प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले यस वर्षको एसइई परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने घोषणा गर्दा धेरैले यसलाई शंकाले हेरेका थिए। विगतमा तीन-चार महिना लाग्दै आएको नतिजा एक महिनामै सार्वजनिक गर्न कसरी सम्भव होला भन्ने धेरैको भनाइ थियो।
तर सरकारले आफ्नो घोषणा सफल रूपमा कार्यान्वयन गरेर एसइई नतिजामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
चैत १९ देखि देशभर सञ्चालन भएको एसइई परीक्षा चैत २९ गते सकिएको थियो।
सरकारले जाँच सकिएको एक महिना अर्थात् वैशाख २९ गते नतिजा सार्वजनिक गर्ने भनी मिति तोकेकोमा त्योभन्दा एक दिनअगाडि सोमबार राति नै रिजल्ट निकालेको हो। पहिले पहिले ६ महिनासम्म पनि नहुने यो रिजल्ट केही वर्षयता तीन महिनामा हुँदै आएको थियो।
बालेन सरकारले पहिलो पटक एक महिनामै रिजल्ट निकालेर सरकारी संयन्त्रलाई प्रभावकारी ढंगमा परिचालन गरियो भने द्रुत गतिमा काम फत्ते गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ। यसअघिका वर्षमा एसइई नतिजा जेठ अन्तिमदेखि असार पहिलो साता सार्वजनिक गरिन्थ्यो।
धेरैले शंकाले हेरेको यो काम यति कम समयमै कसरी फत्ते भयो?
हामीले यसबारे परीक्षा नियन्त्रण कार्यालयकी सूचना अधिकारी लक्ष्मी मरासिनीसँग कुरा गरेका छौं।
उनका अनुसार नतिजा छिटो सार्वजनिक गर्न कर्मचारीहरूले पछिल्लो एक महिना एक दिन पनि बिदा नबसी काम गरेका थिए।
निर्धारित समयभित्र रिजल्ट सार्वजनिक गर्न परीक्षा नियन्त्रण शाखा मात्र नभई अरू शाखाका कर्मचारीको पनि बिदा काटिएको थियो। शनिबार र अरू सार्वजनिक बिदा पनि दिइएको थिएन।
यति मात्र होइन, कर्मचारीहरूले दिनको १२ घन्टाभन्दा बढी लगातार काम गरेका थिए।
'एक महिनासम्म एक दिन पनि बिदा नलिई बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म काम गरिएको छ,' उनले भनिन्।
उनका अनुसार परीक्षा नियन्त्रण शाखामा सीमित कर्मचारी भए पनि कामको चाप बढेकाले थप जनशक्ति परिचालन गरिएको थियो।
'कति जना थपिएका छन् भन्ने तथ्यांक हेर्नुपर्छ, तर यसपालि अघिल्लो वर्षभन्दा बढी जनशक्ति परिचालन गरिएको छ,' उनले भनिन्।
थप कर्मचारीलाई हाजिरीका आधारमा पारिश्रमिक दिने गरी परिचालन गरिएको उनले बताइन्।
यसरी हाजिरीमा काम गर्नेहरूलाई काम सम्पन्न भएपछि पारिश्रमिक दिने व्यवस्था गरिएको उनको भनाइ छ।
यस वर्ष नतिजा छिटो आउनुको अर्को कारण परीक्षा केन्द्रमै कापी जाँच्ने व्यवस्था पनि हो।
बोर्डले एक महिनामै रिजल्ट सार्वजनिक गर्ने सरकारको निर्णय अनुसार हरेक विषयको परीक्षा सकिएको तीन दिनभित्र कापी जाँच्ने भनेको थियो। त्यसै अनुसार वैशाख पहिलो साताभित्रै सबै विषयको कापी जाँचेर उत्तर पुस्तिका र नम्बर बोर्डमा बुझाउन भनिएको थियो।
हरेक दिन बिहान ८ देखि ११ बजेसम्म परीक्षा चल्थ्यो। विषयगत परीक्षा सकिएपछि त्यही दिनबाट उत्तरपुस्तिका जाँच्न सुरू हुन्थ्यो। हामीले त्यति बेला विभिन्न परीक्षा केन्द्रका प्रधानाध्यापकसँग कुरा गर्दा उनीहरूले आसपासको विद्यालयका विषयगत शिक्षकसँग समन्वय गरेर भए पनि उत्तरपुस्तिका जाँच भइरहेको बताएका थिए। उनीहरू बिहान, दिउँसो वा बेलुका समय मिलाएर कापी जाँच्न आउँथे। विषयगत शिक्षकको कमी नभएका परीक्षा केन्द्रले भने बाहिरबाट शिक्षक बोलाएका थिएनन्।
एसइईको कापी जाँच्ने अनुमति हरेक शिक्षकलाई हुँदैन। शिक्षक लाइसेन्स पाएका र कम्तिमा दुई वर्षदेखि एसइई तहका विद्यार्थीलाई सम्बन्धित विषय पढाइरहेका शिक्षकले मात्र उक्त विषयको उत्तरपुस्तिका जाँच्न पाउने व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले गरेको छ।
यसरी हरेक विषयको जाँच सकिएलगत्तै कापी जाँच्न थालिएकाले एसइई सुरू भएदेखि विद्यालयहरू बिहान ६ देखि साँझ ७ बजेसम्म खुला राखिएको थियो। परीक्षा अवधिभर ६–७ जना प्रहरी खटिएका हुन्थे भने एक जना प्रहरी चौबीसै घन्टा विद्यालयको सुरक्षामा रहने व्यवस्था गरिएको थियो।
यसरी कापी जाँच्न सकिएपछि जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा पठाइन्थ्यो।
यही प्रकारले परीक्षा सकिएको एक साताभित्रै सबै केन्द्रले मार्कस्लिप र उत्तरपुस्तिका बुझाएका कारण प्रक्रिया छिटो भएको मरासिनी बताउँछिन्।
'बोर्डले तोकेको यो समयसीमाभित्र देशभरका परीक्षा केन्द्रबाट उत्तर पुस्तिका र नम्बर प्राप्त भएकाले एक महिनाभित्रै रिजल्ट निकाल्न सम्भव भएको हो,' उनले भनिन्।
हामीले यसको प्रगतिबारे बुझ्न जाँच सकिएलगत्तै काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको अवस्था हेरेका थियौं।
यी तीन जिल्लामध्ये भक्तपुरले सबभन्दा छिटो चैत ३० गतेभित्रै सबै परीक्षा केन्द्रका उत्तर पुस्तिका र नम्बर बुझाएको थियो भने ललितपुर र काठमाडौंले वैशाख २ भित्रै बुझाएका थिए।
यस वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका थिए। त्यसमा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना छन्।
यस्तो रह्यो यस वर्षको रिजल्ट
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार यस वर्ष कुल ६५.९८ प्रतिशतभन्दा बढी विद्यार्थी ग्रेडेड भएका छन्।
बोर्डका अनुसार २ लाख ८४ हजार १६० जना ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ जना ननग्रेडेड भएका छन्। यो नतिजा अघिल्लो वर्षको तुलनामा चार प्रतिशत सुधार भएको बोर्डले जनाएको छ।
विभिन्न जिपिए ल्याउने विद्यार्थी संख्या यस प्रकार छ —
१.६ देखि २ जिपिए — ७ जना
२ देखि २.४ जिपिए — ५१९० जना
२.४ देखि २.८ जिपिए — ५५९७७ जना
२.८ देखि ३.२ जिपिए — ९४२२२ जना
३.२ देखि ३.६ जिपिए — ८०३७२ जना
३.६ देखि ४ जिपिए — ८३९२ जना
परीक्षा बोर्डले निम्न तरिकाबाट एसइई नतिजा हेर्न सकिने जनाएको छ —
