शुक्रबार राति ८ बजेको थियो।
काठमाडौं महानगरका नगर प्रहरीहरू सूचना दिन आए — सामानहरू छिटो मिलाएर निस्किनुहोस्, तपाईंहरूका लागि तातो तातो खाना पर्खिरहेको छ!
सूचना पाएर ४५ वर्षीया मुना खनालले होटल सञ्चालकसँग सोधिन्, 'हामीलाई कहाँ लैजान लागिएको हो। तपाईंलाई थाहा छ?'
होटल सञ्चालकले आफूलाई थाहा नभएको बताए।
मनोहरा सुकुम्बासी बस्तीबाट विस्थापित मुना पछिल्ला १२ दिनदेखि गोंगबुको एउटा होटलमा बस्दै आएकी थिइन्। शुक्रबार राति खाना खाने समय हुनै लाग्दा नगर प्रहरीहरू एकाएक लिन आएका थिए। उनीहरूले खानसमेत नदिई साढे ८ बजेतिर ट्रकमा हालेर लगेको उनी बताउँछिन्।
'म त्यो बेला भर्खर डाइलाइसिस गरेर आएकी थिएँ। एकछिन आराम गर्न पनि पाइनँ। नगर प्रहरीले हतार गरेपछि हामी सिधै ट्रक चढेर आयौं,' उनले भनिन्, 'अँध्यारो भइसकेकाले कहाँ कहाँबाट आयौं भन्ने पनि देखिनँ। एकैपटक यहाँ आएपछि ट्रक रोकियो, अनि हामीलाई झारियो।'
ट्रकबाट झरेको केही समयपछि बल्ल उनले थाहा पाइन् — उनीहरूलाई होटलबाट झिकेर नागार्जुन नगरपालिका वडा नम्बर २ को इचंगु अपार्टमेन्ट ल्याइएको रहेछ।
यो अपार्टमेन्ट २०६८ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा सुकुम्बासीहरूलाई बस्न भनेरै बनाइएको हो। २०७१ सालमा यसको निर्माण सम्पन्न भएको थियो।
अपार्टमेन्ट परिसर पुगेपछि मुनाले तीनवटा भवन देखिन्। एउटामा वडा प्रहरी कार्यालय र अर्कोमा 'मानव सेवा आश्रम' को हरियो बोर्ड देखियो। बीचको भवनका केही कोठामा बत्ती बलेका थिए।
होटलबाट ल्याइएका १०७ जनालाई राख्ने भनिएको भवन त्यही थियो।
त्यसपछि नगर प्रहरीले सुकुम्बासीहरूको नाम बोलाउन थाले। र, नाम सँगसँगै उनीहरूको कोठा नम्बर पनि तोके।
मुना भुइँतलाको जी-०४ नम्बरको कोठामा परिन्।
डाइलाइसिस र दिनभरिको थकानले गलेकी मुना जसै कोठाभित्र छिरिन्, उनी छक्क परिन्।
मुना खनाल।
ढोका खोल्नासाथ नमिठो गन्ध आयो। वर्षौंदेखि बन्द कोठाभित्र छिरेजस्तो महसुस भयो।
ढोका खोलेपछि उनले देखिन् — एउटा मध्यम आकारको कोठा थियो। सानो शौचालय थियो। भान्साको भाग र एक–एक वटा खाट राखिएको थियो।
कोठा साह्रै फोहोर भएकाले उनले सबभन्दा पहिला कुचो खोजेर सरसफाइ गरिन्। कपडाले खाट पुछपाछ पारिन्। खाटमा ओढ्ने-ओछ्याउने केही थिएन।
'कस्तो ठाउँमा ल्याए भनेर एकछिनसम्म हेरेको हेर्यै भएँ। त्यसै टोलाएर बसिरहँदा मेरो श्रीमान (सनबहादुर खनाल) ले एउटा पातलो ब्ल्यांकेट बोकेर आउनुभयो,' उनले भनिन्, 'त्यो एउटा ब्ल्यांकेट ओढ्ने कि ओछ्याउने भनेर हामी बूढाबूढी छक्क पर्यौं।'
त्यत्तिकैमा उनीहरूलाई खाना खान बोलाइयो।
उनीहरूको खानाको व्यवस्था मानव सेवा आश्रममा गरिएको रहेछ। मुना र सनबहादुर अपार्टमेन्टबाट ५–१० मिनेट हिँडेर मानव सेवा आश्रमको कार्यालय पुगे।
'खाना देख्दा नै भोक हरायो,' मुनाले भनिन्, 'आफ्नै अनुहार देखिने दाल, गिलो भात, नुन नलागेको तरकारी। तैपनि बल गरी गरी खायौं। लिएको खानेकुरा फ्याँक्न नपाइने नियम रहेछ। खाएको भाँडा आफैले माझेर राख्नुपर्ने नियम पनि रहेछ।'
खाना खाँदावर्दा रातको ११ बजिसकेको थियो।
उनीहरू फर्किएर कोठामा आए।

मुनाका दुइटै मिर्गौला खराब भएका छन्। तीन–चार वर्षदेखि नियमित डाइलाइसिस गरिरहेकी छन्। राति सुत्नुअघि नियमित रूपले औषधि खानुपर्छ। उनले औषधि खान पानी खोजिन्। तर कोठामा पानी थिएन। धारा पनि सुख्खै थियो।
'मैले आसपासका मानिससँग मागेर बल्लतल्ल औषधि खाएँ,' उनले भनिन्।
पहिलो रात जसोतसो बित्यो। शनिबार बिहान फेरि अर्को सकस सुरू भयो।
कोठामा शौचालय जान पनि पानी थिएन। मानिसहरू भवनबाट बाहिर निस्किएर सडकमै होहल्ला गर्न थाले।
सुकुम्बासी अपार्टमेन्टमा पिउने र शौचालय जाने पानीधरि नभएको गुनासो सुनेपछि वरपरका स्थानीय बासिन्दाले नै १०–१५ जार पानी किनेर ल्याइदिए।
'अहिले बिहान ९ र साँझ ७ बजेतिर खान बोलाउँछन्। रूचेको खान्छौं, फर्किन्छौं,' मुनाले भनिन्, 'दुई छाक भातबाहेक अरू केही पाएका छैनौं। तातो पानी माग्दा त्यस्तो सुविधा छैन भन्छन्।'
उनले अगाडि भनिन्, 'हामीलाई त यहाँ साँघुरो कोठाभित्र थुनेजस्तो भइरहेको छ। न ओढ्नी छ, न ओछ्याउनी छ। न पिउने पानी नै छ। डाइलासिस गराउन वीर अस्पताल गइरहनुपर्छ। यहाँबाट त कसरी जाने, बाटो पनि देखेको छैन। हामीलाई त झनै अलपत्र पारिदिए।'
मनोहरा बस्तीबाटै ल्याइएकी सीता माझीको पनि यस्तै गुनासो छ।
सीता माझी
शुक्रबार राति अपार्टमेन्टमा ल्याइएको भए पनि आइतबार दिउँसोसम्म आफूहरूको हालखबर सोध्नधरि कोही नआएको उनले बताइन्।
'कैदीलाई जस्तो राति-राति ल्याएर बेवारिसे छाडिएको छ,' ३८ वर्षीया सीता माझीले आफू बसिरहेको कोठा देखाउँदै भनिन्, 'यति साँघुरो कोठामा दुइटा परिवार राखिएको छ। एउटा परिवारलाई एउटा खाटबाहेक केही छैन।'
सीताले चौथो तलाको ४०१ नम्बर कोठा पाएकी छन्। त्यहाँ उनी र उनकी ५८ वर्षीया आमा निरू माझी बस्छन्।
त्यही कोठाको अर्को भागमा सोमबहादुर माझी र उनकी पत्नी आशा माझीलाई राखिएको छ।
यी दुवै परिवारले आ-आफ्नो भागमा परेको सिंगल बेडमा जसोतसो रात काटिरहेका छन्। भुँइमा सुत्ने विकल्प त छ, तर त्यसका लागि भुइँमा ओछ्याउने कपडा उनीहरूसँग छैन।
वैशाख १३ गते मनोहराको सुकुम्बासी बस्तीबाट विस्थापित हुँदा उनीहरूले आफ्ना सामान त्यहीँ टहरामा राखेर आएका थिए। लिन जान पाएका छैनन्।
'एकसरो लुगाबाहेक केही छैन, जसोतसो बाँचेका छौं,' आशा माझीले भनिन्, 'अरूले हेर्दा सुकुम्बासीहरूलाई यस्तो राम्रो अपार्टमेन्टमा राखिएको छ भन्ने भएको होला, यहाँ हाम्रो अवस्था दर्दनाक छ।'
यति मात्र होइन, यहाँ बिहान-बेलुकी खुवाइने खानाले पेट नभरिएर चाउचाउ खाँदै बस्नुपरेको पनि उनीहरूले सुनाए।
७९ वर्षीय हनबहादुर खत्री र उनकी श्रीमती नरमाया।
सीतालाई त अर्को चिन्ता पनि छ।
उनका एक छोरा र एक छोरी छन्। छोरा पेप्सीकोलाको एउटा स्कुलमा १० कक्षा पढ्छन्। छोरी झम्सिखेलको कपडा पसलमा काम गर्छिन्। बस्तीबाट विस्थापित भएदेखि छोरी आफू काम गर्ने ठाउँमा साथीहरूसँग बसिरहेकी छन् भने छोरा पनि स्कुल नजिकै आफन्तको कोठामा बस्छन्। श्रीमान अहिले विदेशतिर छन्। भोलि परिवारका सबै सदस्य सँगै बस्नुपरे यो आधा-कोठे अपार्टमेन्टमा कसरी बस्ने होला भनेर उनी सुर्ता मानिरहेकी छन्।
'अहिले हामी आमाछोरी त जसोतसो अटाएका छौं। भोलि छोराछोरी आउँदा कहाँ राख्ने हो, थाहा छैन,' सीताले भनिन्।
उनले यहाँ आएदेखि निस्सासिएको अनुभव भइरहेको पनि बताएकी छन्।
'म त्यसै पनि एङ्जाइटीको बिरामी छु। उचाइमा बस्दा नकारात्मक ख्याल आइरहेको हुन्छ। यस्तो साँघुरो कोठामा बस्न झन् गाह्रो भएको छ,' उनले भनिन्, 'बाहिर केही किनेर खाऊँ भने पनि पसलेले बचन लगाउँछन्।'
उनले एउटा उदाहरण पनि सुनाइन् —
शनिबार दिउँसो भोक लागेर यहाँका केही सुकुम्बासी खाजा खान नजिकको पसल गएका थिए। त्यहाँ कसैले सुनाएछन्, 'एक हजार कमाउँदा ९ सय रूपैयाँ खाने रहेछन्! अनि किन सुकुम्बासी नबनून्!'
'त्यही भएर आसपास पसलमा खान जान पनि मन लाग्दैन,' सीताले भनिन्, 'हामीलाई त यहाँ खाए खा, नखाए मर् भन्या जस्तो व्यवहार गरिएको छ। हाम्रो कुरा सुन्न पनि कोही आएका छैनन्।'
यही अपार्टमेन्टमा हामीले ७९ वर्षीय हनबहादुर खत्रीलाई पनि भेट्यौं। उनी पिसाबको समस्या भएर बसिरहन सकेका थिएनन्।
'पिसाबसम्बन्धी समस्या थियो। हिजोदेखि अलि गाह्रो भइरहेको छ। औषधि किन्ने पैसा पनि छैन,' उनले भने, 'हाम्रो त झन् बिजोग भयो।'
हनबहादुरको ८ जनाको परिवार छ। शान्तिनगर बस्तीबाट हटाइएका उनको परिवारलाई सुरूमा कीर्तिपुर होल्डिङ सेन्टर लगिएको थियो। त्यहाँ नअट्ने भनेपछि राति ९/१० बजेतिर गंगबुको होटलमा राखियो। १२ दिन त्यहाँ राखेपछि यहाँ अपार्टमेन्टमा ल्याइएको हो।
'यहाँ आएदेखि पानी तताएर खानसमेत पाएका छैनौं। आश्रममा ३ सय जनालाई पकाएको खाना मन परेन, तैपनि बाँच्नलाई खानैपर्यो,' उनले भने, 'खोला किनारमा बस्दा पनि बाढी पस्ने डर थियो। नयाँ सरकारले केही राम्रो गर्छ कि भन्ने आस थियो। तर दु:खको जिन्दगी दु:खमै बित्ने भयो।'
उनको परिवार ठूलो भएकाले भवनको दोस्रो तलाको २०३ र २०४ नम्बरको कोठा दिइएको छ। दुवै कोठा गरी चारवटा बेड छन्। बाँकी सदस्य भुइँमा म्याट ओछ्याएर सुतिरहेका छन्। ओढ्नी-ओछ्याउनीहरू घर भत्काइएकै रात पानीले भिजेको उनी बताउँछन्।
हामी उनीसँग कुरा गरिरहँदा पहिलो तलाबाट सिँढी चढ्दै उनकी श्रीमती नरमाया खत्री आइपुगिन्। उनले श्रीमान हनबहादुरकै अगाडि उभिएर एकछिन कुरा सुनिन्। अनि आफ्नो समस्या थप्दै भनिन्, 'सुगर, दम, मुटु रोग छ, जे पायो त्यही खान मिल्दैन। सरकारले खासै वास्ता गरेन। अहिलेसम्म दु:ख गरेर भए पनि चित्तबुझ्दो दुई छाक खाएका थियौं। त्यो त पाएनौं पाएनौं, तातो पानीसमेत खान पाइएन।'
उनले मलिन स्वरमा अगाडि भनिन्, 'औषधि खान तातोपानी चाहिन्छ, दिनु न भन्दासमेत कसैले सुनिरहेका छैनन्।'
बस्तीमा छँदा उनका छोराबुहारीले नजिकै अरूको घरमा काम गर्थे। बस्ती भत्केपछि त्यो पनि छुटेको उनले बताइन्।
'हामीले भएका दुई-चार रूपैयाँ पनि १२ दिन होटलमा बस्दा औषधि खान खर्चियौं। अब मेडिकल खर्चका लागि पैसा छैन,' उनले भनिन्, 'खै बिरामीलाई सरकारले हेर्छ भन्थे। तर अहिलेसम्म कोही फर्किएर हेर्न आएका छैनन्।'
उनी अपार्टमेन्टको दायाँतर्फ रहेको वडा कार्यालयमा औषधि पाइन्छ कि भनेर आइतबार बिहानै पुगेका थिए। त्यहाँ जाँदा आफूहरूलाई केही जानकारी नआएको भनेर फर्काइदिएको उनी बताउँछिन्।
'रूघाखोकी, सामान्य टाउको दुखाइको मात्र औषधि दिनसक्छौं। सुगर, प्रेसर जस्ता रोगको औषधि वडाको स्वास्थ्य चौकीबाट दिँदैनौं भनेर फर्काइदिनुभयो,' नरमायाले भनिन्, 'औषधि सकिएपछि के गर्ने हो, कसलाई भन्ने हो केही थाहा छैन।'
दोस्रो तल्लाको २०६ कोठा नम्बरमा बसिरहेकी दिला दमाईले पनि बाँच्न औषधिकै भर पर्नुपर्ने समस्या सुनाइन्।
उनको पाँच-छ महिनाअघि मात्र पत्थरी र पाठेघरको अपरेसन भएको थियो। दिनहुँ औषधि खानुपर्छ। यस्तो ठाउँमा ल्याएर राखिदिएपछि कसरी बाँच्नु भन्ने उनको प्रश्न छ।
'यहाँ सिरानीहरू पनि फोहोर थियो। नधोई ओछ्याइएकाले होला रातभर शरीर चिलाएर सुत्न सकिएन। धुन पानी पनि छैन,' उनले भनिन्, 'नुहाउन पनि पानी छैन। त्यसैले पछ्यौरा ओछ्याएर सुतिरहेकी छु।'
यहाँको बिजोग देखेर छोराछोरीलाई साथीहरू र आफन्तको घरमा बस्न पठाएको उनले बताइन्।
अपार्टमेन्टमा ल्याइएका सुकुम्बासीहरूसँग कुरा गरेर बाहिरिँदा केही व्यक्ति ट्यांकी सफा गर्दै गरेका देखिए। तिनैमध्ये निरज दुलालले आफूहरू पानी ट्यांकी सफा गर्न एउटा कम्पनीबाट खटिएको जानकारी दिए।
'आजदेखि यहाँ पानीको समस्या हट्छ,' उनले भने।
त्यही बेला तीन-चार जना व्यक्ति भवनको दायाँतर्फ सेतो रङ लगाउँदै थिए।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी






