कर्मकल्चर
राष्ट्रपतिलाई आफ्नो नीति तथा कार्यक्रम वाचन गर्न लगाएर अरूसँग खासखुस गर्दै बसेर मात्रै पुगेनछ। संसदको वर्षभरिको सबभन्दा महत्त्वपूर्ण क्षणमै प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह जुरूक्क उठेर हिँडेको भिडिओ देख्दा जो कोही लोकतान्त्रिक नागरिक विष्मयमा परेको हुनुपर्छ।
राष्ट्रपति कुनै व्यक्तिको आसन होइन; नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित सम्मानित संस्था हो।
तिनै राष्ट्रपतिमार्फत् आफूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पूरा सुन्न पनि नसकेका कि, नसुन्न चाहेका?
वा देख्नु नपरोस् भनेर पन्छिएका?
कि व्यवस्था विरोधीहरूलाई रिझाउन खोजेका?
प्रधानमन्त्री बनेपछि न उनले राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका छन्, न देशवासीका नाममा कुनै सम्बोधन। संसदमा उभिएर चुइँक्क बोलेको पनि सुनिएको छैन।
न पूरा बैठक बस्ने, न बहसमा सहभागी हुने!
हलुका पहिरन र हाउभाउको प्रदर्शनमै सीमित देखिने। सेनाको कार्यक्रममा भने राष्ट्रिय पोसाकमा बकायदा सम्बोधन गर्ने!
जनप्रतिनिधिहरू कोही होइनन्, केही होइनन् भन्ने भेउ दिन खोजेका छन्। 'म नै हुँ' भन्ने अहंकारबाहेक अरू केही देखिँदैन।
संसद बैठकमा पस्दा होस् वा निस्किँदा, के नै बित्न लागेजस्तो हतार! कसैप्रति शिष्टाचार, अभिवादन वा संवाद केही नै छैन।
संसद के बालेन शाहको तमासा प्रदर्शन गर्ने स्थल हो?
कस्ता मैमत्तलाई नेपाली मतदाताले दुई–तिहाइ जिम्मेवारी सुम्पिएका हुन्? संसदप्रति सम्मान छैन, लोकतान्त्रिक संस्कार पनि छैन।
विडम्बना के छ भने, सुशासनको लोकप्रिय नारामार्फत् हामीले यस्तो प्रधानमन्त्री पाएका छौं, जसले राज्यका संस्था, प्रक्रिया र परम्परालाई न्यूनतम मर्यादा दिन पनि आवश्यक ठान्दैनन्।
संसद भनेको सत्तालाई वैधानिकता दिने र त्यसलाई सीमामा राख्ने सार्वभौम जनताका प्रतिनिधिहरूको थलो हो। आफूलाई निर्वाचित गराउने आफ्नै दलका सांसदप्रति समेत कुनै समभाव छैन। धन्यवाद दिनु त परको कुरा!
अरू दलका सांसद त खेसरीका दालसरह!
आफूलाई प्रधानमन्त्री उम्मेदवार बनाउने पार्टीप्रति न कुनै भावना छ, न मतदाताप्रति जबाफदेहिता।
खल्तीबाट मन्त्री बनाएको छ। संसद छलेर अध्यादेशको भरमार ल्याएको छ, अनि चाहिने–नचाहिने बेफ्वाँकका रोब र रवैयाको जबाफ पार्टीलाई दिन बाध्य बनाएको छ।
कूटनीति धेरै जानेजस्तो स्वाङ पनि उत्तिकै देखिन्छ। हाम्रो जस्तो सन्तुलन र समन्वयमा चल्नुपर्ने देशले विदेशी शक्तिहरूलाई 'देखाइदिन' खोजेजस्तो व्यवहार। के देखाउन खोजेका हुन्!
कुनै सन्देश लिएर आउने मित्रराष्ट्रका प्रतिनिधिहरूलाई समेत बेवास्ता गर्ने उनको शैली आन्तरिक लोकरिझ्याइँ बढाउने अभिप्रायले मात्र होला त?
परराष्ट्र सम्बन्ध परस्पर विश्वास, आपसी सम्मान र शिष्टाचार संवादका आधारमा विश्वसनीय ढंगले चलाउनमा उनको रूचि देखिँदैन।
भूराजनीतिको गतिशील चेपबीच प्रत्याशित/अप्रत्याशित दबाबहरूबाट उनी कसरी जोगिएलान्?
वैदेशिक सहयोग मात्रै होइन, विदेशमा पसिना बगाएर पैसा पठाउने नागरिकहरूको श्रमले अर्थतन्त्र धानेको हेक्का पनि छ कि छैन?
फूर्ति भने टाइम म्यागजिनले घोषणा गरेको कतिऔं नम्बरको 'वर्ष व्यक्ति' बाट नाक फुलाएको जस्तो!
हान्ने राँगोझैं हिँड्ने, फटाफट हिँडेको रिल खिचाएर आफूलाई 'एक्सन किङ' को भान पार्ने। सामाजिक सञ्जालमार्फत् डुक्रिने!
सञ्जालमार्फत् शासन शैलीले सुशासन ल्याउने भए जबाफदेहिता र पारदर्शितासहित सामूहिक जिम्मेवारी बोधबाट निर्दिष्ट कार्यकारी र शक्ति सन्तुलनकारी निकायहरू किन संविधानले निश्चित गर्थ्यो?
उनलाई कसैले जबाफदेही बनाउन सक्ने देखिन्न। राष्ट्रपति संस्थालाई सम्मान नगर्ने र संसदलाई नै बेवास्ता गर्दै जाने उनको चालबाट उनको दल भोलि पिल्सिँदै जानेछ।
दलको प्रशिक्षणमा सरिक भएनन् भन्ने प्रश्न होइन, उनी दलको दायरामै छैनन् भन्ने स्वीकार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपायहीन अवस्थामा पुग्न बेर छैन।
उनलाई बुईमा बोकेर निर्वाचनमा गएको त्यो पार्टी रक्षात्मक त बन्न थालिसकेको छ।
उनको शैली एकल सनकमा आधारित हो भने हाम्रो लोकतन्त्रका लागि उनी खतरा हुन्।
नागरिक अभियानी दोभान राईको मनोवैज्ञानिक विश्लेषणमा, बालेन शाह सानो चित्त र ठूलो अहम् भएका व्यक्ति हुन्।
दिनभर आफ्नो सानो चित्त चाट्दै, बेलाबेला देखिने अहंकारको खिल गन्दै बस्ने— उनको संसारको परिधि त्यही आत्मरतिमा सीमित छ।
उनी लेख्छिन्, 'उनका सनकहरू विक्षिप्त आत्मरतिका त्यही उकुसमुकुस साँघुरोपनबाट आउने ज्वारभाटा हुन्।'
'राज्य सम्हाल्ने जिम्मा पाएको एउटा सानो–चित्तेको सनकमा सुशासन देख्ने' हाम्रो प्रवृत्तिप्रति कटाक्ष गर्दै, सरकारका गरीवद्वेषी कदमहरूप्रति समाजको सामूहिक मनोविज्ञानलाई संकेत गरी उनी लेख्छिन्, 'राज्य–आतंकमा उत्साहित हुने हाम्रो समाज: सानो चेत, ठूलो लोभ।'
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle