सेयर बजारमा लगानीको सबभन्दा सामान्य नियम मानिन्छ — न्यून मूल्यमा किन्ने र उच्च मूल्यमा बेच्ने।
व्यवहारमा भने यो नियमले धेरै लगानीकर्तालाई भ्रममा पनि पार्छ। विशेषगरी कुनै कम्पनीको पुरानो उच्च मूल्यलाई मात्रै आधार बनाएर लगानी गर्नेहरू मूल्यकै कारण झुक्किन सक्छन्।
यदि कुनै कम्पनीको सेयर मूल्य केही वर्षअघि ३००० रूपैयाँ पुगेको थियो र अहिले ८०० रूपैयाँमा पाइएको छ भने धेरैलाई त्यो ‘सस्तो’ लागेको हुन सक्छ। मूल्य धेरै घटेकाले फेरि पुरानै तहमा पुग्न सक्छ र ठूलो लाभ हुन सक्छ भन्ने सोच पनि स्वाभाविक हो।
तर सेयर बजारमा सधैं यस्तो हुँदैन।
कुनै कम्पनीको सेयर मूल्य एक समय अत्यधिक बढ्नुका पछाडि विभिन्न कारण हुन सक्छन्। बजार बुलिस प्रवृत्तिमा हुनु, कम्पनीको वित्तीय अवस्था बलियो बन्नु, उच्च लाभांश दिने अपेक्षा बढ्नु, बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुनु वा बजारमा चलेका हल्ला र चलखेलले पनि मूल्य अस्वाभाविक रूपमा बढाउन सक्छ।
यस्ता कारण कुनै समय उच्च पुगेको मूल्य भविष्यमा फेरि दोहोरिन्छ भन्ने निश्चित हुँदैन। विश्वका धेरै सेयर बजारमा यस्ता उदाहरण छन्, जहाँ कम्पनीको सेयर मूल्य दशकौंसम्म पनि पुरानो उच्च विन्दुमा फर्किन सकेको छैन।
नेपालकै बैंकिङ क्षेत्रलाई हेर्दा पनि यस्तो उदाहरण भेटिन्छ।
आर्थिक वर्ष २०७३/७४ तिर एभरेष्ट बैंक, नबिल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य निकै उच्च थियो। त्यस समयमा एभरेस्ट बैंकको मूल्य करिब ३३८५ रूपैयाँ, नबिल बैंकको २३४४ रूपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको करिब ३६०० रूपैयाँसम्म पुगेको थियो।
हाल यी बैंकहरूको सेयर मूल्य करिब ५०० देखि ७०० रूपैयाँको हाराहारीमा कारोबार भइरहेको छ।
त्यति बेला राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको चुक्तापुँजी चार गुणाले बढाउने नीति ल्याएको थियो। बैंकहरूले हकप्रद र बोनस सेयर जारी गर्ने अपेक्षा बढेपछि लगानीकर्ताको आकर्षण तीव्र बनेको थियो र मूल्य पनि तीव्र रूपमा उकालो लागेको थियो।
त्यसपछिका वर्षहरूमा ती बैंकहरूको मूल्य फेरि पुरानै तहमा पुगेको देखिएको छैन। बोनस र हकप्रद समायोजनपछि पनि पुरानो उच्च मूल्यलाई आधार मानेर मात्रै लगानी गर्नु सही रणनीति मानिँदैन।
आज पनि बजारमा कतिपय कम्पनीहरूको मूल्य उच्च देखिन्छ। तर अहिले उच्च भएको मूल्य भविष्यमा पनि टिकिरहन्छ वा फेरि त्यही तहमा पुग्छ भन्ने निश्चित हुँदैन।
किनभने कम्पनीको नाफा, व्यवसायको अवस्था, अर्थतन्त्र, ब्याजदर, लगानीकर्ताको मनोविज्ञान र बजारको प्रवृत्ति समयसँगै बदलिन्छ।
त्यसैले लगानी गर्दा केवल पुरानो उच्च मूल्यलाई आधार बनाउनु पर्याप्त हुँदैन। कम्पनीले कति नाफा कमाइरहेको छ, प्रतिसेयर आम्दानी (इपिएस) कस्तो छ, नेटवर्थ कति छ, ऋणको अवस्था कस्तो छ र भविष्यमा लाभांश दिन सक्ने क्षमता कति छ भन्ने विषय हेर्न आवश्यक हुन्छ।
यदि कम्पनीको व्यवसाय बलियो छ, व्यवस्थापन सक्षम छ र भविष्यमा वृद्धि सम्भावना राम्रो छ भने मात्रै सेयर मूल्य पुनः बढेर पुरानै तहमा पुग्न सक्छ।