काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ७३ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीले फिर्ता पाएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार एक कार्यक्रम गरी खोजतलासपछि फेला परेका मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।
कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले वैशाख महिनामा चोरी भएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको बताए।
उनकाअनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै ८ वटा मोटरसाइकल समेत सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकिएको बताए।
कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा पारी फिर्ता गरिएको बताए।
‘वैशाख महिनामा हामीले ८ वटा बाइकहरु पहिले नै सवारी धनीको जिम्मा लगाइसकेका छौँ भने बाँकी चोरी गरी अपराधिक कार्यमा प्रयोग भएका ६५ वटा बाइकहरु सवारी धनीलाई जिम्मा लगाएका छौं। बाइकमा जिपिएस जडान गर्यौं, सही ठाउँमा पार्किङ गर्यौं भने चोरी हुन सक्दैन। बाइकका अन्य लकिङ सिस्टमलाई पनि ध्यान दिनुभयो भने चोरी हुँदैन।'—न्युज एजेन्सी नेपाल