स्थायी घर अर्घाखाँची भएका सुजन खनाल अस्ट्रेलिया बसेको पाँच वर्ष भयो। मेलबर्नमा बस्ने उनी पेसाले स्पोर्ट्स एन्ड एक्सरसाइज फिजियो–थेरापिस्ट हुन्।
अस्ट्रेलियाका उच्चस्तरीय फुटबल खेलाडीहरूसँग काम गर्दै आएका सुजन खेलकुद स्वास्थ्य क्षेत्रमा नेपाली युवाको सफल उपस्थितिको उदाहरण पनि मानिन्छन्।
हाल उनी फुटबल भिक्टोरिया अन्तर्गत सञ्चालन हुने नेसनल प्रिमियर लिग्स (एनपिएल) भिक्टोरियाको दोस्रो डिभिजनमा स्पोर्ट्स फिजियो–थेरापिस्टका रूपमा काम गरिरहेका छन्।
उनका अनुसार यसलाई अस्ट्रेलियाको उच्चस्तरीय प्रतिस्पर्धात्मक फुटबल लिगमध्ये एक मानिन्छ, जहाँ ए–लिग खेलिसकेका तथा अनुभवी खेलाडीहरू सहभागी हुन्छन्।
'यहाँ मैले काम गरेको ६ महिना भयो,' सुजनले भने।
यसअघि उनी भिक्टोरियन प्रिमियर क्रिकेटमा करिब दुई वर्ष फिजियो–थेरापिस्टका रूपमा काम गर्थे।
उनले फुटबल भिक्टोरिया अन्तर्गतकै स्टेट लिग–२ मा पनि खेलाडीहरूको उपचार तथा पुनर्स्थापना क्षेत्रमा अनुभव हासिल गरेका छन्।
स्पोर्ट्स फिजियो–थेरापिस्ट भनेको खेलकुदका क्षेत्रमा खेलाडीको स्वास्थ्य, चोटपटकको उपचार र शारीरिक पुनः स्थापनासँग सम्बन्धित काम गर्ने विशेषज्ञ हो।
'खेल्दा वा अभ्यास गर्दा खेलाडीलाई लाग्ने चोट, मांसपेसी तथा जोर्नी सम्बन्धी समस्या पहिचान गरी आवश्यक उपचार र हेरचाह गर्नु स्पोर्ट्स फिजियो–थेरापिस्टको मुख्य जिम्मेवारी हुन्छ,' उनले भने।
खेलाडीको शारीरिक क्षमता वृद्धि गर्ने, शरीर फिट राख्ने र भविष्यमा चोट नलाग्ने गरी आवश्यक व्यायाम, स्ट्रेचिङ तथा थेरापी विधि सिकाउने काम पनि स्पोर्ट्स फिजियो–थेरापिस्टकै जिम्मेवारी हुन्छ।
'सकेसम्म चोट लाग्नै नदिने, लागिहाले पनि आवश्यक उपचार गरी पुनः खेल मैदानमा फर्काउने काम हाम्रो हुन्छ,' उनले भने।

उनले अस्ट्रेलियाको क्याथोलिक विश्वविद्यालयबाट व्यायाम तथा खेलकुद फिजियो–थेरापीमा स्नातकोत्तर तह पनि पूरा गरेका छन्। हाल हाई–पफर्मेन्स खेलकुदसँग सम्बन्धित थप अध्ययन गर्दै छन्।
सुजनले फिजियो–थेरापी विषयमै भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयबाट स्नातक तह पूरा गरेका हुन्।
त्यसपछि सन् २०१९ मा पर्यटक (टुरिस्ट) भिसामा अस्ट्रेलिया गए। त्यहाँ चार महिना बसेर यसैसम्बन्धी कोर्स पूरा गरेर नेपाल फर्किए। नेपालमा करिब तीन वर्ष खेलकुद फिजियो–थेरापी तथा पुनर्स्थपना क्षेत्रमा काम गरे।
उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) र १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि फिजियो–थेरापिस्टका रूपमा काम गर्ने अवसर पाए।
क्रिकेट क्षेत्रमा पनि उनको अनुभव छ। उनले एभरेस्ट प्रिमियर लिग (इपिएल) र पोखरा प्रिमियर लिग (पिपिएल) का विभिन्न टोलीसँग आबद्ध भएर काम गरे।
'भैरहवा ग्लाडियटर्स, विराटनगर किंग्स र पोखरा पल्टनका खेलाडीहरूको फिजियो–थेरापिस्ट भएर काम गरेँ,' उनले भने, 'पछि अस्ट्रेलियन सरकारको प्रस्तावमा सन् २०२१ मा क्रिटिकल स्किल माइग्रेसन भिसामार्फत पुनः अस्ट्रेलिया आएको हुँ।'
क्रिटिकल स्किल माइग्रेसन भिसा कुनै देशमा आवश्यक तर पर्याप्त जनशक्ति नभएका विशेष सीप वा पेसाका व्यक्तिलाई काम गर्न र बसोबास गर्न दिइने भिसा हो। सरकारले देशलाई आवश्यक पर्ने पेसागत दक्ष जनशक्तिको सूची बनाउँछ। जनशक्ति अभाव हुँदा विदेशबाट योग्य व्यक्तिलाई आकर्षित गर्न यस प्रकारको भिसा दिइन्छ।
अस्ट्रेलिया पुगेपछि सुजनले तास्मानियास्थित प्लेना हेल्थकेयरमा फिजियो–थेरापिस्टका रूपमा काम गरे। त्यहाँ एक वर्ष काम गरेर मेलबर्न पुगे।

मेलबर्नमा उनले ब्याक इन मोसन हेल्थ ग्रुपमा करिब डेढ वर्ष काम गरे। अनि भिक्टोरियन प्रिमियर क्रिकेट हुँदै अहिले एनपिएल भिक्टोरिया–२ मा काम गरिरहेका छन्।
सुजनका अनुसार एनपिएल भिक्टोरिया–२ मा कोच बाहेक १२ जना विशेषज्ञहरूको टिम छ। त्यसमा उनी एक्ला नेपाली हुन्।
टिममा अर्थोपेडिक तथा स्पोर्ट्स सर्जन, स्पोर्ट्स मेडिसिन विशेषज्ञ, स्ट्रेन्थ एन्ड कन्डिसनिङ कोच, स्पोर्ट्स साइकोलोजिस्ट र स्पोर्ट्स ट्रेनरजस्ता उच्चस्तरीय विशेषज्ञहरू हुन्छन्।
खेलाडीलाई चोटपटक लागेपछि उनीहरूलाई पुनः खेलमा फर्काउनु यो पेसाको सबभन्दा ठूलो चुनौती भएको उनी बताउँछन्।
'सामान्य चोटपटक दुई–चार दिनमा निको हुन्छ। जटिल तर शल्यक्रिया (अपरेसन) नचाहिने अवस्थामा पुनः स्थापना हुन तीन–चार महिना लाग्छ। शल्यक्रिया गरिएको अवस्थामा छ महिनादेखि एक वर्ष लाग्न सक्छ,' सुजनले भने।
उनले अस्ट्रेलियामा एल्टिभाइन फिजियो नामक आफ्नै कम्पनी पनि सुरू गरेका छन्। यो कम्पनी खोलेको ८ महिना भयो।
नेपालमा भने स्पोर्ट्स साइन्स क्षेत्रमा प्रमाणमा आधारित कामको कमी रहेको उनलाई महसुस भएको छ। सरकारले सहयोग गरे उच्च प्रदर्शन खेलकुद केन्द्रमा काम गर्न आफूले चाहेको उनले बताए।
'नेपालमा पनि प्राविधिक (टेक्निकल) ढंगले खेलकुद फिजियो–थेरापी विकास गर्नुपर्छ जस्तो लाग्छ,' सुजनले भने।