नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद थप गरेको छ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नहुँदासम्म नयाँ क्रियाशील सदस्यता अद्यावधिक गर्न सकिने जानकारी गराएका हुन्।
पुरानो क्रियाशील सदस्यता नवीकरण गर्न बिहीबार राति १२ बजेसम्मको समय तोकिएको थियो।
'नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्मका लागि खुल्ला रहनेछ,' विज्ञप्तीमा भनिए छ।
साथै इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा नेपाली कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने पनि कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका जनाएको छ।
त्यसैगरी, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेका छन्। उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक हुने प्रक्रियामा छ।
कांग्रेसले सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यका साथ अनलाइन माध्यमबाट क्रियाशील सदस्यता अध्यावधिक अभियान सञ्चालन गर्दै आएको छ।
विगतमा सदस्यको नामबाहेक अन्य विवरण कांग्रेससँग थिएन। क्रियाशील सदस्यको व्यवस्थित रूपमा अभिलेखीकरण नहुने अवस्थाको अन्त्य गर्दै डिजिटल प्रणालीमार्फत सदस्यहरूको आधारभूत विवरण व्यवस्थित र अद्यावधिक हुन लागेको हो।

*नयाँ क्रियाशील सदस्य हुनुपर्नेमा क्रियाशील सदस्यता मात्रै पर्न गएकाले सच्याइएको छ।