नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य लाभ गरिरहेका छन्। पित्तथैली र हर्निया समेतको शल्यक्रिया गरेका ओली तंग्रिन सकेका छैनन्। ओली नतंग्रिँदा एमाले नै थलिएजस्तो भएको छ। निर्वाचन समीक्षा मात्र होइन, आवधिक बैठक पनि हुन सकेको छैन।
यसबीच सरकारले डोजर लगाएर काठमाडौंका मात्रै १५ हजार सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बेघर बनायो। अहिले उनीहरूको पुनर्स्थापनाको पाटो पेचिलो बनिरहेको छ। अस्थायी सेल्टरमा राखिएका विस्थापितहरू कामविहीन बनेको, उनीहरूका बालबच्चा विद्यालय जान नपाएको, सेल्टरहरूमा मानवीय संकट गहिरिँदै गएको गुनासो बढिरहेको छ।
प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्यहरू अनुगमनमा जाँदा विस्थापितहरूले आफ्नो रोजीरोटी गुमेको, बालबालिकाले पढ्न नपाएको, औषधिहरू छुटेको, बलजफ्ती विस्थापित गराउने सरकारको कार्यशैलीले त्रस्त बनाएको गुनासो गरे।
गृह मन्त्रालयले ७७ जिल्लामा परिपत्र गर्दै अतिक्रमित सरकारी, सार्वजनिक जग्गा खाली गर्न निर्देशन दिएसँगै १२ लाखभन्दा बढी परिवार तरंगित छन्। यसबाट ५० लाख परिवार प्रभावित हुने देखिएको छ।
यसबाहेक राष्ट्रिय राजनीतिका अरू पनि कतिपय मुद्दा छन्, जसमा पार्टीको धारणा, दृष्टिकोण आवश्यक हुन्छ। त्यसमा एमाले गयल हुँदै गएको पार्टीका नेताहरूले महसुस गर्न थालेका छन्।
नेकपा एमालेका सचिव राजन भट्टराईले अध्यक्ष अोली निको भएर हिँडडुल गर्न नसकुञ्जेल बैठक बस्ने सम्भावना नभएको बताए।
'हिरासतमुक्त भएर आइसकेकाले उहाँकै अध्यक्षतामा बैठक बस्नुपर्छ। तर पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले हिँडडुल गर्न सक्ने अवस्थामा हुनुहुन्न। बुधबार उहाँले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गर्नुभयो, त्यसबाहेक अरू गतिविधिमा सरिक हुनुभएको छैन,' भट्टराईले भने।
एमालेका अर्का सचिव भानुभक्त ढकालका अनुसार गत वैशाख ५ गते अस्पतालबाट घर फर्किएका ओलीलाई यसबीच संक्रमण भएको थियो। अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको थियो। अहिले पनि बाह्य भेटघाट खुला गरिएको छैन।
ढकालका अनुसार यसबीच पार्टी उपाध्यक्षहरू र महासचिवले भेटघाट गरेका छन्।
सचिव भट्टराईले भने बैठक बस्नेबारे छलफल भइरहेको बताए। तर कहिले बस्ने भन्ने यकिन भएको छैन। बैठक कसरी राख्ने भनेर पनि यसबीच छलफल भइरहेको उनले बताए।
'तल तल चुनावी समीक्षाहरू भइरहेका छन्। माथि पनि हामी चुनावी समीक्षा गर्छौं। बैठक कसरी राख्ने भनेर पनि छलफल भइरहेको छ। अरू नै तरिकाले बैठक राख्न सकिन्छ कि भनेर त्यसमा पनि कुराकानी भइरहेको छ,' उनले भने।
एक पदाधिकारीका अनुसार भर्चुअल विधि (जुममार्फत्) बाट सचिवालय बैठक बोलाउने कि भनेर पनि सचिवालयका नेता तहमा छलफल भएको थियो।
तर बहुसंख्यक सचिवालय सदस्य त्यसमा सहमत छैन। उनीहरूले अध्यक्ष ओलीको भौतिक उपस्थितिमै बैठक बस्नुपर्ने र नेतृत्व राख्नुपर्छ र फेर्नुपर्छ भन्ने बहस–तर्क सचिवालयका सबै सदस्यले सामुन्नेमै सुन्नुपर्ने बताउँदै आएका छन्।
ती पदाधिकारीका अनुसार अहिले बहुमत सचिवालय सदस्य ओलीले नेतृत्व छाड्नुपर्ने पक्षमा छन्। ओलीलाई वैधानिक तरिकाले हटाउने पक्षमा सचिवालय सदस्यहरू थपिने क्रम बढ्दो छ।
'तलका नेता, कार्यकर्ता आत्तिन थालिसकेका छन्। पुनर्गठन नगरी आन्दोलन अगाडि बढ्दैन, ओलीको नेतृत्वमा एमाले अब अगाडि जान सक्दैन भनेर तल आवाज उठिरहेको छ। सचिवालयका नेताहरूले त्यो चाहना बोक्नुपर्ने दायित्व पनि छ। त्यसैले सचिवालय सदस्यहरू दबाबमा पनि हुनुहुन्छ,' ती पदाधिकारीले भने।
अर्का एक पदाधिकारीका अनुसार विगतमा ओली समूहको खम्बा नै मानिएका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेलले नै नेतृत्वको विकल्प खोज्न थालेपछि ओली संकटमा छन्।
त्यसैले पनि उनले बैठक धकेल्न चाहेका छन्।
'सचिवालयमा आफूविरूद्ध मत बढ्दै गएको थाहा पाएपछि ओली अहिले संवादमा छैनन्। सकेसम्म बैठक टार्ने मनसायमा देखिन्छन्,' ती पदाधिकारीले भने, 'सकेसम्म सचिवालयको बैठक नै नबोलाउने र सिधै केन्द्रीय कमिटी बैठकमा जाने ओलीको चाहना हुनसक्छ। त्यसो भयो भने पार्टीमा अर्को संकट निम्तनसक्छ।'
कस्तो संकट भन्नेबारे उनले थप खुलाएनन्।
तर उनको आसय प्रस्टै थियो — यही अवस्थामा केन्द्रीय कमिटी बैठक बोलाए पार्टी झन् ठूलो विग्रहको दिशामा जान्छ।
ओलीलाई सम्मानजनक बिदाइ गर्ने र पार्टी पुनर्गठनको वैधानिक निकास निकाल्ने थलो सचिवालय नै भएको ती नेताको बुझाइ छ।
सचिवालय तहका नेताहरूले बताए अनुसार पदाधिकारी तहमा ओलीको पक्षमा खुल्ने नेता पातलिँदैछन्। पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा बादल, सचिवहरू पद्मा अर्याल, महेश बस्नेत, राजन भट्टराई, भानुभक्त ढकाल, हिक्मतकुमार कार्की मात्रैले ओलीको निरन्तरता चाहेका छन्। उनीहरू ओलीको विकल्प खोज्न नहुने मनसायमा देखिन्छन्।
यद्यपि सचिव ढकाल पनि बीचबीचमा यही पंक्तिमा उभिन थालिसकेको सचिवालय तहकै नेताको दाबी छ।
सेतोपाटीसँगको कुराकानीमा ढकालले पार्टी काममा खासै देखा नपर्ने अनुहारहरू अहिले पुनर्गठन अभियानमा सक्रिय रहेको बताउँदै यसरी पार्टी पुनर्व्यवस्थित नहुने बताए।
'पार्टी काममा खासै देखानपर्ने साथीहरू अहिले तलतल पुनर्गठन भन्दै गतिविधि गरिरहनुभएको छ। त्यो हामीले हेरिहेका छौं। अध्यक्ष ओली हिरासतमुक्त भइसकेकाले छिट्टै उहाँकै उपस्थितिमै बैठक बस्छौं। शिरदेखि तीरसम्म पार्टीलाई व्यवस्थित गर्छौं,' उनले भने।
सचिवालय तहकै नेताहरूका अनुसार ओलीको विकल्प खोजी रहेका पदाधिकारीहरू अहिले भित्रभित्रै छलफलमा छन्। सचिवालय तहका दुई जना, तीन जना नेताहरू बसेर छलफललाई तीव्रता दिएका छन्।
'पार्टी थप विग्रहको दिशामा पनि नजाने, पुनर्गठनको आवाज पनि सुदृढ र संस्थागत हुने के विधि हुनसक्छ, त्यसबारे हामी छलफलमै छौं। यथास्थितिमा अब एमाले आन्दोलन अघि बढ्न सक्दैन। ओलीको नेतृत्वमा पार्टीले धक्का खाइसकेकाले आन्दोलनले अब योभन्दा बढी क्षति व्यहोर्न सक्दैन,' एक पदाधिकारीले भने।
अहिले ओली समूहभित्रै उनको विकल्प खोज्नुपर्ने आवाज पेचिलो बन्दै गइरहेको छ। ओलीको विकल्प खोज्ने आवाज उठाउनेमा उपाध्यक्ष विष्णु पौडेल अग्रपंक्तिमा छन्। उनलाई महासचिव पोखरेलको पनि साथ रहेको नेताहरूको दाबी छ।
उनीहरू यस अडानमा दह्रोसँग उभिए ओली साँच्चै संकटमा पर्नेछन्। उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको संगठन संरचनामा पकड पनि छ। तर उनीहरू अन्तिमसम्म उभिनेमा केही सचिवालय सदस्यहरूले नै शंका गरेका छन्।
'यसबीच ओली प्रवृत्ति निर्माण मात्र होइन, त्यसलाई संस्थागत गर्न पनि उहाँहरूको भूमिका रह्यो। गत महाधिवेशनमा कारणबेगर नै केही साथीले ओलीलाई अध्यक्ष बनाउनुपर्छ भन्नुभयो। फरक विचार राख्नेहरूको हुर्मत लिन लाग्नुभयो। उहाँहरूको निकट विगतको यो व्यवहार देखेका हामीले कसरी पत्याउनसक्छौं?' इतर समूहका एक नेताले प्रश्न गरे।