जनरल प्राक्टिस भनेको मेडिसिनको अभिन्न अंग हो। यो नेपालबाट सुरू नभई विकसित देशबाट भएको अभ्यास पनि हो। यो प्रमुख र पुरानो विधा मध्येको एउटा हो।
एउटा डाक्टरले धेरै रोगको बारेमा जानकारी राखेर बिरामीको उपचार गर्ने भन्ने मान्यता यो पद्धतिमा राखिन्छ। जनरल प्राक्टिसनरबाट सम्भव नभएमा मात्र उसले विज्ञ चिकित्सकलाई रिफर गर्नुपर्छ भन्ने हो। नेपालमा जनरल प्राक्टिसनरको लागि स्नातकोत्तरको पढाइ पनि हुन्छ।
बिरामी हुनसाथ सबभन्दा पहिला कहाँ जाने त भन्ने प्रश्न आउँछ। त्यो पहिलो जाने भनेको जनरल प्राक्टिसनरकोमा हो। जनरल प्राक्टिसनरले हेरेर त्यहाँ सम्भव हुने उपचारहरू प्रयोग गरेर बिरामीको उपचार सम्भव हुन्छ कि हुँदैन भनेर हेरिन्छ। त्यो हेरिसकेपछि बिरामी निको हुनसक्ने अवस्था छ या त्यहाँ उपचार गर्न सम्भव नभएर बिरामीलाई रिफर गर्ने भनेर जनरल प्राक्टिसनरले निर्णय गर्छ।
बिरामीको राम्रोसँग परीक्षण गर्ने अनि हिस्ट्री लिने हो भने ७० प्रतिशत बिरामीको उपचार प्राथमिक तहमै ठिक हुन्छ। तर पछिल्लो समय विज्ञ चिकित्सकको पहुँच बढ्दा कतिपय बिरामी सिधैं चिकित्सककोमा जाने भएकाले यसै भन्न सकिँदैन।
जनरल प्राक्टिसनर (जिपी) हरूको नेटवर्क बनाएर उनीहरूको कार्यक्षेत्र तोक्न सकियो भने धेरैभन्दा धेरै बिरामीले नजिकको संस्थामा परीक्षण गर्न सक्छन्। अनि उनीहरूको लागि फलोअपको पनि राम्रो सुविधा हुन्छ।
यस्तो गर्न सकेमा आफ्नो बसोबास गरेको क्षेत्रबाट नजिक हुन्छ भने खर्च पनि कम हुन्छ। अर्थात् बिरामीलाई सहज र सुलभ तरिकाले सेवा दिन सकिन्छ। बिरामीलाई अनावश्यक रिफरल रोक्न पनि यो सेवा जरूरी छ। यस्तो गर्न सक्दा सरकारको आर्थिक भार पनि धेरै नै कम हुन्छ।
बेलायत, अस्ट्रेलिया जस्ता देशमा यसको अभ्यास धेरै छ। नेपालमा पनि उतैबाट सिकिएको हो तर यसलाई उता जस्तो कार्यान्वयन गर्न सकिएको छैन। जनरल प्राक्टिसनर (जिपी) भनेका फेमिली डाक्टर पनि हुन्। जिपीसँग बिरामीको रेकर्ड हुने भएकाले सरकारलाई पनि सजिलो हुन्छ। उनीहरूसँग परिवारकै रेकर्ड हुने भएकाले वंशानुगत समस्याबारे थाहा पाउन समेत सम्भव हुन्छ।
जनरल प्राक्टिसनरको कारणले बिरामीमा हुने अलमललाई समेत व्यवस्थित गर्न सकिन्छ। जस्तो: कतिपय बिरामीमा धेरैतिरको राय लिने अनि कसैको विश्वास नगर्ने र औषधि समेत समयमा नखाने समस्या हुन्छ। त्यस्ता बिरामीलाई समेत जनरल प्राक्टिसनरको निगरानीमा उपचार गराउन सकिन्छ।
यसले नियमित स्वास्थ्य परीक्षण गर्ने बारेमा सचेतना समेत बढाउँछ। अनि विशेषज्ञ सेवा भएका अस्पतालहरूको भार समेत कम गर्छ। जस्तो: पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्नलाई क्यान्सर अस्पताल जानुपर्छ भन्ने हुँदैन। अर्थात् क्यान्सरको जोखिममा रहेका बिरामीलाई नजिकैको स्वास्थ्य केन्द्रमा स्क्रिनिङ गरिन्छ। जनरल प्राक्टिसनरको अवधारणा भनेकै कुनै पनि रोग सुरूआती चरणमै पत्ता लागोस् भन्ने पनि हो।
कुन बिरामी, कस्तो रोगबाट पीडित छन् भन्ने डाटा संकलन गर्न पनि समभव हुन्छ। यसले सरकारको नीति निर्माणमा समेत सहयोग पुर्याउँछ भने राज्यका लागि बजेटको व्यवस्था गर्न पनि सहज हुन्छ। यस्तो व्यवस्था गर्न सकेमा तल्लो तहमा स्वास्थ्य सुधार्न सहज हुन्छ।
विशेषज्ञलाई पनि सहज हुन्छ किनकि वास्तविक बिरामीका लागि उनीहरूले समय दिन सक्छन्।
जनरल प्राक्टिसनर उत्पादन गर्ने सवालमा सरकार पनि अलि अलमलिएको देखिन्छ। जिपीहरू आफैमा विशेषज्ञ हुन्। हामीले प्राथमिक हेरचाहलाई व्यावहारिक रूपमा प्रयोग गर्न सक्यौं भने दीर्घकालीन रूपमा धेरै फाइदा हुन्छ।
(जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विशेषज्ञ प्रा.डा.दयाराम लम्साल चितवन मेडिकल कलेजका निर्देशक समेत हुन्।)