निएन्डरथल दन्त चिकित्सकले ५९ हजार वर्ष पहिले एक तिखो ढुंगाको प्रयोग गरेर संक्रमित दाँतको उपचार गरेको रूसमा गरिएको एक अध्ययनले दाबी गरेको छ।
रूसको दक्षिण-पश्चिमी साइबेरियाको चाग्यर्स्काया गुफाबाट उत्खनन गरिएको एउटा बंगाराको रसियन एकेडेमी अफ साइन्सेजका अनुसन्धानकर्ताहरूले अध्ययन गरेर सो दाबी गरेका हुन्।
आधुनिक दन्त चिकित्सकले रूट-क्यानल उपचार (आरसिटी) गरे जस्तो यो उपचार आधुनिक मानवले दन्त चिकित्सा सुरू गरेको पहिलो प्रमाणभन्दा ४५ हजार वर्ष पुरानो घटना भएको फाइनानसियल टाइम्सले जनाएको छ।
प्लस वान जर्नलमा प्रकाशित रूसी अनुसन्धानकर्ताहरू विश्लेषणका अनुसार उक्त दाँतको बीचमा एक गहिरो प्वाल थियो, जुन कुनै समय जीवित तन्तु रहने स्थानसम्म पुगेको थियो।
उक्त प्वाल प्राकृतिक क्षयका कारण मात्र नभएको देखिएको छ।
प्वालको आकार र भित्री कोतर्याइको प्राकृतिक स्थानीय 'ज्यास्पर' ढुंगाबाट बनेको सानो र तिखो औजारले घुमाएर बनाएको जस्तो देखिन्छ।
'यस प्रविधिमा केबल कोतर्ने वा कोट्याउने मात्र नभई ड्रिल गर्ने वा घुमाउने चालहरू समावेश थिए। यसका लागि सूक्ष्म ‘मोटर’ नियन्त्रण र योजना आवश्यक पर्दछ,' अनुसन्धान टोलीकी सदस्य लिडिया जोत्किना भनिन्।
अनुसन्धानकर्ताहरूका अनुसार संक्रमण भएको तन्तु हटाएपछि उक्त प्वाललाई मैन, खोटो वा अलकत्रा जस्ता ‘एन्टिसेप्टिक’ वा दुखाइ कम गर्ने पदार्थले भरिएको हुन सक्छ। यद्यपि, जीवाशेष भइसकेको दाँतमा यसको कुनै पत्ता लाग्न सक्ने अवशेष भने बाँकी थिएन।
दाँतको बीचमा सफा गर्नका लागि पातला छेस्का, घाँसका डाँठ वा प्वाँखको प्रयोग हजारौँ वर्ष पहिले पनि गरिएको मानिन्छ। तर सक्रिय दन्त चिकित्साको यसअघिको सबभन्दा पुरानो प्रमाण इटालीको १४ हजार वर्ष पुरानो स्थानमा भेटिएको थियो। त्यहाँ ‘फ्लिन्ट’ (चकमक) ढुङ्गाले कोतरेर दाँतको संक्रमण हटाइएको पाइएको थियो।
निएन्डरथल दन्त चिकित्सकले गरेको सो उपचार सफल भएको पनि अनुसन्धानकर्ताहरूले आकलन गरेका छन्।
उक्त खाली भाग (प्वाल) को किनारहरू पछि खाना चपाएकाले चिल्लो भएको संकेतहरू पनि देखिएको छ। यसको अर्थ बिरामी उक्त उपचारपछि जीवित मात्र रहेनन्, बरू लामो समयसम्म पर्याप्त खाना चपाए जसका कारण ड्रिल गरिएको ठाउँ खिइएर चिल्लो भयो भनेर द इकोनमिस्टले लेखेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)