नील आफूलाई बाइसेक्सुअल भनेर चिनाउँछन्।
उनको यो पहिचान परिवार र केही साथीलाई मात्र थाहा छ। उनी आफ्नो पहिचान सार्वजनिक गर्न चाहँदैनन्।
तर उनको यो चाहना उनकै निकट कतिपय व्यक्तिले बुझिदिँदैनन्।
'हिजोका दिनमा साथी तथा प्रेमिका सोचेर आफ्ना मनका कुरा भनेँ। अहिले उनीहरू नै मेरो पहिचान खोलिदिन्छु भन्दै धम्की दिइरहेका छन्,' नीलले भने।
सिन्धुली हरिहरपुरगढी गाउँपालिकामा जन्मिएका नील घरका सात सन्तानमध्ये चौथो हुन्। उनका तीन दाजु र दुई बहिनी छन्।
नीलले दस कक्षासम्म घरगाउँमै पढे र एसएलसी दिएपछि काठमाडौं आए। काठमाडौं कलंकी नजिकैको कलेजबाट प्लस–टू पास गरे।
त्यति बेला उनले आफ्नो शरीर र मनमा भइरहेको परिवर्तन महसुस गर्न थालिसकेका थिए।
'१६–१७ वर्षको हुँदादेखि भावनात्मक रूपमा परिवर्तन आएको थियो,' नीलले भने, 'केटीहरूसँग जस्तै केटाहरूसँग पनि बोल्न, नजिक हुन लाज लागेजस्तो हुन्थ्यो। केटा भएर पनि किन यस्तो लागेको होला भन्ने हुन्थ्यो।'
उनले यसबारे कसैसँग कुरा भने गरेनन्।
पछि उनले सामाजिक सञ्जालहरूमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे देखे। उनको रूचि बढ्यो। उनी सो समुदायसँग सम्बन्धित समाचार तथा लेखहरू पढ्न थाले।
उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका निम्ति काम गर्ने संस्था ब्लू डाइमन्ड सोसाइटी (नील हिरा समाज) बारे पनि थाहा पाए। उनी थप बुझ्न आफै ब्लू डाइमन्डको कार्यालय पुगे। त्यहाँ गएर आफ्नो मनमा गुम्सेका, अलमल भएका सबै कुरा बताए।
कोही पुरूष महिलाका साथै पुरूषसँग पनि आकर्षित हुनुलाई बाइसेक्सुअल (उभयलिंगी वा द्विलैंगिक) भनिन्छ भन्ने नीललाई थाहा भयो।
'मैले म पनि बाइसेक्सुअल रहेछु भन्ने बुझेँ,' उनले भने।
त्यति बेला नील २१ वर्ष उमेरका थिए।
वर्षौंदेखि आफ्नो भावनाबारे उनको अलमल प्रस्ट भए पनि उनी खुल्न सकेनन्।
'गाउँसमाजले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई स्वीकार नगरेको, नराम्रो व्यवहार गरेको देखेको थिएँ। मलाई पनि त्यस्तै होला भनेर पहिचान लुकाइरहेँ। सामान्य केटाकै रूपमा बाँच्ने प्रयास गरेँ,' उनले भने, 'तर गाह्रो हुने रहेछ।'
सात वर्षसम्म उनले अरू मानिस मात्र होइन, आफूलाई समेत भ्रममा राखे। तर मन थामिएन। बेचैनीले खान थाल्यो। अन्तिममा उनले आफ्नो मनको सुने र वास्तविक पहिचानलाई स्वीकार गरेर बाँच्ने निधो गरे।
नीलले हिम्मत जुटाए र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका साथीहरूसँग घुलमिल हुन थाले। आफ्नो मन खोलेपछि उनलाई धेरै हलुका भयो।
'दुई वर्ष भयो मैले आफ्ना समुदायका र एकदमै नजिकका साथीहरूसँग आफ्नो पहिचान भन्न थालेको,' नीलले भने, 'समुदायभित्रकाले त भावना बुझ्छन्।'
यसको केही महिनापछि उनको चिनजान सिन्धुपाल्चोककी एक ट्रान्सवुमन (पारलैंगिक महिला) सँग भयो। उनको शारीरिक बनावट पुरूषको भए पनि उनी भावनात्मक रूपमा महिला थिइन्।
उनीहरूको भावना र मन मिल्यो। दुवै जना सँगै बस्न थाले।
केही समयपछि नीलले प्रेमिकालाई आफ्नो घर लगे। नीलका बुबा बितिसकेका छन्, आमा मात्र छिन्।
'उनले घरको सबै काम गरिन्, बुहारीको भूमिका निर्वाह गरिन्। आमाले मलाई उनीबारे सोध्नुभयो। मैले आफ्नो पहिचान खुलाएँ र उनी मेरी प्रेमिका हुन् भनेँ,' नीलले हाँस्दै सुनाए, 'आमाले त हामी साथी साथी होला, छोरा भएर पनि घरको सब काम गर्ने रहेछ भन्ने सोच्नुभएको रहेछ। हाम्रो प्रेम सम्बन्ध छ भन्ने थाहा पाएर अचम्म पर्नुभयो।'
आमालाई यौनिक तथा अल्पसंख्यक समुदायबारे केही जानकारी थिएन। त्यसैले नीललाई 'मनलाग्दी नगर्' भनिन्। तर बिस्तारै उनले समुदायका अन्य साथीहरूसँग पनि आमाको कुराकानी गराए। अनि बुझाउँदै गए। छोराको खुसीमा आमा पनि खुसी भइन्।
नीलका दाजुबहिनीले भने उनको पहिचान स्वीकार गरेनन्। त्यसैले उनी घरमा बस्न सकेनन्। प्रेमिकालाई लिएर काठमाडौं आए। दुवैले आफ्नो पहिचान लुकाएर काम गरेर बसे।
'एक वर्षजति सँगै बसेपछि हाम्रो सम्बन्धमा खटपट हुन थाल्यो। अनि उनी छुट्टिइन्,' उनले भने, 'हाम्रो नियमित र सौहार्द सम्पर्क छैन। कहिलेकाहीँ फोन गरेर पहिचान सार्वजनिक गरिदिन्छु भन्दै धम्की दिन्छिन्।'
छुटेको सात महिना भइसके पनि प्रेमिकाले आफूलाई धम्क्याइरहेको नीलको भनाइ छ।
'तँ कस्तो मान्छे होस्, सबैलाई भनिदिन्छु भन्छिन्। अब यो धम्कीको उजुरी लिएर प्रहरीकोमा जाऊँ, मेरो पहिचान खुल्ने डर छ। नजाऊँ, धम्की आइरहन्छ। बेला बेला पैसा मागिरहन्छिन्। पहिले पहिले त दिएँ, अचेल दिन्नँ। त्यसैले पनि पहिचान खोलिदिन्छु भन्दै धम्की दिएकी हुन्,' नीलले भने।
नीलका अनुसार उनीसँग पूर्वप्रेमिकाले धम्कीसहित पठाएका म्यासेज, कलका प्रमाण छन्। तर प्रहरीकहाँ जाने हिम्मत छैन।
'एक त हाम्रो समुदायका व्यक्तिलाई प्रहरीले खासै वास्ता गर्दैन। गरिहाले पनि गोपनीयता कायम गरिदिँदैन,' उनले भने, 'मेरा कतिपय साथीहरू समस्या लिएर प्रहरीकहाँ जाँदा उल्टो दुर्व्यवहार भोगेका छन्। गोप्य राख्नु भनेको परिचय सार्वजनिक गरिदिन्छन्। त्यसैले प्रहरीकोमा जान डर लाग्छ।'
अहिले आफ्नोबारे थाहा पाएका केही मानिसको घृणा र दुर्व्यवहारले नै आफ्नो मन दुखिरहेको नील बताउँछन्। केही गरी आफ्नो पहिचान सार्वजनिक भयो वा अझै धेरैलाई थाहा भयो भने उनीहरूको तिरस्कार सहन नसक्ने उनी बताउँछन्।
'साथी बनेपछि पहिचान खुलाउँदा सम्बन्ध तोडिएको अनुभव छ,' नीलले भने, 'त्यसैले पहिचान गोप्य राखेरै दोहोरो जिन्दगी बाँच्ने सोचेको छु।'