पोखराकी उद्यमी किरण गौतमका लागि पानी कहिल्यै सामान्य थिएन। २३ वर्षअघि हजुरबुबा बितेपछि कपडा धुन उनी फेवाताल गइन्। लेउ लागेको ढुङ्गाबाट चिप्लिएर अचानक उनी डुब्न पुगिन्। उनले हात हल्लाइन्। पानी खाइन्। अत्तालिएर तालमा हेलिइन्। उनको श्वास अड्कियो। काकीले उनको हात समातेर बाहिर तानिन्।
‘त्यो दिनदेखि मलाई पानीसँग असाध्यै डर थियो। म सायद अब बाँच्दिनँ होला भनेर आत्तिएकी थिएँ,’ उनले भनिन्, ‘धन्न ठुलो कालबाट बाँचेँ।’
गत शनिबार उनै किरण कालीगण्डकी नदीमा राफ्टिङ गर्न पुगिन्। म्याग्दीको बेनीदेखि मालढुङ्गासम्मको खण्डमा कालीगण्डकीले कतै भूमरी पारेको थियो त कतै गहिरो भएर जमेको थियो। अझै भिरालो ठाउँमा नदीको बेग उच्च थियो। विदेशी पर्यटकको रोजाइमा परेको कालीगण्डकीमा नेपालीका लागि पनि छोटो जलयात्रा गराउन पोखरा महानगरपालिकाले गठन गरेको पर्यटन भ्रमण वर्ष समितिले राफ्टिङ कार्यक्रम आयोजना गरेको थियो।
कालीगण्डकीमा राफ्टिङ गर्न जानेहरू अधिकांश पहिलो पटक जलयात्रामा भाग लिएका थिए।
कार्यक्रममा सहभागी मात्र भएर फर्कने सोच बनाएकी किरणलाई साथीहरूले प्रोत्साहन दिए। जलयात्राको निर्णय गर्न उनलाई सजिलो भएन।
‘राफ्टिङ गर्छु भनेर आएकी थिइनँ। कार्यक्रममा सहभागी मात्र भएर फर्कन खोजेको थिएँ,’ उनले भनिन्, ‘गाइडले राफ्टिङ गर्दा अपनाउनुपर्ने तौरतरिका र सुरक्षाका उपाय सिकाउँदा पनि एकदम डराएकी थिएँ।’
राफ्टमा चढेर जलयात्री नदीमा हेलिए। पानीको तालसँगै बहनुको आनन्द छुट्टै थियो। किरणको मनमा भने डर मात्र। जब जब नदीका भिरालो छालहरूमा बहँदै राफ्ट पुग्छ, छालले यात्रीलाई पनि भिजाउन थाल्छ। यसरी भिज्दा पनि किरणको मनको डर पखालिएको थिएन। पटक पटक यस्तै अवस्था पार गरेपछि उनको डर पनि पखालिँदै गयो। अनि बल्ल उनी रमाउन थालिन्।
‘समथर ठाउँमा सलल नदी बगेको ठाउँमा त खासै डर लागेन, भिरालोमा पानीको छालले जब भिजाउँथ्यो, एकदम डर लाग्यो,’ उनले भनिन्, ‘२, ३ वटा यस्ता छाल पार गरेपछि मात्र मज्जाले रमाउन थालें।’
राफ्टिङ गर्दा नदीका छालले जलयात्रीका शरीर भिजायो। नदीबाट उछिट्टिएर आएको छालले यसरी भिजाउँदा यात्रीहरु खुशीले चिच्याउँथे। किरण पनि चिच्याउन थालिन्। एक अर्कालाई पानी छ्याप्न थालिन्।
पोखराकै अर्की उद्यमी शोभा न्यौपाने राफ्टिङ गर्दागर्दै समथर ठाउँको पानीमा हामफालिन्। उनलाई पौडिन आउँथ्यो। केहीबेर नदीमा पौडिर फेरि राफ्टिङ चढिन्। अर्की उद्यमी ममता न्यौपानेले भने यसअघि पोखराकै सेती नदीमा राफ्टिङ गरेकी रहिछिन्। सेतीको साँघुरो खोँचमा भन्दा कालीगण्डकीको फराकिलो, ठुलो र गहिरो नदीमा राफ्टिङ गर्दाको आनन्द छुट्टै मिलेको बताइन्। यसअघि विदेशीले मात्र कालीगण्डकीमा राफ्टिङ गरेको देखेकी ममताले सोचेभन्दा धेरै रमाइलो भएको अनुभव सुनाइन्।
नदीमा पौडिन र नदीसँगसँगै बहनुका आनन्द एकातिर छँदैछ। पोखरा १७ की वडाध्यक्ष राधिका शाहीका लागि भने नदी तर्न गर्नुपरेका दु:खको स्मृति पनि ताजै छ। कर्णालीको कालीकोटमा जन्मिएकी राधिका सानो उमेरमा अभिभावकको साथ लागेर कर्णाली नदी पार गरेको अनुभव कालीगण्डकीमा सुनाइन्।
२०४९ सालतिर उनी हाटबजार जान कैलालीको चिसापानी पुग्नुपथ्र्यो। त्यतिबेला कर्णालीमा पुल थिएन। रूखको नाउ बनाएर नदी पार गर्नुपथ्र्यो। डोकाभरी सामान, खानेकुरा, बास बस्ने बन्दोबस्ती राखेर उनी नाउ चढिन्। कर्णाली नदीको बाटो भएर उनी चिसापानी पुगेकी थिइन्।
‘त्यतिबेला पनि हामीले कर्णालीमा विदेशीले कायाकिङ गरेको देखेका थियौं। हामी त मनोरञ्जनका लागि भन्दा पनि बाँच्नका लागि नाउ चढ्नुपरेको थियो,’ उनले भनिन्, ‘यसरी नदीमा बहनुको आनन्द त्यतिबेला महसुस नै गरिएन।’
यसरी नदीसँग खेल्नु सजिलो छैन। नदीका आफ्नै नियमहरू छन्। त्यसलाई मानिसले अस्वीकार गर्न सक्दैन। कालीगण्डकीमा राफ्टिङ गर्दा पनि गाइडले खोलामा खसेको अवस्थामा कसरी उद्धार गर्ने र खसेको व्यक्तिले के गर्ने भनेर सिकाएको थियो। सकेसम्म खस्न नपर्ने तरिका पनि सिकाएको थियो।
राफ्टिङका क्रममा ठुलो भेल बगेको ठाउँमा लेकसाइडका व्यवसायी हरि भुजेल राफ्टबाट नदीमा खस्न पुगे। नदीको बेगवान छालले राफ्ट आधा कोल्टिएका बेला उनी खस्न पुगे। उनी नखसेका भए डुङ्गा पल्टन सक्ने अवस्था आएको भुजेल बताउँछन्।
‘हाम्रो राफ्ट नदीको ठुलो भंगालोमा आधा कोल्टिएको थियो। म नखसेको भए राफ्ट नै पल्टिन सक्ने अवस्था थियो,’ उनले भने, ‘नदीमा खसेपछि केहीबेर निकै आत्तिएँ।’
फेवातालमा पौडी खेलेर हुर्किएका भुजेललाई नदीमा पौडिन पनि सजिलो थिएन। उनी खसेको ठाउँमा ठुला ठुला ढुङ्गाका खोँच थिए। नदीको बेग उच्च थियो। उनले गाइडले सिकाए अनुसार लाइफ ज्याकेटको मद्धतले उत्रिए र हातमाथि दिए। नदीमा डुब्दा पनि उनले पानी खाएनन्। श्वास रोकेर राखे।
‘हाम्रो राफ्ट म खसेको ठाउँमा आएर उद्धार गर्यो। म नखसेको भए डुङ्गा पल्टिएर हामी सबै नदीमा खस्न सक्थ्यौं भन्ने कुराले राहत मिलेको छ।’
१८ वर्षदेखि नेपालका विभिन्न नदीमा पर्यटकलाई राफ्टिङ गराइसकेका गाइड जय पुन थापाले नदीमा पानीको बहाव अनुसार विभिन्न अवस्थाको ब्याख्या गर्छन्। पानी ठाडो भएर तीव्र गतिमा बगेको ठाउँलाई उनी र्यापिड भन्छन्। केही ठाउँमा भूमरी परेको बसेको पानी हुन्छ भने केही ठाउँमा उम्लिएको पानी जस्तो बुलबुल परेको ठाउँलाई ‘बोइलिङ वाटर’ भनिने उनले बताए। अर्को, ढुङ्गा र रूखमुनिबाट पानी बगेको ठाउँलाई ‘अण्डरकट’ भन्छन्। यसमध्ये अण्डरकट बढी खतरनाक हुने जय बताउँछन्।
‘अण्डरकटमा सबैभन्दा होसियारी हुनुपर्छ, यो खतरनाक हुन्छ,’ उनले भने, ‘राफ्टिङ गर्दा सबैभन्दा आनन्द आउने ठाउँ चाँही र्यापिड हो। र मुख्य एडभेन्चर पनि यही हो।’
राफ्टिङ गर्दा गाइडले भने अनुसार जलयात्री चल्यो भने जोखिम अत्यन्त न्युन रहने पनि जयले बताए।
पोखरामा बसेर सन् १९९८ देखि राफ्टिङ व्यवसाय गरिरहेका विरेन्द्र लामाका अनुसार नेपालमा राफ्टिङ उद्योग पविर्तनको संघारमा छ। दुई दशक अघिसम्म नेपालका सबै नदीनालामा राफ्टिङ गर्न आउने विदेशीलाई महिनौं राफ्टिङ गराएको अनुभव उनीसँग छ। नेपालका नदीनाला राफ्टिङका लागि विश्वमै चर्चित भएर पनि अहिले यस उद्योग ओह्रालो लागेको उनी बताउँछन्।
विशेषगरी माओवादी द्वन्द्व, नदीनालामा जथाभावी क्रसरउद्योग, फोहोर नदीमा फालिनु र जलविद्युत आयोजनाहरुले राफ्टिङ व्यवसाय धरापमा पारेको उनले बताए।
कालीगण्डकी नदीमै पहिले ४ रात ५ दिनको जलयात्रा हुन्थ्यो। अहिले २ रात ३ दिनको यात्रा मात्र हुन्छ,’ उनले भने, ‘यसको कारण भनेको कालीगण्डकी जलविद्युत आयोजना हो । त्यसपछि क्रसर उद्योग र फोहोर खोलामा फालिनु।’
विदेशी पर्यटकको मात्र रोजाइमा पर्ने गरेको कालीगण्डकीमा नेपाली पर्यटकलाई पनि आकर्षण गर्न छोटो र सस्तो प्याकेज ल्याएको लामाले बताए। लेकसाइडस्थित उनले चलाएको र्यापिड रनर एक्सपेडिसन कम्पनीले कालीगण्डकीमा करिब २ घण्टा राफ्टिङ गर्न ४ हजार रुपैयाँको प्याकेज बनाएका छन्। प्याकेजमा पोखराबाट म्याग्दी लैजाने, खाना खुवाउने र राफ्टिङ गराएर पोखरा फर्काउने सुविधा समेटिएको छ। यस प्याकेजका लागि पोखराबाट एक दिन खर्चनुपर्ने लामाले बताए।
कालीगण्डकीमा राफ्टिङ गर्ने विदेशीले भने २ रात ३ दिनको यात्रा गर्छन्। यात्राका क्रममा उनीहरू नदी किनारमै क्याम्पिङ बस्छन्। यसमा पनि पोखरादेखि कालीगण्डकीमा राफ्टिङ गराउन लैजाने, बाटोमा खाना, खाजा लगायत सबै सुविधा समेटिएको छ। यस प्याकेज २४० डलरदेखि ३०० डलरमा विक्री गरेको लामाले बताए। नदीलाई स्वाभाविक गतिमा बग्न दिए राफ्टिङ व्यवसाय फस्टाउने उनको अपेक्षा छ।
‘नदीलाई स्वाभाविक रूपमा बग्न दिनुपर्यो। राफ्टिङ गर्दा क्रसरको होहल्ला आउनु भएन। नदीमा फोहोर फाल्नुभएन,’ उनले भने, ‘यत्ति भए नेपालमा राफ्टिङ आउने पर्यटकको घुइँचो लाग्न सक्छ।’
पोखरा भ्रमण बर्षका संयोजक गोपी भट्टराइले नेपालका त्रिशुली र भोटेकोशी बाहेक अन्य नदीहरुमा कमै नेपालीले मात्र राफ्टिङ गर्ने गरेको बताउँछन्।
कालीगण्डकी, मस्र्याङ्दी लगायत अन्य नदीहरूमा अझ बढी एडभेन्चर हुने भएकाले नेपालीलाई पनि सस्तो र छोटो समयको प्याकेज बनाएर प्रवर्द्धनमा सहयोग गरेको उनले बताए।
राफ्टिङलाई प्रवर्द्धन गर्नका लागि नदीको संरक्षण पहिलो शर्त हुने भट्टराई बताउँछन्। नदीमा जथाभावी फोहोर फाल्ने, जथाभावी क्रसर चलाउने र जलविद्युत आयोजना बनाउँदा राफ्टिङका लागि ठाउँ छाड्नुपर्ने उनले बताए।
‘सरकारले राफ्टिङका लागि नदीको निश्चित क्षेत्र छुट्याउनुपर्छ। नदी नियम बनाएर तत्काल लागु गर्नुपर्छ,’ उनले भने।
फेवातालमा डुबेपछि पानीसँग डराएकी किरणको डर भने कालीगण्डकीसँग करिब २ घण्टा बहँदा पखालिएको छ। नदी शान्त भएका ठाउँमा राफ्टलाई किनारा लगाएर ओर्लिँदा उनको मनमा उत्साह, हाँसो र छुट्टै अनुभूति बोकेकी छिन्। नदीले उनलाई नयाँ शुरुवातको मौका दिएको छ।
‘यत्रो वर्ष पानीसँग डराएर बिताएँ,’ उनले भनिन्, ‘आज म पानीसँग मिलिसकेँ।’