गर्नेलाई मात्रै भोट दिन्छौं।'