वैशाख लागेयता दिनहुँजसो पानी परिरहेको छ। २४ घन्टामा सय मिलिमिटरभन्दा बढी पानी एकाध ठाउँमा परेको छ तर मध्यमवर्षा भने जताततै भएको छ।
प्रि–मनसुन याममा हालसम्म २१२.४० मिलिमिटर वर्षा भइसकेको छ। यो भनेको औसत वर्षाको ९२.८ प्रतिशत हो।
जल तथा मौसम विज्ञान विभागले फागुन १७ देखि जेठ १७ सम्मको अवधिलाई प्रि–मनसुन मान्ने गरेको छ। जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको अवधिलाई 'मनसुन ऋतु' मान्ने गरेको छ।
मौसमविद् विनोद पोखरेलले पछिल्लो समय पश्चिमी वायुको सक्रियता बढेको बताएका छन्। पछिल्लो २४ घन्टामा देशका अधिकांश मौसमी केन्द्रमा वर्षा मापन भएको छ। धेरै पानी म्याग्दीको तातोपानी क्षेत्रमा परेको छ। त्यहाँ पछिल्लो २४ घन्टामा १०४.२ मिलिमिटर वर्षा भएको छ।कास्कीको लुम्ले क्षेत्रमा ७० मिलिमिटर पानी परेको छ।
नवलपराजीको दुम्कौलीमा ६२.८, कास्कीको लामापाटनमा ६४, पोखरा विमानस्थल क्षेत्रमा ६०.२ मिलिमिटर वर्षा भएको छ।
पश्चिमी वायुको सक्रियता तत्काल कमजोर हुने सम्भावना नदेखिएको पोखरेलले बताएका छन्।
‘पानी कहिले रोकिन्छ भनेर नसोध्नु होला किनकि अब त पश्चिमी वायुले मनसुन जोड्ला जस्तो छ,’ उनले भनेका छन्।
जेठको मध्यसम्म हरेक दिन पानी पर्ने सम्भावना देखिएको उनको भनाइ छ।
‘तर सबै ठाउँमा दैनिक नपर्न सक्छ,’ उनले भनेका छन्।
जल तथा मौसव विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखाको समेत आंशिक प्रभाव रहेको बताएको छ।
जसअनुसार मंगलबार बिहान कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैगरी, कोशी तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ।