आज हामी प्रोस्टेट नामक अंगमा लाग्ने क्यान्सरबारे कुरा गर्नेछौं।
पुरूषको शरीरमा प्रोस्टेट भन्ने एउटा ग्रन्थी हुन्छ, जसको आकार सानोमा अमला वा बदामजत्रो हुन सक्छ। यो सामान्यतया ५ देखि १० ग्रामसम्मको हुन्छ।
उमेर बढ्दै जाँदा हर्मोनका कारण प्रोस्टेटको आकार पनि बढ्दै जान्छ। विशेष गरेर ४० वर्षपछि यसको आकार बढ्न थाल्छ र ३० देखि ६० ग्रामसम्म पुग्न सक्छ। यसैमा कहिलेकाहीँ क्यान्सर लुकेर आउन सक्छ।
यो युवा अवस्थामा हुने रोग होइन। उमेर बढ्दै जाँदा यसको जोखिम पनि बढ्दै जान्छ।
विश्वभर पुरूषहरूमा हुने क्यान्सरमध्ये प्रोस्टेट क्यान्सर दोस्रो नम्बरमा पर्छ। अमेरिका, युरोप र अस्ट्रेलियाजस्ता देशहरूमा त यो पहिलो नम्बरमै छ।
हरेक क्यान्सरका विभिन्न जोखिमका कारण हुन्छन्। प्रोस्टेट क्यान्सर यही कारणले हुन्छ भन्ने निश्चित कारण भने अहिलेसम्म पत्ता लागेको छैन।
मुख्यतः जीवनशैली, वातावरणीय कारण, बढ्दो उमेर र वंशाणुगत कारण धेरै पाइन्छ।
कसैको परिवारमा बुबा वा हजुरबुबालाई प्रोस्टेट क्यान्सर भएको छ भने अर्को पुस्तामा पनि यसको जोखिम रहन्छ। परिवारमा जति धेरै सदस्यलाई भएको छ, त्यति नै अन्य सदस्यलाई हुने सम्भावना बढ्छ।
तर यसको जोखिमको मात्रा कति हुन्छ भन्ने अझै स्पष्ट रूपमा पत्ता लागिसकेको छैन।
लक्षणहरू
प्रोस्टेट क्यान्सरका लक्षण चरण अनुसार फरक फरक हुन्छ। अहिले जनचेतना बढेको र परीक्षणका प्रविधि धेरै ठाउँमा उपलब्ध भएकाले सुरूआती चरणमै परीक्षण गराउनेको संख्या पनि बढेको छ।
क्यान्सर शरीरका अन्य भागमा फैलिसकेको छ भने विभिन्न लक्षण देखिन थाल्छन्, जस्तै —
- हड्डी दुख्ने
- जन्डिस हुने
- खुट्टा सुन्निने
- पिसाबमा रगत आउने
- पिसाब गर्न अप्ठ्यारो हुने
- ढाड दुख्ने
तर यस्ता लक्षण प्रायः ढिलो मात्र देखिन्छन्।
विकसित देशहरूमा जनचेतना र परीक्षणको सहजताका कारण सुरूआती चरणमै रोग पत्ता लाग्ने गरेको छ।
कसले स्क्रिनिङ गर्ने?
प्रोस्टेट क्यान्सरको जोखिम छ कि छैन भनेर सबैले स्क्रिनिङ गर्ने कि नगर्ने भन्ने जिज्ञासा हुन सक्छ। युवा उमेरमै यसबारे धेरै तनाव लिनु आवश्यक छैन।
सामान्यतया प्रोस्टेट क्यान्सर ५० वर्षपछि बढी देखिन्छ। यो क्यान्सर भएका बिरामीमध्ये ६५ देखि ७५ वर्ष उमेर समूहमा बढी पाइन्छ। तर परिवारमा भएको छ भने ४० वर्ष नपुग्दै पनि परीक्षण गर्नुपर्ने हुन सक्छ।
यद्यपि ५० वर्षभन्दा कम उमेरमा यो क्यान्सर हुनु दुर्लभ मानिन्छ।
परीक्षण कसरी गरिन्छ?
यसका लागि पिसाब र रगत परीक्षण गरिन्छ। रगतमा प्रोस्टेट सम्बन्धी परीक्षण हुन्छ। सुरूआतमा भिडिओ एक्स–रे गरिन्छ। शंका लागेमा प्रोस्टेटको एमआरआई गर्न सकिन्छ।
अझै शंका लागेमा बायोप्सी गरिन्छ। बायोप्सीमा क्यान्सर देखिएपछि उपचार अगाडि बढाइन्छ।
उपचार कसरी गरिन्छ?
क्यान्सर सुरूआती अवस्थामा छ, थोरै बढेको छ, प्रोस्टेट ग्रन्थिबाट बाहिर गएको छ वा धेरै फैलिसकेको छ भन्ने आधारमा उपचार गरिन्छ। बिरामीको उमेर, स्वास्थ्य अवस्था र अन्य रोगहरू छन् कि छैनन् भन्ने कुरा पनि हेरिन्छ।
उपचारमा रेडियोथेरापी, किमोथेरापी, सर्जरी गरिन्छ। सर्जरीमा पनि ओपन सर्जरी, ल्याप्रोस्कोपिक सर्जरी, रोबोटिक सर्जरी लगायत छन्।
रोबोटिक अत्याधुनिक प्रविधि हो। सन् २००१ देखि अमेरिकाबाट सुरू भएको यो प्रविधि पछिल्लो १५–२० वर्षयता धेरै लोकप्रिय भएको छ।
चितवन मेडिकल कलेजमा यो प्रविधिबाट हामीले उपचार गरिरहेका छौं। अब काठमाडौंमा पनि सुरू गर्ने तयारी छ।
मैले अमेरिका र बेलायतमा पनि यस प्रविधिबाट उपचार गरिसकेको छु। रोबोटिक सर्जरी अत्याधुनिक भएकाले सहज रूपमा उपचार गर्न सकिन्छ र बिरामी छिट्टै निको हुन्छन्।
कतिपय अवस्थामा सर्जरी गर्न नमिल्दा रेडियोथेरापी दिइन्छ। यदि क्यान्सर कलेजो वा हड्डीमा फैलिएको छ भने सर्जरी वा रेडियोथेरापीले मात्र काम नगर्न सक्छ। यस्तो अवस्थामा किमोथेरापी दिइन्छ।
बिरामीको रोगको अवस्था र परिवारको चाहनाअनुसार उपचारको निर्णय गरिन्छ।
यस रोगबाट बच्ने मुख्य उपाय जनचेतना र स्वस्थ जीवनशैली हो। प्रोस्टेटका लागि विशेष खानेकुरा वा नखाने भन्ने निश्चित छैन।
तर धूम्रपान, मद्यपान लगायत खराब बानीबाट टाढा रहनुपर्छ।
(रोबोटिक तथा युरो–सर्जन डा. प्रतीकमानसिंह गुरूङसँगको भिडिओ कुराकानी)