‘यस सडकमा टिपर गुड्न दिँदैनन् भन्ने थाहा पाउँदा नपाउँदै केको जबरजस्ती हो? खुरूक्क गाडी फर्काइहाल्नुस्!’
रसली तामाङले यसो भनेपछि टिपर चालक अक्क न वक्क परे। साँखु–पालुवारीबाट कात्तिके भञ्ज्याङ उनी पहिलोपटक पुगेका होइनन्। त्यस रूटमा धेरैपटक टिपर चलाए। तीन महिनायता त्यस रूटमा उनको टिपरको चक्का परेको थिएन, स्थानीयको खप्की खाइहाले।
‘यस बाटामा टिपर गुड्न दिँदैनन् भन्ने थाहा थिएन। थाहा पाएको भए अर्कै बाटोबाट गइहाल्थेँ। एकपटकलाई छाडिदिनुस्,’ टिपर चालकले याचनाको शैलीमा भने।
कडा मिजासकी रसलीले के मान्थिन्। अझै चर्को स्वरमा भनिन्, ‘अहँ, हुँदै हुँदैन। यहाँबाट गइहाल्नुुस्! बरू तेलकोट निस्किएर जानुस्!’
रसलीले टिपरलाई बाटो छेक्दा रातको ११ः३० बजेको हुँदो हो। चारैतिर सन्नाटा छाएको थियो। कात्तिके भञ्ज्याङबाट निकै तल साँखु–पालुबारी सहर पनि निद्रामै थियो।

रसलीलाई साथी अरू दुई जना युवक पनि थिए। उनीहरू स्थानीय व्यवसायी हुन्। दिनभरि आफ्नै पसल–व्यवसाय गर्छन्, रात छिप्पिँदै गएपछि उनीहरू कात्तिके भञ्ज्याङमा भेला हुन्छन्। कहिले दुई–तीन जना त कहिले १० जनासम्म हुन्छन्।
र, रातैभरि जाग्राम बसेर टिपर रोकिरहन्छन्। बतासिँदै आउने टिपरहरूलाई जताबाट आएको त्यतै फर्काइदिन्छन्। कहिले वैकल्पिक बाटो पनि देखाइदिन्छन्।
साँखु–पालुवारी हुँदै नगरकोट जाने सडक खण्डको बीचमा पर्छ कात्तिके भञ्ज्याङ। जहरसिंहपौवा हुँदै मेलम्ची या भोटेचौरतर्फ जाने बाटो पनि त्यही कात्तिके भञ्ज्याङबाटै छुट्टिन्छ।
यो सडकको आफ्नै कथा छ।
३०–४० को दशकदेखि नै यो बाटो चल्तीमा थियो। नगरकोट, काभ्रेपलाञ्चोकको सिपाघाट, सिन्धुपाल्चोकतर्फ आवतजावत गर्ने सडकको रूपमा रहे पनि नगरकोट जाने वैकल्पिक सडक र सिन्धुपाल्चोकतर्फ जाने अन्य बाटो चल्तीमा आएपछि कात्तिके भञ्ज्याङ सुक्दै गएको थियो।
फैलँदो सहरीकरण र पर्यटकीय क्षेत्र पनि विस्तार हुँदै गएपछि ७० को दशकदेखि यो ठाउँ पुनः गुलजार हुन थाल्यो। तर सडकको दुरावस्था थियो। सडक भत्कँदै र जीर्ण हुँदै गएपछि आवतजावतमै समस्या हुन थाल्यो। त्यसपछि २०७५ सालमा यो बाटो पुनः कालोपत्रे गरिएको थियो।
झण्डै तीन वर्ष लगाएर यो सडक खण्ड कालोपत्र गरिएको हो। यो सडक बनाउन दातृ निकाय एसियाली विकास बैंकले ऋण उपलब्ध गराएको थियो।
खासगरी २०७२ को भूकम्पपछि एसियाली विकास बैंकले ‘अर्थक्वेक इमर्जेन्सी एसिस्टेन्स प्रोजेक्ट’अन्तर्गत करिब १० किलोमिटर उक्त सडक खण्डलाई ऋण उपलब्ध गराएको थियो। त्यही परियोजनाअन्तर्गत् यो सडक खण्ड पुनर्निर्माण भएको हो। मुस्किलले दुई वटा गाडी छिर्न सक्ने यस बाटो फेरि बिग्रन, भत्कन थालेको छ। नाला निकासको प्रबन्ध पनि टुट्दैछ।
सडकमा थप क्षति नपुगोस् भनेर टिपर आवतजावतमा रोक लगाउनुपरेको स्थानीय सनबहादुर तामाङले जानकारी दिए। सहरी क्षेत्रमा दिउँसो टिपर गुडाउन नदिने भएकाले पनि चालकहरू राति सक्रिय हुने गरेका छन्।
‘यो बाटोमा रातैभरि टिपर गुड्थे। दैनिक सयभन्दा बढी टिपर ओहोरदोहोर गर्थे। बेस्सरी हाँक्ने, साइरन पनि उस्तै चर्को स्वरमा बजाउने भएपछि रातभरि सुत्नै नसक्ने भयौं,’ तामाङले सुनाए।

बाटोको अवस्था नबिग्रियोस् र अरूको निद्रा नखल्बलियोस् भनेर अहिले उनीहरू रातैभरि जाग्राम बस्न थालेका छन्। स्थानीयहरू सडकको सुरक्षा कवचजस्तै बनेका छन्।
‘यति साँघुरो बाटोमा यत्रो टिपर गुड्न दिनु भएन नि! सडक एकै वर्षमा कामै नलाग्ने भइहाल्छ। टाँटाँ र टिँटिँ गरेर टिपर ओहोरदोहोर गरेपछि कसरी सुत्नु! हाम्रो व्यवसाय पनि चौपट हुन्छ,’ रसली तामाङ पनि जाग्राम बस्नुको कारण खुलाउँदै थिइन्।
टिपरले सडक, व्यवसाय र जनजीवनसमेत बिथोल्न थालेपछि निरूपाय भएर आफूहरूले टिपर बन्द गराउनुपरेको रसली तामाङले बताइन्।
कात्तिकेको स्थानीय, व्यवसायीहरूले सुरूमा नगरपालिकाको सहायता लिएका थिए। शंखरापुर नगरपालिकाको वडा नम्बर ३ र ४ को सीमामा पर्छ कात्तिके भञ्ज्याङ। स्थानीयको आग्रहअनुसार नगरपालिकाकाले नगर प्रहरीसमेत खटाएको थियो। तर नगरपालिकासँग जनशक्ति कम भएकाले स्थानीयले नै अगुवाइ गर्न थालेका हुन्। अहिले गाउँले आफू आफै मिलेर आलोपालो गर्दै पहरा दिइरहेका छन्।
यसबारे हामीले नगरप्रमुख रमेश नापितसँग पनि कुरा गर्यौं।
उनले पनि साँखु–पालुबारी–नगरकोट सडक बचाउन नै टिपरको आवतजावत रोक्नुपरेको बताए। त्यस भेगमा एक किसिमले ‘टिपर आतंक’ नै रहेको पनि उनले बताए।
‘त्यस सडकखण्डमा साना पुल छन्। दुई वटा गाडी मात्रै छिर्न सक्ने पुल छ। जसले १० टन पनि भार थेग्न सक्दैन। तर २० टनभन्दा पनि बढीका टिपर गुड्न दिएपछि सडक खतम भइहाल्छ नि। त्यसैलाई जोगाउन स्थानीयले अग्रसरता लिनुभएको हो,’ उनले भने, ‘राति बेस्सरी टिपर दौडाएर दुर्घटनाको जोखिम बढाएकाले सुरक्षाको पाटो पनि रह्यो।
उनका अनुसार सुरूमा नगरपालिकाले साँखुको इलाका प्रहरी चौकीसँग सहयोग मागेर टिपर रोकेको थियो। नगर सुरक्षा बल र प्रहरी रातैभरि ड्युटी बस्न सक्दैनथे। उनीहरू फर्किएर आएपछि फेरि टिपरहरू गुड्न थाल्ने भएकाले स्थानीय आफै खटिएर आवतजावत रोक्न लागिपरेका हुन्।
