दिल्लीराम ढुंगाना खोटाङका स्थायी बासिन्दा हुन्। हाल उनी अमेरिकाको न्यूयोर्क सहरमा बस्दै आएका छन्। त्यहाँ उनी रेस्टुरेन्ट व्यवसाय गर्छन्।
रेस्टुरेन्टका ग्राहक मुख्य गरी स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने अमेरिकी, नेपाली तथा अन्य विदेशीहरू हुन्।
तीमध्ये स्थायी रूपमा बसोबास गर्ने विदेशी ग्राहकको संख्या बढी भएको दिल्लीरामले बताए।
'नेपालीको तुलनामा विदेशी ग्राहक नै बढी छन्,' उनले भने।
रेस्टुरेन्टमा भारतीय खाना सबभन्दा बढी बिक्री हुन्छ। मःम, चाउमिन र सेकुवा पनि ग्राहकमाझ लोकप्रिय छ। मासुजन्य परिकारका लागि आवश्यक सामग्री सिधै फार्मबाट ल्याइने उनले बताए।
यो रेस्टुरेन्टमा दिल्लीरामको एकल लगानी छ। यसको नजिकै उनी अर्को रेस्टुरेन्ट पनि चलाउँछन्।
व्यवस्थापन उनी आफै सम्हाल्छन्। दुइटा रेस्टुरेन्टमा करिब २१ जना कर्मचारी छन्।
दिल्लीराम आवश्यक परेको अवस्थामा पकाउँछन्। कर्मचारीलाई तालिम पनि दिन्छन्।
'कोही नयाँ हुन्छन्, उनीहरूलाई तालिम दिन्छु,' उनले भने, 'सेफ नभएको समयमा पकाउने काम पनि गर्छु।'
उनले रेस्टुरेन्ट चलाएको आठ वर्ष भयो।
दिल्लीराम सन् २०१० मा भिजिट भिसामा अमेरिका गएका थिए। सुरूमा टेक्सस पुगेका उनी करिब १५–२० दिन घुमे। त्यसपछि उनी न्यूजर्सी गए र भारतीयको रेस्टुरेन्टमा काम सुरू गरे।
उनको काम टेबलबाट भाँडा उठाउने, माझ्ने थियो। टेबलमा भाँडा उठाउन गएको बेला उनले वेटर नभएको मौकामा ग्राहकसँग अर्डर लिए।

'म निकै मन लगाएर काम गर्थेँ,' दिल्लीरामले सुनाए, 'मेरो मेहनत देखेर रेस्टुरेन्ट मालिकले दुई दिनमै म्यानेजरको पद दिए।'
क्षमता देखेरै आफूलाई म्यानेजरको प्रस्ताव गरेको उनी बताउँछन्। सुरूमा साताको ३२५ डलर तलब भनिएको थियो। म्यानेजर हुँदा ५५० डलर पाउने भए।
तर त्यहाँ उनले डेढ महिना मात्र काम गरे।
त्यसपछि रेस्टरेन्टकै साहुको ग्यास स्टेसनमा म्यानेजर भएर गए। त्यहाँ थोरै समय काम गरे। उनले अर्का भारतीयको ग्रोसरी स्टोरमा म्यानेजरको जागिर पाए।
'त्यहाँ पनि खासै धेरै काम गरिनँ। लुटपाट भयो, त्यसपछि छाडेँ,' उनले सुनाए।
उनलाई फेरि रेस्टुरेन्टमै काम गर्ने मन भयो। एक एजेन्सीमार्फत भाँडा माझ्न र पकाउन सिके। करिब १० दिनपछि तलबी काममा बसे।
त्यहाँ पाँच महिना काम गरे। त्यो बेलासम्म उनी पाककला सिपालु भइसकेका थिए।
उनको कामबाट प्रभावित भएर मालिकले उनलाई मेरिल्यान्ड क्षेत्रमा रहेको भारतीय रेस्टुरेन्टमा मुख्य सेफका रूपमा पठाए। त्यहाँ उनले एक वर्ष काम गरे।
त्यसपछि उनी न्यूयोर्क गए र त्यहाँ एक रेस्टुरेन्टमा सेफको रूपमा करिब डेढ वर्ष काम गरे। त्यसपछि राम्रो प्रस्ताव पाएर वासिङटनको एक रेस्टुरेन्टमा पाँच वर्ष काम गरे।
उनी फेरि न्यूयोर्क आए। त्यो बेलासम्म उनको परिवार पनि सँगै भइसकेको थियो।
उनले न्यूयोर्कमा राइड सेयरिङ कम्पनी उबरको ट्याक्सी चलाए।
आफूलाई मन लागेको समयमा गाडी चलाउन सकिने र आम्दानी एकदमै राम्रो भएकाले उनलाई काम सहजै लागेको थियो। तर केही समयपछि गर्न मन लागेन।
'एक दिन छोरीले तपाईं ट्याक्सी चलाउनुहुन्छ भनेर सोधिन्। छोरीको प्रश्न सामान्य थियो। यहाँ कामलाई सानो–ठूलो भनेर हेपिँदैन पनि। तर छोरी प्रश्नले मलाई बरू आफै व्यवसाय गर्छु भने जस्तो लाग्यो,' उनले भने।
यसपछि उनले आफ्नै रेस्टुरेन्ट खोलेका हुन्।
अमेरिकामा सीप भएका व्यक्तिका लागि व्यवसायमा राम्रो अवसर भएको दिल्लीराम बताउँछन्।
'व्यवसाय सफल बनाउन कर्मचारीको भर मात्रै पर्याप्त हुँदैन। आफूसँग पनि सीप, ज्ञान र रनाहा हुनुपर्छ,' उनले भने।
दिल्लीरामको अब नेपालमा पनि व्यवसाय गर्ने सोच छ।