काठमाडौंको चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा एक युवकको हत्या भएको छ।
महोत्तरीको गौशाला नगरपालिका-५ का अन्दाजी २०/२५ वर्षका जाकिर मन्सुरीको गएराति ९:१५ बजे हत्या भएको हो।
हत्या आरोपमा उनकै भिनाजु नाता पर्ने महोत्तरी घर भई खरिबोट बस्दै आएका अन्दाजी ३८ वर्षीय समि अहमद पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घरायसी विवाद हुँदा समिले जाकिरमाथि तरकारी काट्ने चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका समिलाई सतुंगलस्थित मेड पोइन्ट अस्पताल पुर्याइएकोमा राति साढे ९ बजे चिकित्सकले मृत घोषणा गरिदिएका थिए।
घटनामा प्रयोग भएको चक्कुसहित समि अहमदलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
लास जाँच मुचुल्कापछि पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।