रहरलाग्दो गरी बोटमा लाग्दै गरेका मकैका घोगासहितको सिंगो बारी रूखबाट फुत्त ओर्लिने बाँदरको हुलले एकैछिनमा उजाड बनाइदिँदा किसानको मनमा के बित्दो हो?
प्रतिमन (४० किलो) एक लाख रूपैयाँमा बिक्री हुने 'खोल्सीको सुन' भनिने अलैंचीको बोटको गुभा मासिने गरी बाँदरले स्वाहा पारिदिँदा किसानको मनमुटुमा कति ठूलो राँको बल्दो हो?
पहाडी भूभागका बहुसंख्यक भूगोलमा आम बनिसकेको यो समस्या तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसानका लागि लगभग दैनिकी नै हो।
आहारा खोजीमा जंगलबाट मानव बस्तीतिर हुल बाँधेर पस्ने बाँदरको यही पीडाले नगरपालिकालाई यस्तो निर्णय गर्न बाध्य बनाएको छ, जसको चर्चा अहिले देशव्यापी रूपमा भएको छ।
बाँदर लखेट्नकै लागि भनेर लालीगुराँस नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।
'अहिलेसम्म एक्लाएक्लै आ–आफ्नो बालीनाली जोगाउन सबै खटिँदै आएका छौं। तर यो प्रयासले केही उपाय लागेन,' लालीगुराँसका मेयर अर्जुन मावोहाङले सेतोपाटीसँग भने, 'अब सार्वजनिक बिदा नै दिएर नगरभरिबाट बाँदरलाई नगरको सिमाना कटाउने अभियान चलाउन बाध्य भयौं।'
नगरपालिकाले मंगलबार एउटा सूचना जारी गर्दै जेठ १ गते शुक्रबार अत्यावश्यक बाहेकका सेवा बन्द गरेर सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।
'हामी जेठ १ र २ गते बाँदर लखेटेर नगरपालिका सीमा कटाउने अभियान चलाउँदैछौं,' उनले भने।
नगरपालिकाले बाँदर लखेट्नकै लागि भनेर सार्वजनिक बिदा दिएको विषयलाई लिएर सामाजिक सन्जालमा धेरैथरी प्रतिक्रिया उत्पन्न भएको छ।
कतिले यसलाई रमाइलो रूपमा पनि लिएका छन्।
यद्यपि यो निर्णयको पछाडि पहाडी भेगका बासिन्दाको डर, थकान र बाँच्न संघर्ष गरिरहेका किसानहरूको कथा लुकेको मेयर मावोहाङ बताउँछन्।
'अलैंची अहिले पनि एक लाख रूपैयाँ मन (४० किलो) बिक्री हुन्छ। बोटै मासिने गरी बाँदरले अलैंची बगान सखाप पारिदिएपछि मान्छे के आशाले गाउँमा बस्छ,' उनले भने, 'मकै होस् या अरू बालीनाली, केही नजोगिने भएरै यहाँबाट बसाइँसराइ तीव्र छ। बाँदरको समस्या गाउँमा विपत्ति जस्तै बनिसकेको छ।'
लालीगुराँस नगरको मेयरमा दोस्रो कार्यकालको अन्तिम वर्षमा काम गरिरहेका उनले थपे, 'मान्छे बसेको हरेकजसो ठाउँमा खानेपानी पुगेको छ, बिजुली पुगेको छ, बाटो पुगेको छ। तर भोलिपल्ट पुग्दा घरमा ताल्चा लागेको हुन्छ। मान्छे कता लागे भनेर छिमेकीलाई सोध्दा बसाइँ हिँडे भन्छन्। जब बाँच्ने आधार नै सखाप हुन्छ अनि मान्छे कसरी बस्छ?'
प्रदेश र संघीय सरकारले बाँदर आतंक घटाउन पटक्कै चासो नदिएको विषयले पनि सार्वजनिक बिदा दिन बाध्य पारेको नगरपालिकाको भनाइ छ।
'माथिल्लो तहको सरकारको ध्यानाकर्षण गर्न पनि हामीले बिदा दिएरै बाँदर लखेट्ने निर्णय गरेका हौं,' मावोहाङले भने।
नगरपालिकाको यो उद्देश्य भने सफल भएको छ। नगरले बाँदर लखेट्नकै लागि सार्वजनिक बिदा दिएपछि प्रधानमन्त्री बालेन शाहको सचिवालयले चासो राखेको मेयर मावोहाङले जानकारी दिए। यसले सरकारको ध्यानाकर्षण भएको अर्थमा आफूले बुझेको उनको भनाइ छ।
नगरले बाँदर लखेट्ने अभियानमा किसान, जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक सबैलाई सहभागी हुन आह्वान गरेको छ। गाउँका विभिन्न डाँडाकाँडा, जंगलको छेउ र बारी आसपास मानिसहरू जम्मा भएर सामूहिक रूपमा बाँदर धपाउने योजना बनाइएको नगरको भनाइ छ।
पहाडका धेरै गाउँमा अहिले बिहानको पहिलो काम चिया पकाउनु होइन, बाँदर धपाउनु बनेको भुक्तमानहरूको भनाइ छ।
'मकै पाक्न थालेपछि त झन् हाम्रो निद्रा हराउँछ,' लालीगुराँस वडा नम्बर २ का किसान सूर्यबहादुर राईले भने, 'बाँदरको एउटा मात्रै हुल आयो भने पनि केही मिनेटमै महिनौंको कमाइ सखाप पारिदिन्छ।'
यो समस्या मकैमा सीमित छैन।
अलैंची, फलफूल, तरकारीदेखि अन्य नगदेबालीसम्म बाँदरले नोक्सानी पुर्याइरहेको छ। त्यसैले चालु आर्थिक वर्षको बजेटमै नगरले 'कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण' शीर्षकमा बजेट नै विनियोजन गरेको छ।
वडा नम्बर ८ को मेघा पुच्छार, वडा नम्बर ६ र ८ को संगमस्थल नागेश्वरी तथा वडा नम्बर ५ को सियापा पुच्छार क्षेत्रमा बाँदर हेर्न र धपाउन 'बाँदर हेरालु' समेत खटाइएको छ।
यसले पनि समाधान नदिएको मेयर मावोहाङको भनाइ छ।
स्थानीयबासीका अनुसार पहाडमा पहिले बाँदर जंगलमै सीमित थिए। अहिले जंगल साँघुरिए। खेती प्रणाली बदलियो। गाउँ र जंगलको दुरी घट्यो बाँदर र मान्छेको द्वन्द्व बढ्दै गयो।
विज्ञहरूले वन विनाश, खाद्यान्न कमी र मानव बस्ती विस्तारलाई यसको कारण मान्दै आएका छन्।
मेयर मावोहाङ भने बाँदरलाई मार्ने होइन, जंगलमै फर्काउने सोचमा छन्।
'उनीहरू पनि बाँचून्,' उनले भने, 'मानव बस्तीको आधार पनि जोगियोस्। त्यसैले लेक र औल क्षेत्रमा फलफूलका बिरूवा रोपेका छौं। बाँदर जंगलमै भुलिऊन् भन्ने प्रयास हो।'
लालीगुराँसले गरिरहेको अभ्यास धरानका तत्कालीन मेयर हर्क साम्पाङले पनि गरेका थिए। सुनसरीको धरान सहर पनि बाँदर आतंकले सताइएको ठाउँ हो।
त्यही पीडाबाट नगरबासीलाई मुक्ति दिन भन्दै अहिले श्रम संस्कृतिको अध्यक्ष बनेर संसद पुगेका साम्पाङले २०७९ सालमा मेयर हुनासाथ जंगलमा फलफूल लगाउने अभियान चलाएका थिए।
लालीगुराँसका मेयर मावोहाङको भनाइ अनुसार यो मानिस र बाँदरबीचको द्वन्द्वको कुरा मात्रै होइन। बदलिँदो वातावरण र कमजोर ग्रामीण अर्थतन्त्रको कथा पनि हो।
अहिले लालीगुराँसमा बाँदर धपाउने सार्वजनिक बिदा घोषणा भएपछि देशभर चासो बढेको छ। कसैले यसलाई अनौठो प्रशासनिक निर्णय भनेका छन्। कसैले किसानको पीडालाई राज्यले बल्ल देख्न थालेको संकेत मानेका छन्।
तर गाउँका किसानहरूलाई यो समाचारको 'भाइरल' पक्षभन्दा आफ्नो बाली जोगिने कि नजोगिने भन्ने चिन्ताले बढी सताएको मेयर मावोहाङ बताउँछन्।