आँखैअगाडि ३० वर्षदेखि बस्दै आएको टहरा भत्काएपछि रातभरि निद्रा परेन विष्णु तामाङलाई।
उनको पुर्ख्यौली थातथलो काभ्रे हो। तर उनी अहिलेसम्म गएका छैनन्। उनको परिवार नै शान्तिनगरस्थित सडक किनारामा आश्रय लिएर बसेको थियो।
'मेरो पुर्ख्यौली घर त काभ्रे हो। त्यहाँ जग्गाजमिन छैन। जग्गाजमिन नै नभएपछि आफ्नो ठाउँ नहुँदो रहेछ, त्यसपछि हामी यहाँ आएका रहेछौं,' तामाङले पीडा सुनाउँदै भने, 'अरूले पनि टहरा बनाएको देखेपछि हामीले पनि छाप्रो हालेका थियौं, यही दिन देख्नुपर्यो।'
शान्तिनगर, गैरीगाउँ, सिनामंगल क्षेत्रमा राति अबेरसम्म डोजर चलाएर घर–टहरा भत्काइएको थियो। थापाथलीमा बिहान ८ बजेदेखि मध्याह्न १२ः३० बजेसम्म डोजर लगाएर बस्ती भत्काइएको थियो।
शान्तिनगर क्षेत्रमा भने दिउँसो १ः४५ बजेदेखि डोजर चल्न सुरू गरेको थियो। थापाथलीमा अस्थायी टहरा, छाप्रा भएकाले भत्काउन समय लागेन। शान्तिनगर, गैरीगाउँ, सिनामंगल क्षेत्रमा पक्की घर थिए। बस्ती सघन थियो। त्यस कारण भत्काउन आधा रातसम्म लागेको थियो।
सुरूमा शान्तिनगर क्षेत्रबाट भत्काउन थालिए पनि त्यहाँ बस्दै आएकाले सामान उठाउन भ्याएका थिएनन्। डोजर पुग्दा त्यहाँका स्थानीय हातमा लत्ताकपडा, पशुपन्छी, केटाकेटी च्यापेर दौडिरहेका थिए।
बस्तीअगाडि अचानक डोजर आइपुगेपछि बालबच्चा अत्ताल्लिँदै रोएका थिए। भयभीत बालबालिकालाई सम्झाइबुझाइ गर्न तिनका अभिभावक र सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो।
त्यो क्रम अबेर रातिसम्म चलेको तामाङले सुनाए। डोजर चल्न रोकिँदा मध्यरात भइसकेको थियो।
ओतविहीन बनेकाहरू सडकको किनाराको कोही त्यत्तिकै सुतेका थिए। कोही आगाको धुनीजस्तो जगाएर रात कटाएका थिए।
'केही समय दिएर भत्काएको भए पनि हुन्थ्यो। हामीले पूरै सामग्री उठाउन पनि भ्याएनौं। गुनासो पनि को सँग गर्नु! कसैले सुने पो!' उनले भने।
घर भत्काउँदै गर्दा राति ९ बजेतिर महानगरका केही प्रहरी आएर रंगशाला लगिदिन्छौं भनेका थिए। त्यही आशमा सामान कुरेर रातभर जाग्राम बसेको उनले बताए।
'सहायता दिन कोही नआएपछि घर भत्काएर बिचल्ली भएकाहरू आगो तापेर बसे। पानी पनि सिमसिम परिरहेको थियो। कोही सामान ओताउन त्रिपाल, कुच्चिएका जस्तापाता, काठपातसमेत ओडाउँदै थिए,' उनले सुनाए, 'कोही सामान त्यत्तिकै छाडेर लाखापाखा लागेका थिए।'
आइतबार बिहान हामी पुग्दा तामाङ जस्ताले बारबेर गरेर बनाइएको होचो ओढारजस्तो ठाउँमा ओत लागिरहेका थिए। परिवारका सदस्य भत्काइएर खण्डहर तुल्याएको घरमा केही मिलिहाल्छ कि भनेर खोज्न गएका थिए।
'दुई दिन भयो राम्ररी खाना नखाएको। हिजो बेलुकादेखि त मुखमा अन्न पनि परेको छैन। खाने ठेगान पनि छैन, रूचि पनि छैन,' उनले पीडा पोखे।
खोटाङकी ईश्वर थापा पनि आफ्नै घरको भग्नावशेषअगाडि भेटिइन्। उनी त्यहाँ २०५८ सालदेखि बस्दै आएकी रहिछन्।
उनको पीडा अलि फरक छ। उनको गाउँमा आफू उभिने जमिन पनि छैन। ज्याला, मजदुरीले पेट पाल्न गाह्रो भएकी उनी हातमुख जोड्नकै लागि सहर झरिन्। सुरूमा कोठामा बसेकी उनले शान्तिनगरमा टहरा पाइन्छ भनेर खोज्दै त्यहाँ आइपुगेकी रहिछन्। अर्काले बनाएको टहरा पैसा तिरेर किनेपछि आफ्नो भयो भन्ने ठानेकी उनी शनिबार राति सरकारले भत्काइदिएपछि सडकमा आइपुगेको बताइन्।
'म पनि बूढी भइसकेँ। बच्चाबच्चीको पनि राम्रो नोकरी छैन, कमाइको भरपर्दो बाटो छैन,' उनले भनिन्, 'अब कता जाने हो, क्यै ठेगान छैन।'
राति महानगरका कर्मचारीहरू आएर 'जाने भए रंगशाला पुर्याउँछौं' भनेका थिए। उनले 'यी सामान पनि लगिदिनुहुन्छ?' भन्दै असरल्ल लत्ताकपडा, भाँडावर्तन, खाट, दराज देखाएकी थिइन्। तर उनीहरूले कुनै जबाफ नदिई गएपछि उनी सहाराविहीन भइन्।
'यत्तिकै बसिरहेको थिएँ, ऊ परको घरको मानिस आउनुभयो। बिरामी हुनुहुँदो रहेछ, हिँड्नुहोस्, आज मकहाँ बस्नुहोस् भन्नुभयो,' उनले भनिन्, 'म त उहाँसँगै गए। अरू यहीँ बस्नुभयो, आगो तापेर।'
उदयपुरकी कुमारी तामाङ पनि त्यही पीडा सुनाउँदै थिइन्। उनका पतिको मानसिक स्वास्थ्य राम्रो छैन। श्रीमान्लाई कुर्नु कि सामानको हेरचाह गर्नु, बिलबन्दमा छिन् उनी।
'यस्तो उजाड बस्तीमा पनि चोरको बिगबिगी हुँदो रहेछ! डोजरबाट जोगाएर जसोतसो निकालेका झ्यालढोका, फलामका सामग्री पनि चोरेछन्' उनले सुनाइन्, 'मेरो पनि केके हरायो होला, हेर्न पनि जाँगर छैन। उठीबास लगाएका मान्छेका सामान पनि चोर्न आउनेले धर्म नै होला!,' उनले भनिन्।
सोलुखुम्बुकी डोल्मा तामाङ (माइली) को अवस्था झन् दयनीय छ। आइतबार बिहान सिमसिम पानी परिरहेको थियो। उनलाई दूधे नाति जोगाउन सकस परिरहेको थियो।
'चिसोले होला रातिदेखि पखाला लागेको छ। अस्पताल लैजाउँ भने यता सामानको बिजोग छ। भत्काउनै रहेछ त केही व्यवस्था गरिदिएको भएहुन्थ्यो,' उनले भनिन्।
आँखैअगाडि टहरामा डोजर चलेपछि छोरालाई ठूलो आघात पुगेको छ। टहरा भत्काउँछ भन्ने सुनेदेखि उनले सिनामंगल, भीमसेनगोला, शान्तिनगर पुगेर कोठा खोजे।
'सुकुम्बासी बस्तीबाट आएको भनेपछि छिःछिः र दुरदुर गर्दारहेछन्। मान्छे नै नगन्ने रहेछन्,' उनले अगाडिको ठूलो सेतो घर देखाउँदै भने, 'छ त ऊ त्यो घरमा पनि कोठा छ नि तर दिँदैनन्। यस्तो बिजोग छ, मानिसहरू रमिता मानेर हेर्छन्। कसैले हाम्रो दुःख बुझेर कोठा दिए पो!'
उनीहरूलाई पनि शनिबार राति नै महानगर प्रहरीले रंगशाला जाउँ भनेको थियो। तर लत्ताकपडा छाड्न सकेनन्। छाडुन् पनि कसरी? उनीहरूको श्रीसम्पत्ति भन्नु त्यत्ति त हो!
अहिले बिहान पनि भिज्ला कि भनेर पुराना ब्यानगर, तुल आदि बटुलेर ओत लगाइरहेका छन्।
'ज्यान जउञ्जेल सामानको माया लाग्दो रहेछ। माया मार्न सकेनौं। जोगिन्छ कि भनेर ओताइरहेको छ,' माइलीले सेतोपाटीसँग भनिन्।
बस्ती खण्डहर बनाइसकेकाले अब गुनासो के गर्नु भन्ने उनीहरूलाई लागेको छ। सरकारले जग्गाजमिन दिन्छ भन्ने आस पनि छैन।
ज्यालामजदुरी गरेर ठड्याएको टहरो एकैपटक खण्डहर भएपछि र ऋणधन गरेर जोडेको सरसामान माटामा मिलेपछि फेरि पनि उठ्न सकिन्छ भन्ने उनीहरूलाई लागेको छैन। अहिले माइलीको पहिवार ठूलो आघातमा छ। उनकी बुहारीलाई यो पीडा झन् ठूलो घाउ बनेको छ।
'मलाई त छेउमा आएर कसैले पीडा नसोधून्, घाउ नकोट्याऊन्, फोटो, भिडिओ नखिचून्, खण्डहर बस्ती भएर सुरक्षाकर्मीहरू बुट बजाउँदै, बन्दुक तेर्स्याउँदै नहिँडुन् जस्तो लाग्छ,' उनले दुःखमनाउ गरिन्, 'हाम्रो बस्ती सबैलाई रोगतुल्य बनेको थियो। भत्काएपछि मन शान्त भयो होला। हामी गरिबको उठीबास भयो, सबैको मन हाँस्यो होला केही छैन। गहना बेचेर भए पनि पैसा सुरूमै तिर्छौं, एउटा कोठा चाहिँ मिलाइदिनुहोस् न, बिन्ती!'






